शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

भाडाको कोठामा विद्यार्थी जीवन

आइतबार, २९ असार २०८२, १७ : ३६
आइतबार, २९ असार २०८२

म लुम्बिनी प्रदेशको अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका–४ (साबिकको पटौटी गाविस)मा जन्मेको हुँ । त्यही गाउँमै रहेको श्री धौराली माध्यमिक विद्यालयबाट २०७४ मा एसईई गरेपछि विज्ञान विषय अध्ययन गर्ने लक्ष्यसहित गाउँ छाड्नुपर्‍यो । त्यो बेला म झन्डै १५ वर्षको थिएँ ।

मेरो गाउँबाट सन्धिखर्क (अर्घाखाँची सदरमुकाम), तम्घास (गुल्मी), तानसेन (पाल्पा) र बुटवल (रुपन्देही) करिब २ घण्टाको यातायात दूरीमा छन् तर पढाइका हिसाबले पाल्पा र बुटवल बढी उपयुक्त लाग्थ्यो । कक्षा १० पछि मैले तानसेनमा अध्ययन गर्ने निर्णय गरेँ र बुबासँगै तानसेन गएर जनता माध्यमिक विद्यालयमा भर्ना भएँ । भर्ना हुने दिन संयोगले अर्घाखाँचीकै साथी प्रशान्त गौतम पनि आफ्नो बुबासँगै सोही विद्यालयमा देखिए । अन्ततः हामी दुईले सँगै कोठा लिएर बस्ने निधो गर्‍यौँ ।

हामी बस्ने कोठामा घरबेटीकै खाट थियो, पंखा चाहिन्नथ्यो र मासिक भाडा २२ सय रुपैयाँ थियो । त्यहाँ ग्यास भुइँमै राखेर खाना पकाइन्थ्यो । काम बाँडेर गर्ने चलन थियो— बिहान म पकाउँथेँ र प्रशान्तले भाँडा माझ्थे; साँझ भने प्रशान्त पकाउँथे र म भाँडा माझ्थेँ । हामी प्रायः दाल वा तरकारीमध्ये एकथोक मात्र पकाउँथ्यौँ । सुरुका केही दिन घरको याद खासै आउँदैनथ्यो, तर जब आफ्नै हातले पकाएको खाना बन्द कोठामा खानुपथ्र्यो, त्यो बेला गहिरो पीडा महसुस हुन्थ्यो । हरेक महिना घर जान्थ्यौँ र मासिक खर्च लिएर फर्किन्थ्यौँ । घरबाट तरकारी, घिउ, मिठाई, चना आदिका पोका गाडीमा नाम लेखेर पठाइदिनुहुन्थ्यो । ती सबै कुराले ठुलो महत्त्व राख्थे ।

सिजन अनुसार बन्दागोभीको तरकारी निकै खाइयो । पानी रोटी, भिजाएको चना पनि हाम्रो नियमित नास्ता थियो । मिठाइका डब्बाहरू दाल राख्न काम लाग्थे । इस्कुसको ठुलो करेलो त कतिपल्ट उब्जिन समेत थालेको देखिन्थ्यो । मैले खर्च व्यवस्थापनका लागि बजेट छुट्ट्याएर कपीमा शीर्षक समेत राख्थेँ । व्रतबन्धपछि टुप्पी पालेको थिएँ, तानसेनमा साथीहरूको जिस्काहटपछि  काटेँ । बोल्दा वाक्यमा लाग्ने संयोजकको जिस्काई खुबै खाइन्थ्यो ।

बिहान ५ बजे उठेर क्याम्पस जानु, पढ्नु, पकाउनु, खानु, नुहाउनु वा धुनु हाम्रो दिनचर्या बन्यो । घर जान मन त धेरै लाग्थ्यो । पहिलो वर्षको दसैँ बिदामा घर गएको म तिहारसम्म बसेर गाली खाएर तानसेन फर्किएको थिएँ । एक महिनापछि कोठा फर्किंदा ढुसी लागेको हुन्थ्यो, गन्हाएर बस्नै नसकिने । यस्तो वातावरणमा हामीले दुई वर्ष बितायौँ । बिस्तारै सबै चिजमा बानी पर्‍यो । अन्ततः हामीले १२ पास गर्‍यौँ । हामीले यो दुई वर्षमा सामान किन्ने, पकाउने, पस्कने, भाँडा माझ्नेदेखि घरायसी भित्री काममा राम्रै अनुभव लियौँ । कोठाभाडामा बस्नु भनेको सैद्धान्तिक शिक्षाका साथै व्यावहारिक शिक्षाका लागि राम्रै विश्वविद्यालय रहेछ ।

वास्तवमा व्यवस्थित नीति र जिम्मेवारी देश चलाउन मात्र होइन, एउटा कोठामा बस्न पनि अत्यावश्यक हुन्छ भन्ने उदाहरण हामी हौँ भन्ने घमण्ड गर्छौं । हामी आस्तिक छौँ, हामी बन्धुत्वमा बाँधिएका छौँ । हामी कार्यनिष्ठ छौँ । हामी उत्तरदायी छौँ ।

त्यसपछि मेरो रुम पार्टनरले तानसेन नबस्ने निर्णय गर्‍यो । त्यसैबेला गाउँमा जाँदा १० कक्षासम्म सँगै पढेका तीनजना साथीहरूसँग भेट भयो — अर्जुन भट्टराई, अशोक बेल्बासे र माधव बेल्बासे । उनीहरूले तानसेन छाडेर सँगै बुटवल जाने कुरा गर्न थाले । बुटवलमा काम गर्न पाइन्छ, काम गर्दै पढ्न सजिलो हुन्छ भनेर मलाई प्रेरित गरे । हामी चारैजना बुटवल जाने भयौँ । दुई–दुई जनाको जोडी बनाएर दुईवटा कोठामा बस्ने योजना पनि तय भयो । मैले घरमा यो निर्णय सुनाउँदा सुरुमा सहमति भएन, पछि सम्झाउन सफल भएँ । 

बुटवल आइपुगेर गोलपार्क क्षेत्रमा कोठा खोज्न गल्ली–गल्ली हिँड्यौँ, अनगिन्ती ढोका ढकढक्यायौँ । चिनेजानेका धेरै भए पनि त्यस बेला कसैलाई केही भनिएन ।

घरबेटीहरूले पहिला सोध्थे, ‘कसले बस्ने हो ? कति जना ?’ अथक् प्रयासपछि अन्ततः सरदर पाँच हजार रुपैयाँका दुईवटा कोठा पायौँ । अर्जुन र म एउटामा, अशोक र माधव अर्को कोठामा बस्न थाल्यौँ । हामी बुटवल बहुमुखी क्याम्पसमा भर्ना भयौँ । त्यसै साथ जागिरको खोजी पनि सुरु गर्‍यौँ । दिउँसो ३ बजे ५० रुपैयाँको भेज मःम वा चाउमिन खाएर भोक मेट्थ्यौँ । गोलपार्कदेखि कालिकानगरसम्मको दूरी त हामी पैदलै जान्थ्यौँ, बुटवलको त्यो गर्मीमा पनि डुल्न रमाइलै लाग्थ्यो ।

केही समयपछि अर्जुनले मोटरसाइकलको लाइसेन्स निकाल्यो र जागिर पनि पायो । एक दिन मैले पनि एक प्रिन्टिङ प्रेसमा काम पाएँ । तलब ८ हजार, बिहान ९ बजेदेखि साँझ ७ बजेसम्म खट्नुपर्ने । जब विश्वासका लागि ‘ओरिजिनल नागरिकता यहीँ छोड’ भनियो, मलाई पीडा भयो र दुई दिन काम गरेर छाडिदिएँ । पछि हामीले पनि बाइकको लाइसेन्स निकाल्यौँ । जागिर खोज्ने प्रयास भने निरन्तर चलिरहेको थियो ।

यति क्रममा माधवले खाना–बस्नेसहितको काम पायो र हाम्रो कोठा छाड्यो । एक दिन काम खोज्ने क्रममा अशोक र मैले ‘जबलिंक’मा दुई–दुई सय रुपैयाँ तिरेर फारम भर्‍यौँ । जब काम गर्ने ठाउँमा पुग्यौँ, त्यहाँ भनेजस्तो केही थिएन । फेरि ‘जबलिंक’मै फर्केर गयौँ, उनीहरूले भने, ‘अर्को काम हेर्नुहोस्, पैसा फिर्ता हुन्न । यो नियम हो ।’ हामी निराश भयौँ तर त्यति सजिलै छाड्ने वाला थिएनौँ । हामी करिब दुई घण्टासम्म अफिसमै अडिएर बस्यौँ, पैसा फिर्ता नपाएसम्म नजाने अडानमा रह्यौँ । अन्ततः उनीहरूले हामीलाई पैसा फिर्ता गरिदिए ।

त्यही क्रममा अर्को ‘जबलिंक’बाट अर्कै कामको अफर आयो । त्यसपल्ट अशोकले त्यो अफर स्वीकार गरेर काम सुरु गर्‍यो । त्यसपछि त हामी झनै आत्मविश्वासी भयौँ । मबाहेक सबैजना कुनै न कुनै जागिरमा लाग्न सफल भइसकेका थिए । मैले पनि त्यसपछि गोलपार्कको ज्योतिनगरबाट सुख्खानगरको अक्सफोर्ड पथसम्म जेठको उखरमाउलो गर्मीमा हिँडेरै जाने–आउने गरेर होम ट्युसन पढाउन सुरु गरेँ । मासिक पाँच हजार तलब पाउने, दिनको एक घण्टा पढाउने सर्तमा ट्युसनबाट होम ट्युसन सुरु भएको थियो ।

त्यसैसँगै मैले फ्याट्टफुट्ट होम ट्युसन पनि पढाउन थालेँ । अब हामीलाई घरबाट पैसा मगाउनुनपर्ने अवस्था बन्यो । बिस्तारै मेरो होम ट्युसनको संख्या बढ्न थाल्यो, साथीहरूका काममा पनि उन्नति आयो । त्यहीबिचमा ज्योतिनगरको पहिरोले हाम्रो बसोबासलाई प्रभावित बनायो । हामी डरायौँ र लक्ष्मीनगरतिर सरेर बस्ने निर्णय गर्‍यौँ ।

एक वर्ष बितिसक्दा हामीसँग केही व्यवस्थापनको अनुभव पनि भइसकेको थियो । त्यसैले अन्ततः अर्जुन, अशोक र म— तिनैजना सँगै बस्ने निर्णयमा पुग्यौँ । त्यस अनुसार बुटवलमा हाम्रो तेस्रो बसाइँसराइ लक्ष्मीनगरमा गर्‍यौँ र नयाँ कोठामा नयाँ ऊर्जा लिएर बस्न थाल्यौँ ।

‘हामी सँगै बस्छौँ तर कहिल्यै झगडा गर्दैनौँ । किनभने हामी प्रणालीमा बस्छौँ,’ यही हो हाम्रो कोठाको मूलमन्त्र । अहिले हामी (म, अर्जुन र अशोक) सँगै बस्न थालेको तीन वर्षभन्दा बढी भयो । अहिलेसम्म हामीबिच झगडा, विवाद वा मनमुटाव भएको छैन । यो कुनै संयोग होइन— यो हो, व्यवस्थित जीवनशैलीको परिणाम ।

हामी आफैँ पकाउँछौँ, आफै भाँडा माझ्छौँ, सरसफाइ पनि आफैँ गर्छौं । यी कुरा सुन्दा सामान्य लाग्न सक्छन् तर कोठा साझा गर्ने धेरै साथीबिच यिनै कुरामा मनमुटाव हुने गरेको सुनिन्छ । एउटै उमेर, फरक सोच । कामको चक्रमा जब ‘उसले गर्छ कि म गर्छु’ भन्ने सोच आउँछ, तब आपसी सम्बन्धमा चिसोपन आउँछ । हामीले समयमै नियम बनाएर यो सम्भावनालाई जडबाट काट्यौँ ।

अर्जुनले भाँडा माझ्ने जिम्मा लिए । मैले बिहान खाना पकाउने निर्णय गरेँ । अशोकले साँझ पकाउने कुरा स्विकारे । त्यसपछि हाम्रो दैनिक दिनचर्या यसरी सुरु भयो : बिहान ९ः३० मा बोर्डिङ स्कुलका विद्यार्थीलाई पकाउने जस्तो गरी म पकाउँछु । क्याम्पस जानुपर्ने दिनमा या ८ बजे पकाएर जान्छु, या ९ बजे आएर पकाउँछु । हाम्रो जिम्मेवारीमा स्पष्टता यति गहिरो छ कि हामीले कहिल्यै ‘मलाई आज भोक छैन’, ‘आज अल्छी लाग्यो’, ‘तँ पकाइ दे न’, ‘आज तेरो पालो हो कि मेरो ?’ भन्ने गरेका छैनौँ । जो जसको पालो हुन्छ, ऊ समयमै काम गर्छ । यो हाम्रो ‘कोठा ऐन’ भन्दा कम छैन ।

पानी भर्ने, फोहोर फाल्ने, कोठा सफा गर्ने काम पालैपालो हुन्छ । तीनजना, तीनवटा बेड— सबैको बिस्तारा, सबैले आ–आफैँ सफा गर्छौं । मूलगेट साँझमा कसले लगाउने भन्ने कुरा पनि निर्धारित छ— त्यो अर्जुनको काम हो । अरु सरसामान कोही ल्याउँछ, त्यसको हिसाब खातामा लेखिन्छ । जब पाना भरिन्छ, हामी मिलेर हिसाब–किताब गर्छौं । बाहिर खाजा खाँदा सुरुमा जसले पैसा तिरे पनि कोठामा आएर उसैको नाममा लेखिन्छ र पछि मिलाइन्छ ।

हाम्रो नियम, हाम्रो नीतिजस्तै छ । लिखितमा छैन तर व्यवहारमा संविधानसरह छ । कोही पाहुना आउँछन् भने हामी खुसीसाथ सत्कार गर्छौं तर नियम फेरिँदैन— पकाउनेले पकाउनु पर्छ, माझ्नेले माझ्नैपर्छ । अर्जुनको अर्को जिम्मेवारी छ— भात पस्कने । पकाउने बेला ‘कति खाने ?’ भनेर सोधिन्छ, त्यस अनुसार पकाइन्छ । हामीले सँगै खाना खान्छौँ, न भात बाँकी रहन्छ, न त कम पर्छ । आजसम्म हामीले बासी भात खाएका छैनौँ ।  चामलको नाप— एक गिलास प्रतिव्यक्ति । बस्, यही हाम्रो निश्चितता हो । यो व्यवस्थापनको जादु हो । अशोक र म भाँडा माझ्ने साबुन छ कि छैन भन्नेमा अनभिज्ञ छौँ । त्यस्तै, अर्जुनलाई भान्साको केही जानकारी हुन्न तर सबै काम स्वाभाविक रूपमा हुन्छ । बिरामी नै भएमा भने हामी साथी हौँ, मानवीयता छ ।

हामीमध्ये कसैलाई जुठो परेको छैनौँ भने हाम्रो कोठामा हरेक दिन दुई–दुईवटा गरी ६ वटा अगरबत्ती बल्छन् । हामी चिया र बिहानको नास्ता कोठामा खाँदैनौँ । किनभने हामी तिनै जनालाई सानैबाट बिहानमा नास्ता खाने बानी परेन, सिधै ९–१० बजे खाना खाने । दिउँसो हामी कोठामै हुँदैनौँ । प्रायः शनिबार र बुधबार बजार जान्छौँ ।

तीनजना तर एउटा परिवार । आज हामी बुटवलमा समयसँगै टिकेका छौँ । हामी एक अर्कामा भरोसा गर्छौं, खुलेर विश्वास गर्छौं । कसैले किताब खोलेर पढ्न थाल्यो भने बाँकी दुईजना बोलचाल वा मोबाइल चलाएर डिस्टर्ब गर्दैनौँ । कोही सुतेको छ भने उसलाई नझर्काउने संस्कृति छ । कोही साथीलाई पैसा आवश्यक पर्‍यो भने सापटी दिने–लिने गर्छौं । यसरी हामी तीनजना सँगै बसेर स्नातक तहको अन्तिम परीक्षा पनि दियौँ ।
वास्तवमा व्यवस्थित नीति र जिम्मेवारी देश चलाउन मात्र होइन, एउटा कोठामा बस्न पनि अत्यावश्यक हुन्छ भन्ने उदाहरण हामी हौँ भन्ने घमण्ड गर्छौं । हामी आस्तिक छौँ, हामी बन्धुत्वमा बाँधिएका छौँ । हामी कार्यनिष्ठ छौँ । हामी उत्तरदायी छौँ । हामी कोठाभित्र शासन गर्छौं— नियम, अनुशासन र प्रेमका साथ । म आज जुन अवस्थामा सुख लिएर परिवारजस्तै गरी बस्न पाएको छु, हजार आफन्तभन्दा पनि महत्त्वपूर्ण दुई बफादार साथी पाएकामा म गौरव गर्छु । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नारायण घिमिरे ‘भावुक’
नारायण घिमिरे ‘भावुक’
लेखकबाट थप