बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

प्रधानमन्त्री भारत भ्रमणमा जाने तयारी कहाँ पुग्यो ?

आइतबार, २९ असार २०८२, २० : ००
आइतबार, २९ असार २०८२

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणपछि भारत भ्रमणको मिति अझै तय हुन सकेको छैन।
  • भारत भ्रमणबारे परराष्ट्र मन्त्रालयका अधिकारी र प्रधानमन्त्री मोदीको भेटवार्ता भए पनि मिति तय हुन सकेन।
  • ओलीको भारत भ्रमण ढिला हुनुमा उनको अभिव्यक्ति र भारतसँगको सम्बन्धमा आएको चिसोपनालाई कारण मानिएको छ।

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली स्पेन भ्रमणबाट फर्किएपछि भारत भ्रमणको मिति तय हुने भनिएको थियो । 

तर फर्किएको एक हप्ताभन्दा बढी भइसक्दासमेत मिति तय हुन सकेको छैन । भारत भ्रमणको विषयलाई लिएर परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारी दिल्ली गएर फर्किसकेका छन् ।

ती अधिकारी प्रधानमन्त्री ओली स्पेन उड्नुअघि नै दिल्ली पुगेका थिए, जतिवेला प्रधानमन्त्री नरेन्द्र मोदी पश्चिम अफ्रिकाको घाना जाने तयारीमा थिए । तर त्यसवेला प्रधानमन्त्री ओलीको भारत भ्रमणको मिति तय हुन सकेन । भारतीय प्रधानम्नत्री मोदी घानालगायत विभिन्न देशको भ्रमण सकेर फर्किएपछि मात्र ओलीको भ्रमण तय हुने भनिएको थियो । 

यद्यपि मोदी जुलाई ९ (असार २५ गते) मै स्वदेश फर्किएका थिए । तर पनि ओलीको भारत भ्रमणको विषयमा कुनै छलफल बढेको पाइएको छैन । 

‘प्रधानमन्त्री ओलीको भारत भ्रमणमा ढिलाइ भइरहेकाे छ ।  मोदी विदेश भ्रमणबाट आइसकेका छन्, अब हेरौँ कुरा हुन्छ कि ?’ परराष्ट्रका ती अधिकारीले आशंका मिश्रित अभिव्यक्ति दिए । 

उनका अनुसार भ्रमणको तयारीमा प्रधानमन्त्री तथा परराष्ट्र मन्त्रालय लागिरहेको छ । दुवैतिर (नेपाल, भारत) अनुकूल मिले साउनको दोस्रो वा तेस्रो हप्तासम्म प्रधानमन्त्री ओली भ्रमणमा निस्कने पनि उनने बताए । र यसका लागि दुवै देशका अधिकारी बसेर भ्रमणको तालिका चाँडै टुङ्गो लगाइने उनले दाबी गरे । 

भ्रमणका लागि भएका प्रयास

प्रधानमन्त्री अ‍ोलीलाई भारत भ्रमण गराउन सुरुवातदेखि नै परराष्ट्र मन्त्री डा.आरजु राणा देउवाले निकै पहल गरेकी थिइन् । जुन उनका लागि पनि प्रतिष्ठाको विषय हो । त्यसका लागि उनले भारतको पटक–पटक भ्रमण पनि गरिन् । भ्रमणकै वातावरण बनाउन मोदी र ओलीबिच अमेरिका र थाइल्यान्डमा गरी दुई पटक भेटवार्ता पनि भइसकेको छ । 

परराष्ट्र मन्त्री राणा मात्र होइन, एमाले नेताहरू दिल्ली नै पुगेर भ्रमणको वातावरण बनाउन जोडतोडले लागेका थिए । र पनि ओलीको भारत भ्रमण हुन सकेको छैन । 

यद्यपि वैशाख ९ गते भारतको पहलगाममा आतङ्कवादी आक्रमणपछि भने ओलीको भारत भ्रमण हुन सक्ने धेरैले विश्वास लिएका थिए । नेपाल र भारतबिच चिसिएको भनिएको सम्बन्धमा पनि सुधार आएको धेरैले अर्थ्याएका थिए । र दुवै देशका अधिकारी लगातार ओलीको भारत भ्रमणको  तयारीमा जुटेका थिए । 

ओलीको ‘बोलीले समस्या’

यसैबिच ओलीको भारत भ्रमण नहुनुमा उनकै बोलीले समस्या पारिरहेको परराष्ट्र मामिलाका जानकारहरूको बुझाइ छ । प्रधानमन्त्रीमा नियुक्त भएपछि ओलीले ईपीजी प्रतिवेदन, सीमा विवादलगायत विषय समाधान गर्न भारतलाई लगातार दबाब दिएका थिए । उनले पछिल्लो समय पनि भारतलक्षित विभिन्न अभिव्यक्ति दिइरहेका छन् । जसप्रति भारत चिढिएको हुन सक्ने जानकारहरू बताउने गर्छन् । 

गत पुसको अन्तिम साता सम्पन्न पार्टीको केन्द्रीय समितिको बैठकमा एमाले अध्यक्षसमेत रहेका ओलीले प्रस्तुत गरेको कार्यपत्रमा नेपालको भू–राजनीति अवस्थाबारे भनिएको छ– ‘विगत केही समययता खलबलिएको, असन्तुलित रहेको र कमजोर अवस्थामा पुर्‍याइएको बाह्य सम्बन्धलाई सरकारले सन्तुलनमा ल्याउन र राष्ट्रिय हितको रक्षा एवं स्वाभिमान अभिवृद्धिका लागि सरकारले केही महत्त्वपूर्ण काम आरम्भ गरेको छ ।’ नेपालको बाह्य सम्बन्ध राम्रो नरहेको टिप्पणीलाई पनि प्रधानमन्त्री ओलीको यो कार्यपत्रले पुष्टि गर्छ । 

तर परराष्ट्रविज्ञ एवं पूर्वराजदुत टंक कार्की भने नेपाल–भारतबिच जस्तो सम्बन्ध छ, त्यो हिसाबले भ्रमणमा यतिको ढिलाइलाई विवादमा ल्याउनु उचित नहुने तर्क गर्छन् । 'विभिन्न रिपोर्ट तथा समाचारहरू हेर्दा भारत कुनै कुरामा असन्तुष्ट देखिन्छ, त्यही भएर भ्रमणमा ढिलाइ भएको होजस्तो लाग्छ,' उनी भन्छन्, 'यदि त्यस्तो हो भने त्यसलाई समाधान गरेर अगाडि बढ्नुपर्छ ।' दुई देशबिच जस्तो सम्बन्ध छ, त्यो आधारमा दुईपक्षीय भ्रमण नियमित भइरहनुपर्ने उनले बताए । 

विदेश मामिलाका जानकार समेत रहेका एमालेका नेता विष्णु रिजाल भने प्रधानमन्त्री ओलीको भारत भ्रमण तत्कालै होलाजस्तो आफूलाई नलागको बताउँछन् । ‘प्रधानमन्त्रीको भारत भ्रमण हुने कि नहुने भन्ने कुरा भारतमा भर पर्छ, बल भारतको कोटमा छ । नेपालसँग जोडिएका केही कुराहरूमा भारत स्पष्ट हुनुपर्छ,' उनी भन्छन्, 'केही सम्झौताहरू गर्नुपर्ने हुन्छ, त्यसमा स्पष्ट हुनुपर्छ । तर भारतको पक्षबाट हालसम्म केही नयाँ संकेत नआएका कारण नेपालले चाहेर मात्र भ्रमण हुँदैन ।' भ्रमणका लागि मात्र हुने भ्रमणको औचित्य नहुने पनि उनले बताए ।  

भदौ १३ गते बसेको पार्टी सचिवालयको बैठकमा पनि ओलीले भनेका थिए, ‘संसारभर नै अमेरिका र भारतको बोलवाला छ । नेपालमा पनि चलखेल गर्ने र अराजकता मच्चाउने प्रयास भइरहेको छ, उनीहरूको तरिका पहिला नेतृत्वलाई खुइल्याउने अनि पार्टी र आन्दोलनमाथि आक्रमण नै गर्ने हो । त्यसअन्तर्गत नेपालमा वितण्डा मच्चाउने पक्षमा छन् ।’

यस्तै यस्तै कुराले नेपाल–भारतबिच दूरी बढेको जानकारहरूको बुझाइ छ । तर पछिल्लो समय सम्बन्धमा केही सुधार आएको भनिएको छ । र दुवै देशका अधिकारी बसेर भ्रमणको चाँजोपाँजो मिलाइरहेका बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप