मोदीको ग्लोबल साउथ रणनीति र छिमेकीको साथ
सारांश
- भारत विश्व कूटनीतिमा प्रमुख पात्र बन्न खोज्दैछ, 'ग्लोबल साउथ' को आवाज बन्ने लक्ष्य लिएको छ।
- भारतले 'विश्वमित्र' बन्ने रणनीति लिएको छ, तर छिमेकी सम्बन्धमा सुधारको खाँचो औंल्याइएको छ।
- छिमेकी सम्बन्ध सुधारका लागि नेपालसँगको सम्बन्धलाई प्राथमिकता दिन र अनौपचारिक बैठकहरू आयोजना गर्न सुझाव दिइएको छ।
आजको विश्व कूटनीतिको रङ्गमञ्चमा भारत आफूलाई एक प्रमुख पात्रको रूपमा स्थापित गर्न तीव्र गतिले अघि बढिरहेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा नयाँ दिल्लीले विकासोन्मुख विश्व, अर्थात् ‘ग्लोबल साउथ’को स्वाभाविक आवाज बन्ने, परम्परागत शक्ति संरचनामा सुधारको माग गर्ने र नयाँ विश्व व्यवस्था निर्माणमा निर्णायक भूमिका खेल्ने स्पष्ट महत्त्वाकाङ्क्षा प्रदर्शन गरेको छ ।
अफ्रिका, ल्याटिन अमेरिका र क्यारेबियन मुलुकहरूसँगको बढ्दो सम्बन्ध, ‘भ्वाइस अफ ग्लोबल साउथ समिट’ को आयोजना, जी ट्वान्टी को मञ्चबाट अफ्रिकी संघलाई स्थायी सदस्यता दिलाउने ऐतिहासिक सफलता, र ‘भ्याक्सिन मैत्री’ जस्ता कार्यक्रमहरू यसका ज्वलन्त प्रमाण हुन् । यी प्रयासहरूले भारतलाई विश्वको एक जिम्मेवार र उदार शक्तिको रूपमा प्रस्तुत गर्न खोजेका छन् ।
पछिल्लो १५ दिनलाई हेर्ने हो भने प्रधानमन्त्री नरेन्द्र मोदीले जुलाई २ देखि ९ सम्म घाना, त्रिनिदाद एण्ड टोबागो, अर्जेन्टिना, ब्राजिल र नामिबियाको सफल भ्रमण सम्पन्न गर्नुभयो । यो भ्रमण ‘ग्लोबल साउथ’ सँगको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउनमा केन्द्रित थियो । उनले ब्राजिलमा १७ औँ ब्रिक्स शिखर सम्मेलनमा भाग लिए र विभिन्न देशहरूसँग रक्षा, ऊर्जा, व्यापार र डायस्पोरा सम्बन्धमा महत्त्वपूर्ण सहमति गरे । भ्रमणको विशेष उपलब्धि स्वरूप उहाँलाई घाना, त्रिनिदाद एण्ड टोबागो, ब्राजिल र नामिबियाले आ–आफ्नो सर्वोच्च नागरिक सम्मानबाट विभूषित गरे र जसले भारतको बढ्दो वैश्विक छविलाई प्रकाशमा ल्याएको छ ।
- मोदीको ग्लोबल साउथ रणनीति: ‘विश्वगुरु’ बाट ‘विश्वमित्र’ सम्मको यात्रा
प्रधानमन्त्री मोदीको नेतृत्वमा भारतीय विदेश नीतिले एक विशिष्ट वैचारिक मोड लिएको छ । परम्परागत पश्चिमा केन्द्रित विश्व व्यवस्थाबाट अलग्गिएर विकासोन्मुख राष्ट्रहरूको एक स्वतन्त्र, स्वाभिमानी र एकीकृत आवाज बन्ने महत्त्वाकाङ्क्षा हरेक कूटनीतिक पहलमा झल्किन्छ । सुरुवाती दिनहरूको ’विश्वगुरु’ को अवधारणा, जसले भारतलाई एक आध्यात्मिक र बौद्धिक मार्गदर्शकको रूपमा प्रस्तुत गर्थ्यो, अहिले परिमार्जित भएर ‘विश्वमित्र’ को अवधारणामा रूपान्तरित भएको छ । यसले भारत अब उपदेश दिने होइन, बरु साझा समस्याहरूको समाधानका लागि हातेमालो गर्ने एक सहयात्री र मित्र बन्न चाहेको सङ्केत गर्छ ।
‘जी ट्वान्टी’ को अध्यक्षता, ‘भ्वाइस अफ ग्लोबल साउथ समिट’ र अफ्रिकी सङ्घको सदस्यता जस्ता कार्यहरू दक्षिण विश्वको निर्विकल्प प्रतिनिधि बन्ने भारतको गहिरो रणनीतिक प्रयासका उपज हुन् । यसका साथै, आफ्नो सफल डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चरलाई अन्य विकासोन्मुख देशहरूसँग निःस्वार्थ बाँड्ने प्रस्तावले भारतलाई समस्याको समाधान दिने एक प्राविधिक मित्र राष्ट्रको रूपमा पनि स्थापित गर्न खोजेको छ । यस्ता क्रियाकलापले भारतको छवि विश्वभर चम्काइरहेको छ ।
यो चम्किलो कूटनीतिक उडानसँगै एउटा असहज र आधारभूत प्रश्न पनि उब्जन्छ । आफ्नै छिमेकीहरूको मन जित्न नसकेको र उनीहरूको विश्वासको जग बलियो बनाउन नसकेको भारतले समग्र ‘ग्लोबल साउथ’ को नेतृत्व कसरी गर्न सक्छ ? भारतको विदेश नीतिको घोषित मन्त्र ‘नेबरहुड फर्स्ट’ भए पनि व्यवहारमा उसको छिमेक सम्बन्ध प्रायः तनावग्रस्त र अविश्वासले भरिएको देखिन्छ ।
भारतले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो आर्थिक, सैन्य र प्राविधिक शक्ति प्रदर्शन गर्न सक्ला तर नेतृत्व शक्तिले होइन, विश्वासले आर्जन गरिन्छ । त्यो विश्वासको जग आफ्नै छिमेकीहरूको भरोसा जितेर मात्र निर्माण हुनसक्छ । यसका लागि भारतले छिमेक सम्बन्धमा चार आधारभूत मूल्यहरूलाई व्यवहारमा उतार्नुपर्छ: सम्मान, समता, संवाद र सहकार्य ।
सम्मान भन्नाले छिमेकी राष्ट्रको सार्वभौमिकता, उसको निर्णय लिने स्वतन्त्रता र राष्ट्रिय संवेदनशीलताको नि:शर्त आदर गर्नु हो । समता को अर्थ हो, हरेक देशलाई उसको आकार वा शक्ति जस्तोसुकै भए पनि बराबरीको हैसियतमा व्यवहार गर्नु । संवाद भनेको संवादहीनताको अन्त्य गर्दै नियमित, इमानदार र सबै तहमा खुला छलफलको संस्कृति निर्माण गर्नु हो । सम्बन्ध सुधारको पहिलो र अन्तिम माध्यम नै यही हो । र सहकार्य को अर्थ हो, साझा हितका परियोजनाहरूमा पारदर्शी ढङ्गले सह–स्वामित्वको भावनाका साथ काम गर्नु ।
यी मूल्यहरूको अभावमा भारतको व्यवहार र वाचाबिच केही खाडल स्पष्ट देखिन्छ । यही खाडल र भारतको ढिलो कार्यान्वयन शैली, राजनीतिक अस्थिरता र अनिश्चित सहयोग नीतिलेले चीनलाई छिमेकीहरूमाझ विकल्पको रूपमा स्थापित हुन मद्दत पुर्याउँछ ।
- ग्लोबल साउथको नेतृत्वमा छिमेकको भूमिका किन निर्णायक छ ?
भारतले ग्लोबल साउथको नेतृत्व गर्ने महत्त्वाकाङ्क्षा राखेको विषय अब नयाँ रहेन। कतिपय कोणबाट हेर्दा यो स्वाभाविक पनि हो ।
नेपालको भूमिबाट हेर्दा त ठुलो अवसर पनि हो । भारतले ग्लोबल साउथको नेतृत्व गर्ने विषयमा नेपालले पनि धेरै फाइदा देख्छ । त्यो भनेको कुलो मुनिको खेतमा पानी लगाउनु नपर्ने जस्तै हो ।
तर भारतले छिमेकको महत्त्वलाई तीन वटा निर्णायक कोणबाट बुझ्नुपर्छ । पहिलो हो विश्वसनीयता । अन्तर्राष्ट्रिय सम्बन्धको आधारशिला नै भरोसा हो।
दोस्रो, स्रोतको व्यवस्थापन । छिमेकीहरूसँगको अस्थिर सम्बन्धले भारतको अधिकांश समय, ऊर्जा र कूटनीतिक क्षमतालाई क्षेत्रीय तनाव समाधान गर्नमै खर्च गराउँछ, जसले उसलाई विश्व मञ्चमा पूर्ण क्षमताका साथ प्रस्तुत हुनबाट रोक्छ रोकी रहेको पनि देखिन्छ ।
तेस्रो र सबैभन्दा महत्त्वपूर्ण पक्ष हो, चीनको प्रभाव । दक्षिण एसिया चीनका लागि रणनीतिक प्रभाव विस्तार गर्ने प्रमुख क्षेत्र बनेको छ। चीनले यहाँ सडक, ऊर्जा, बन्दरगाह र रेलमार्गमा गरेको विशाल लगानीले उसलाई एक शक्तिशाली प्रतिस्पर्धीको रूपमा उभ्याएको छ ।
- छिमेक सम्बन्ध सुधारको पहिलो पाइला ‘नेपाल’
छिमेक सम्बन्ध सुधारको पहिलो र सबैभन्दा प्रभावकारी पहल कहाँबाट सुरु गर्ने भन्ने प्रश्नमा, भारतले नेपालका प्रधानमन्त्रीलाई औपचारिक भ्रमणको निम्तो दिनु एक अत्यन्तै सुझबुझपूर्ण र रणनीतिक कदम हुनसक्छ । यो केवल एक कूटनीतिक औपचारिकता मात्र होइन, बरु यसले सम्मान र महत्वको गहिरो प्रतिकात्मक सन्देश प्रवाह गर्छ ।
प्रायः ’ठुलो दाइ’ को व्यवहारको आरोप खेपिरहेको भारतले आफैँ अग्रसर भएर नेपाल जस्तो ऐतिहासिक र सांस्कृतिक रूपमा निकटतम छिमेकीलाई उच्चस्तरीय भ्रमणको निम्तो दिँदा, यसले विगतका तिक्तताहरूलाई पन्छाएर सम्बन्धमा नयाँ अध्याय सुरु गर्ने भारतको तत्परतालाई दर्साउँछ। यस्तो द्विपक्षीय भ्रमणले दुई देशबिचका विशिष्ट र जटिल मुद्दाहरू, जस्तै सीमा विवाद, व्यापार सन्धि र ऊर्जा सहकार्यमा केन्द्रित र परिणाममुखी छलफल गर्ने वातावरण बनाउँछ । यो कदमले भारतको ‘छिमेक पहिलो’ नीति नारामा मात्र सीमित नभई व्यवहारमा पनि लागू हुन्छ भन्ने बलियो प्रमाण प्रस्तुत गर्छ, जसले अन्य छिमेकीहरूमा पनि सकारात्मक सन्देश प्रवाह गर्दछ ।
यसको अर्को पक्ष नेपालमा बढ्दो चिनियाँ प्रभावलाई (चिनियाँ प्रभाव छ भन्ने गरिन्छ) लिएर चिन्तित भारतका लागि यो एक प्रभावकारी कूटनीतिक कदम हो । नेपाललाई विश्वासमा लिएर सहकार्य बढाउनु भनेको चीनलाई यो सन्देश दिनु हो कि भारत आफ्नो परम्परागत प्रभाव क्षेत्रलाई बेवास्ता गर्दैन र एक भरपर्दो विकल्प दिन सक्षम छ ।
नेपालसँगको सफल द्विपक्षीय संवादपछि, छिमेक सम्बन्धलाई थप सुदृढ बनाउन अर्को रचनात्मक कदम चाल्न सकिन्छ । भारतले दक्षिण एशियाका सबै देशका नेताहरूलाई एउटा अनौपचारिक बैठक, जस्तै ’डिनर मिटिङ’ का लागि आमन्त्रण गर्नसक्छ ।
सार्क जस्ता औपचारिक मञ्चहरू प्रक्रियागत जटिलता र राजनीतिक अडानका कारण निष्क्रियप्रायः रहँदा, यस्तो अनौपचारिक जमघटले नेताहरूलाई व्यक्तिगत सम्बन्ध विकास गर्ने र कुनै एजेण्डाको दबाबबिना खुला हृदयले कुराकानी गर्ने दुर्लभ अवसर प्रदान गर्छ। व्यक्तिगत विश्वासले नै जटिल राजनीतिक समस्याहरू समाधान गर्ने ढोका खोल्न सक्छ। यस्तो बैठकले क्ब्ब्च्ऋ को गतिरोधलाई बाइपास गर्दै क्षेत्रीय सहकार्यको भावनालाई जीवित राख्न मद्दत गर्छ र ‘दक्षिण एशियाली परिवार’ को साझा दृष्टिकोण निर्माण गर्न आधार तयार पार्छ। यद्यपि यसमा भारत–पाकिस्तान तनाव जस्ता चुनौतीहरू छन्, तर एक इमानदार प्रयासले क्षेत्रीय विश्वासको वातावरण पुनर्निर्माण गर्नसक्छ ।
यी दुई कदमहरूले भारतको नेतृत्व क्षमतालाई नयाँ ढङ्गले परिभाषित गर्न सक्छन् । नेतृत्व भनेको ठूला घोषणाहरू गर्नु मात्र होइन, बरु धैर्य, सम्मान र इमानदारीका साथ स–साना तर अर्थपूर्ण पहलहरू गर्नु पनि हो ।
नेपालसँगको द्विपक्षीय भ्रमणबाट सुरु गरेर क्षेत्रीय अनौपचारिक संवादसम्मको यो यात्राले भारतलाई पहिले एक असल ‘छिमेकी मित्र’ को रूपमा स्थापित गर्नेछ । र यही विश्वासको जगमा उभिएर मात्र उसले आफूलाई ‘विश्वमित्र’ को रूपमा प्रस्तुत गर्ने आफ्नो वैश्विक दाबीलाई सार्थक र विश्वसनीय बनाउन सक्छ ।
- नेतृत्वको बाटो कहाँबाट सुरु हुन्छ ?
भारतको वैश्विक नेतृत्वको आकांक्षा जायज, समावेशी र सामयिक छ । विश्वका विकासोन्मुख राष्ट्रहरू भारतमा एक सम्भावित साझेदार देख्छन् । तर साझेदारीको जग घोषणाले होइन, व्यवहारले निर्माण हुन्छ ।
भारतले आफूलाई ‘विश्वमित्र’ को रूपमा चिनाउनुअघि, साँचो अर्थमा एक ‘छिमेकी मित्र’ बन्नु अपरिहार्य छ । विश्वास वाचाले होइन, व्यवहारले जितिन्छ र त्यो व्यवहारको शुरुवात सबैभन्दा नजिकका मुलुकहरूसँग हुन्छ ।
यदि भारतले यो सरल तर गहिरो सत्यलाई आफ्नो कूटनीतिक दर्शनको केन्द्रमा राख्न सक्यो भने, उसले ग्लोबल साउथको नेतृत्व मात्र होइन, विश्वमा एक शान्तिपूर्ण, सम्मानित र दिगो शक्तिको रूपमा आफ्नो स्थान सुनिश्चित गर्नसक्छ ।
न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फोहोर सम्झिएर नफाल्नुहोस् तरकारी तथा फलफूलका बोक्रा र चियापत्ती
-
२० मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने
-
त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित
-
मुख्यमन्त्री विजयसँग प्रेम सम्बन्धको भाइरल हल्लाबिच तृषाले तोडिन् मौनता
-
तुलसी अधिकारीको थुनछेक बहस सुरु
-
कोरम नपुगेपछि सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण