बालुवाटारमा उपेन्द्र र राजकिशोरको मुस्कान रहस्यमय
सारांश
- सत्ता सहयात्री दलको बैठकमा उपेन्द्र यादवको पार्टी सहभागी नभएको लामो समयपछि बालुवाटारमा छलफल भयो।
- छलफलमा जसपालाई समर्थन फिर्ता नगर्न सुझाव दिइएको र सरकारमा सहभागी गराउन कांग्रेस-एमालेले प्रस्ताव गरेको बुझियो।
- उपेन्द्र यादवले उपप्रधानमन्त्री पाए सरकारमा सहभागी हुनसक्ने संकेत गरेको स्रोतले जनाएको छ।
काठमाडौँ । सत्ता सहयात्री दलको बैठकमा उपेन्द्र यादव र उनको पार्टीका नेताहरू सहभागी नभएको लामै समय भएको थियो । अझ पछिल्लो समय त यादव नेतृत्वको पार्टीले सरकारलाई दिएको समर्थन नै फिर्ता गर्ने पार्टी बैठकबाटै निर्णय गरायो । यही बिचमा सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्ता साझेदार नेकपा (एमाले), नेपाली काँग्रेस र जनता समाजवादी पार्टी नेपालका शीर्ष नेताहरूबिच बालुवाटारमा छलफल भयो ।
छलफलमा प्रधानमन्त्री एवं एमालेका अध्यक्ष ओली, नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, एमालेका उपाध्यक्ष तथा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल, काँग्रेसका नेता एवं गृहमन्त्री रमेश लेखक, एमालेका उपमहासचिव एवं प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल र जसपाका नेता राजकिशोर यादव सहभागी सहभागी छन् । बैठकमा के छलफल भयो भन्ने ठोस जानकारी आइसकेको छैन । तर, यो बैठकमा जसपालाई कांग्रेस एमालेले समर्थन फिर्ता नगर्न सुझाव दिएको सहजै बुझ्न सकिन्छ ।
जसपाले समर्थन फिर्ता गर्दा सरकार अल्पमतमा नपर्ने भए पनि पुन विश्वासको मत लिनुपर्ने लगायतका झन्झट बेहोर्नुको साटो सरकारमा सहभागी गराउनु कांग्रेस एमालेका लागि फाइदा हुने विश्लेषण भइरहेको छ । सोही अनुसार तीन दलको बैठकमा सहभागी भएका जसपा नेपालका दुई नेता उपेन्द्र र राजकिशोरको मुहारमा देखिएको मुस्कानबाटै पनि उनीहरुका लागि बालुवाटारमा खुसीको प्रस्तावमा छलफल भएको हुनसक्ने अनुमान लगाउन सकिन्छ । श्रोतका अनुसार बालुवाटार बैठकमा सत्तारुढ दुई दलका नेताहरूले जसपालाई सरकारमा सहभागी हुनसमेत प्रस्ताव गरेको बुझिएको छ । काँग्रेसले मधेस प्रदेश सरकारको नेतृत्व गर्ने र जसपालाई केन्द्र र मधेस प्रदेश सरकारमा सहभागी गराउने ढङ्गले छलफल भएको बताइएको छ ।
‘मधेस सरकारको नेतृत्व काँग्रेसले खोजेको छ, जनमतले निहुँ’, सत्तारुढ दलका एक नेताले भने, ‘यही बेला जसपा पनि सरकारमा जान समर्थन फिर्ताको नाटक गरिरहेको छ । उसको यो नाटक सरकारमै जानलाई हो । ’
स्रोतका अनुसार बैठकमा उपेन्द्रले उपप्रधानमन्त्री पाए सरकारमा सहभागी हुनसक्ने सङ्केत गरेको बुझिएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण