बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
अन्तर्वार्ता

बालकृष्ण खाणलाई प्रश्न– तपाईं रुपन्देहीबाट उपनिर्वाचन लड्ने हो ?

बुधबार, ३२ असार २०८२, १३ : ०७
बुधबार, ३२ असार २०८२

सारांश

  • नेपाली कांग्रेसका नेता बालकृष्ण खाण हाल पार्टी राजनीति र समसामयिक विषयमा खुलेर बोल्न चाहेका छैनन्।
  • पार्टीको महाधिवेशनबारे खाणले विधानअनुसार समयमै हुने बताएका छन्, र कोइराला निवासको भ्रमणलाई अर्थपूर्ण रूपमा हेर्न नहुने बताए।
  • खाणले वर्तमान सत्ता गठबन्धनलाई २०८४ सालको निर्वाचनसम्म बचाएर लैजानुपर्नेमा जोड दिए।

विराटनगर । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण पछिल्लो समय पार्टी राजनीति र समसामयिक विषयमा खुलेर बोल्न चाहँदैनन् । किनकि उनीविरुद्ध नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर बेचेको विषयमा अदालतमा मुद्दा चलिरहेको छ ।

विशेषगरी पार्टी संस्थापन पक्षसँग खाणको दुरी बढेको चर्चा चलिरहेकै वेला खाण विराटनगरस्थित कोइराला निवास पुगेका छन् । कोइराला निवासको अवलोकन भ्रमण, पार्टीको महाधिवेशन, आगामी निर्वाचनमा उनको भूमिका र वर्तमान सत्ता गठबन्धनको भविष्यबारे नेता खाणसँग कोइराला निवासमै सञ्चारकर्मीले गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

  • पार्टीको अनुशासन समितिले केही नेता–कार्यकर्तामाथि गरेको कारबाहीलाई तपाईंले कसरी लिनुभएको छ ? यो ठिक हो ?

हेर्नुहोस्, मैले यसलाई ठिक पनि भनेको छैन, बेठिक पनि भनेको छैन । अनुशासन समितिले प्रक्रियागत रूपमा कारबाही गरेको हो । अनुशासन समितिमा अहिले पाँच जना साथीहरू हुनुहुन्छ, आनन्द ढुंगानाजी त्यसको अध्यक्ष हुनुहुन्छ । अब अनुशासन समितिमा ती पाँच जनाबाहेक तपाईं भए पनि तपाईंले पनि केही न केही त कारबाही गर्नैपर्थ्यो । तपाईंले गरेको कारबाहीमा पनि प्रश्न उठ्थ्यो । त्यसकारण कुरा उठ्नु पनि स्वाभाविक हो, कारबाही गर्नु पनि स्वाभाविक हो ।

त्यसका उपर अब केन्द्रीय समितिले नै समीक्षा गर्छ, छलफल गर्छ र त्यो अनुशासन समितिले गरेको कारबाही ठिक भए ‘ठिक हो’ भन्छ, ठिक होइन भने त्यसलाई करेक्सन गर्छ ।

  • पार्टीको महाधिवेशनको कुरा पनि उठेको छ, महाधिवेशनको समयसीमा पनि गुज्रिसकेको देखिन्छ । कहिले हुन्छ महाधिवेशन ?

नेपाली कांग्रेसको विधानमा चार वर्षभित्रमा महाधिवेशन हुने व्यवस्था छ । विशेष परिस्थिति आयो भने एक वर्ष थपेर पाँच वर्षभित्रमा हुन्छ । ११ औँ, १२ औँ, १३ औँ र १४ औँ महाधिवेशन पनि एक वर्ष थपेरै गरेको हो । त्यसकारण अहिले हाम्रो १५ औँ महाधिवेशन पनि नेपाली कांग्रेसको सबै तहको कार्यकाल एक वर्ष थपेर पाँच वर्षभित्र हुन्छ ।

पछिल्लो समय तपाईं पार्टी संस्थापन पक्षबाट केही टाढिएजस्तो हल्ला चलिरहेको वेला विराटनगर आएर कोइराला निवास, अझ विशेषगरी शेखर कोइरालाको निवासमा तपाईंको उपस्थितिलाई अर्थपूर्ण रूपमा हेरिएको छ । यसलाई कसरी व्याख्या गर्नुहुन्छ ?

नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवा हुनुहुन्छ । हामी सबै पार्टी सभापति शेरबहादुर देउवालाई सफल गराउन लागेका छौँ । पार्टी सभापति सफल हुनुभयो भने पार्टी सफल हुन्छ । सभापतिलाई सफल गराउन सकिएन भने पार्टीलाई गम्भीर धक्का लाग्छ भन्ने विश्वास मेरो हिजो पनि थियो, आज पनि छ र भोलि पनि रहनेछ ।

जहाँसम्म कोइराला निवासको कुरो हो, कोइराला निवासमा पार्टी नेता शेखर कोइराला बस्नुहुन्छ । यहाँ पहिला गिरिजाप्रसाद कोइराला बस्नुहुन्थ्यो । त्योभन्दा अगाडि पिताजी कृष्णप्रसाद कोइराला पनि बस्नुहुन्थ्यो । कृष्णप्रसाद कोइरालाले विराटनगरको विस्तार गर्नुभएको हो । राणा शासनको खिलाफमा प्रजातन्त्रको पक्षमा आन्दोलनमा रहँदा उहाँ थुनामा पर्नुभयो र जेलमै उहाँ दिवंगत हुनुभएको हो ।

त्यसकारण कोइराला सम्झँदाखेरि हाम्रो मेयर नागेश कोइरालामात्रै सम्झेर भएन । कृष्णप्रसाद कोइराला, बीपी कोइराला, मातृका कोइराला, गिरिजा कोइराला, सुशील कोइराला पनि सम्झिनुपर्‍यो । त्यसकारण कोइराला निवासलाई पार्टीको गुटको हिसाबले हेर्ने होइन । कोइराला निवास हाम्रो लागि एउटा हिसाबले पवित्र भूमि हो, कुनै धार्मिकस्थल गएकोजस्तै हो । पार्टीका नेता–कार्यकर्ताहरूका लागि यो प्रेरणाको स्रोत हो ।

  • महाधिवेशनको कुरा गर्दा अरू नेताहरूले आफ्नो उम्मेदवारी घोषणा गरिरहनु भएको छ । तपाईंले चाहिँ १५ औँ महाधिवेशनमा केमा उम्मेदवारी दिने सोच्नुभएको छ ?

अब अहिले हामी पार्टीको केन्द्रीय समितिमा छौँ । आदरणीय गिरिजाप्रसाद कोइरालाले २०५४ सालमा नेपालगञ्जको महासमितिमा मलाई तरुण दलको अध्यक्षको जिम्मेवारी दिनुभयो । २०५६ सालको आम निर्वाचनमा म उम्मेदवार नभइकन देशभरि तरुण दललाई परिचालन गर्ने र नेपाली कांग्रेसलाई विजयी गराउने अभियानमा लागेँ । चुनाव सम्पन्न भएर कांग्रेसको बहुमत आएपछि आदरणीय गिरिजाप्रसाद कोइरालाले मलाई कांग्रेसको केन्द्रीय समितिमा लानुभयो, २०५६ सालमा । २०५६ सालदेखि आजसम्म म पार्टीको केन्द्रीय समितिमा छु । जुन केन्द्रीय समितिमा पहिला बीपी कोइराला, स्वर्णशमशेर, गणेशमानजी, किसुनजी, गिरिजाबाबु हुनुहुन्थ्यो, त्यो केन्द्रीय समितिमा हामी छौँ । त्यो हाम्रो लागि धेरै ठुलो कुरा हो ।

अहिले १५ औँ महाधिवेशन सम्पन्न गर्ने क्रममा केन्द्रीय समिति आयोजक नै हुन्छ । महाधिवेशन सम्पन्न गर्ने भूमिकामा हामी क्रियाशील रहन्छौँ । त्यसपछि पार्टीको कुन नेताले के पदमा उठ्ने भन्ने हाम्रो दोस्रो प्राथमिकतामा आउँछ ।

  • अहिले नेकपा एमाले र नेपाली कांग्रेसको संयुक्त सरकार छ । सरकारले गरेका कतिपय नराम्रा काममा कांग्रेस किन ‘चुइँक्क’ बोल्दैन भनेर प्रश्न उठिरहेको छ नि ?

हाम्रो प्रतिनिधि सभाको जुन कम्पोजिसन छ, कुनै पनि पार्टीको एकल सरकार बन्न सक्दैन । त्यसकारण नेपाली कांग्रेसले सरकारमा बस्ने हो भने कुनै न कुनै पार्टीसँग सहकार्य गर्नै पर्‍यो, गठबन्धन गराउनै पर्‍यो । एमालेसँग यो पहिलोपटक गठबन्धन भएको होइन । विगतमा पनि कहिले गिरिजाप्रसादको नेतृत्वमा, कहिले शेरबहादुरको नेतृत्वमा, कहिले माधवकुमार नेपालको नेतृत्वमा कांग्रेस–एमालेको बिचमा सहमतिको सरकार बनेकै छ । सरकारले जनतालाई चित्त बुझाउनुपर्छ, डेलिभरी दिनुपर्छ, त्यसमा दुईमत छैन । तर केही राम्रा योजना पनि आएका छन् । जस्तै, ‘पढ्दै कमाउँदै’ कार्यक्रम, हरित हाइड्रोजन उत्पादनको योजना, पर्यटन क्षेत्रमा विदेशी मुद्रा ल्याउन पाउने सीमा बढाउनेजस्ता सकारात्मक काम पनि भएका छन् ।

  • तर सरकारले जनतालाई चित्त बुझाउन सकेन, खाली काण्डैकाण्ड र दागैदाग छन् भन्ने गुनासो छ नि ! कहिले चित्त बुझाउँछ सरकारले ?

चित्त नबुझ्दाखेरि चुनावमा त्यो आउँछ । अहिले एक जना मन्त्रीको बारेमा केही चर्चा भयो, उहाँले राजीनामा दिनुभयो । पोजेटिभ पनि हेर्नु न ! हाम्रो आग्रह के छ भने यो गठबन्धनलाई हामीले २०८४ को आम चुनावसम्म बचाएर लिएर जानुछ । त्यसैले गठबन्धनलाई पर्फेक्ट गराउन हामीले तपाईंहरूसँग पनि बोल्ने हो, तर त्यसअघि गठबन्धनभित्रै कुरा गर्ने हो । त्यहाँ भएका कमी–कमजोरीलाई सकभर भित्रभित्रै सुधार्ने हो ।

  • अन्त्यमा, रुपन्देहीमा तपाईंको उम्मेदवारीको चर्चा छ, के हो ?

(हाँस्दै) म अहिले मोरङमा छु ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप