कानुनी छिद्रमा टेकेर डिम्बको अवैध व्यापार
सारांश
- नेपालमा आईभीएफ सेन्टरहरूले कानुनी छिद्रताको फाइदा उठाउँदै किशोरीहरूको शरीरलाई प्रयोगशाला बनाएको पाइएको छ।
- डिम्बदान सम्बन्धी स्पष्ट कानुनी व्यवस्था नहुँदा स्वास्थ्य समस्या र मानवअधिकार हनन् हुने जोखिम बढेको छ।
- वरिष्ठ स्त्रीरोग विशेषज्ञहरूले डिम्बदानलाई सुरक्षित र व्यवस्थित बनाउन कानुन आवश्यक भएको बताएका छन्।
काठमाडौँ । भारत लगायतका देशमा २१ वर्ष नाघेका महिलाबाट डिम्ब झिक्ने कानुनी व्यवस्था छ । नेपालमा भने कानुनी बाटो नफुकाइ हचुवाको भरमा आईभीएफ सेन्टर सञ्चालन गरिएको स्वास्थ्य मन्त्रालयकै एक उच्च अधिकारी सुनाउँछन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको गुणस्तर मापन तथा नियमन महाशाखाले आईभीएफ वा फर्टिलिटी क्लिनिक अनुगमन गर्छ । महाशाखाका अनुसार देशभर २५ वटा आईभीएफ सेन्टर सञ्चालनमा छन् । धेरै आईभीएफ सेन्टर काठमाडौँ उपत्यकामा सञ्चालित छन् ।
काठमाडौँमा १६ र ललितपुरमा ६ वटा, पोखरामा २, पर्सामा १, रुपन्देहीमा १ र विराटनगरमा १ गरी जम्मा २५ वटा आईभीएफ सेन्टर सञ्चालनमा छन् । यस्ता सेन्टरले कानुनी छिद्रतालाई फाइदा उठाउँदै किशोरीको शरीरलाई प्रयोगशाला बनाएको पाइएको छ ।
महिलाको डिम्ब अर्थात् अण्डा र पुरुषको शुक्रकिटलाई शरीरबाट बाहिर निकाली प्रयोगशालामा निषेचन गर्ने सेन्टरहरूले कानुनी छिद्रतालाई फाइदा उठाएको गुणस्तर मापन तथा नियमन महाशाखाका एक अधिकारीले बताए ।
कम उमेरका किशोरकिशोरीलाई प्रलोभनमा पारेर दान गर्न लगाउनु गलत कार्य भएको उनको भनाइ छ । अपरिपक्व उमेर समूहका किशोरकिशोरीलाई प्रलोभनमा पारी बिचौलियाले धेरै रकम असुल्ने र डिम्बदातालाई थोरै पैसा दिने समस्या देखिएको उनले बताए ।
उता फेसन फर्टिलिटी सोसाइटी नेपालले बिहीबार स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेललाई भेटेर डिम्बदान सम्बन्धी नियमावली फास्ट ट्रयाकमा ल्याउन दबाब दिएको छ ।
- डिम्ब दान गर्दा स्वास्थ्य समस्या
भेरी अस्पताल नेपालगन्जका वरिष्ठ स्त्रीरोग विशेषज्ञ तथा कन्सल्ट्यान्ट डा. कृतिपाल सुवेदी बीर्य र डिम्ब दान प्रक्रियालाई सुरक्षित र व्यवस्थित बनाउनुपर्नेमा जोड दिन्छन् । प्रलोभनमा डिम्बदान गर्दा स्वास्थ्य समस्या देखिनसक्ने उनको भनाइ छ ।
यसरी कलिलो उमेरका किशोरीको डिम्ब जथाभावी झिक्दै जाने हो भने भोलि उनीहरूका लागि नै डिम्ब बाँकी नरहन सक्ने सुवेदीले बताए । प्रत्येक महिनावारीमा महिलाको डिम्ब खेर जाने र डिम्ब सकिएपछि महिनावारी सुक्ने उनले प्रस्ट पारे ।
‘पुरुषहरूमा नियमित रुपमा शुक्रकिट बन्ने प्रक्रिया चलिरहन्छ तर डिम्बमा त्यस्तो नियमित प्रक्रिया हुँदैन,’ सुवेदीले भने, ‘डिम्ब निकाल्न औषधि प्रयोग गर्दा एउटामात्रै डिम्ब निकाल्न मिल्दैन, धेरै डिम्ब निस्कने भएकाले पनि किशोरीको प्रजनन क्षमतामा असर गर्न सक्छ ।’
डिम्बको सञ्चिति कम भएमा महिनावारी चाँडै सुक्ने सुवेदीले प्रस्ट पारे । महिनावारी चाँडै सुक्दा हाड पातलो हुने, योनीमा सङ्क्रमण हुने, रक्तश्राव हुने, हार्मोनमा गडबडी भई शारीरिक कमजोरी हुने उनको भनाइ छ ।
डिम्बदानका लागि सुईको माध्यमबाट अण्डाशयमा अत्यधिक उत्तेजना गराइने सुवेदीले बताए । यस क्रममा १५–२० वटा डिम्ब सक्रिय हुन सक्ने उनको भनाइ छ । जसका कारण शरीर सुन्निने, बिरामीलाई आईसीयूमा राख्नुपर्ने अवस्था पनि आउन सक्ने उनले प्रस्ट पारे ।
यति वर्ष उमेरपछि डिम्ब निकाल्नुपर्छ भन्ने कुरा नेपालको प्रचलित कानुनले कल्पना गरेको छैन । तर, महिनावारीपछि डिम्ब बनिरहेको हुन्छ । डा. सुवेदीका अनुसार अविवाहित र यौन क्रियाकलापमा सरिक नभएका किशोरीको योनीबाट अल्ट्रासाउन्ड गर्ने ब्रोप राखेर डिम्ब झिक्नु गाह्रो कुरा हो । ‘कसैले मेरो दुई वटा बच्चा भइसके, किन डिम्ब झिक्न नपाउने भनेर प्रश्न पनि गर्लान्,’ सुवेदीले भने, ‘तर त्यसो भन्नु भनेको मेरो दुई वटा मिर्गौला छ, एउटा किन नझिक्ने भनेजस्तो नमिल्दो कुरा हो ।’
- निःसन्तान बढ्यो
वरिष्ठ स्त्रीरोग विशषज्ञ डा. उमा श्रीवास्तव धेरै निःसन्तान दम्पतीमा डिम्ब र शुक्रकिटले काम गर्न छाडेको जिकिर गर्छिन् । आईभीएफमा पुग्ने निःसन्तान महिलाहरूमा डिम्बले नै काम नगरेको पाइएको उनको भनाइ छ ।
‘पछिल्लो समयको खानपान, काम र तनाबका कारण डिम्बले काम नगरेको पाइएको छ,’ श्रीवास्तवले भनिन्, ‘यस्तो अवस्थामा महिला कसरी आमा बन्छिन् ?’
डिम्बदान सम्बन्धी कानुनी प्रावधान नहुँदा मन्जुरीमा डिम्बदान गर्दा पनि मानवअधिकार हनन् भएजस्तो हुने उनको भनाइ छ । ‘निःसन्तान दम्पती सन्तान चहियो भनेर आउँछन्,’ उनले भनिन्, ‘सहमतिमा डिम्बदान गरे पनि कानुन नहुँदा अपराध गरेजस्तो देखियो । मन्त्रालयले तत्काल यस सम्बन्धी कानुनी प्रावधान ल्याउनुपर्छ ।’
विश्वभर डिम्बदानको चलन छ । डिम्बदानविना आईभीएफ सेन्टर राम्रोसँग चल्न नसक्ने श्रीवास्तवले बताइन् ।
डा. सुवेदी पनि कानुन बनाएर महिलाको डिम्ब निकाल्ने हो भने कति वटा निकाल्ने, कति उमेर समूहकाको निकाल्ने भन्नेजस्ता विषय प्रस्ट पारिनुपर्ने बताउँछन् ।
- कसरी लिइन्छ डिम्ब ?
आईभीएफका क्षेत्रमा लामो समयसम्म काम गर्दै आएकी एक वरिष्ठ स्त्रीरोग विशेषज्ञका अनुसार डिम्ब कसको लिने र नलिने भन्ने प्रावधान नभएकाले गाह्रो भएको बताउँछिन् ।
‘आईभीएफ सेन्टरमा निःसन्तान दम्पती आउँछन्,’ उनले भनिन्, ‘उनीहरूलाई बच्चा चाहिएकाले आफैँ बिचौलियामार्फत डिम्ब दिने महिला लिएर आउँछन् । त्यसपछि मात्रै आईभीएफ सेन्टरले ती महिलाको स्वास्थ्य अवस्था परीक्षण गरी उपयुक्त भएमा डिम्ब निकाल्ने प्रक्रियाबारे जानकारी दिई मन्जुरीनामा हस्ताक्षर गराएर डिम्ब निकालिन्छ ।’
डिम्ब निकालेको एकदुई घण्टापछि स्वास्थ्य अवस्था ठिक हुने र घर जान दिइने उनको भनाइ छ । धेरै डिम्बदाता बिचौलियामार्फत नै आउने उनले बताइन् ।
- कानुनी उल्झन
आईभीएफ सेवा सञ्चालनका विषयमा आवश्यक कानुनी प्रावधान नल्याउँदा समस्या उत्पन्न भएको वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. सुवेदी बताउँछन् । मुलुकी देवानी संहिताको दफा १०९ ले कृत्रिम गर्भाधानबाट जन्मिएका शिशुको पितृत्व बाबु हुने उल्लेख गरिएको छ । यस्तै उक्त दफाले पति–पत्नीको मन्जुरीले अन्य कुनै व्यक्तिको बीर्यबाट कृत्रिम गर्भाधान गरी सन्तान जन्माउन सकिने उल्लेख गरिएको छ ।
जनस्वास्थ्य सेवा नियमावली, २०७७ को अनुसूची ७ को २४ मा टेस्ट ट्युब बेबी आईभीएफ सेन्टर भनेरमात्रै उल्लेख गरिएको छ । डा.श्रीवास्तवले डिम्बदानबारे ऐन तथा नियमावलीमा उल्लेख नहुँदा गम्भीर समस्या देखिएको बताइन् ।
महिलाले आफ्नो डिम्ब निकालेर पछि प्रयोग गर्नका लागि स्टोर गरेर राख्न पाउने तर एउटाको डिम्ब निकालेर अर्की महिलालाई दान गर्ने कानुनी प्रावधान नबनेको डा.सुवेदीले बताए । यस विषयमा स्वास्थ्य मन्त्रालयले कुन उमेर समूहलाई वीर्य र डिम्बदान गर्न दिने भन्ने विषयमा छलफल गरी ठोस नीति बनाउनुपर्ने जनस्वास्थ्य विज्ञहरू बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण