बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

केरुङको विकल्पमा कोरला नाका खोल्न मुख्यमन्त्रीलाई व्यवसायीको सुझाव

शुक्रबार, ०२ साउन २०८२, २१ : १४
शुक्रबार, ०२ साउन २०८२

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे साउन ६ गतेदेखि तिब्बत भ्रमणमा निस्किँदै छन् । ६ देखि १२ गतेसम्म सम्म हुने भ्रमणका क्रममा समकक्षीसँग उनको औपचारिक भेटवार्ता हुनेछ भने विभिन्न सार्वजनिक कार्यक्रममा सहभागी हुनेछन् ।

पाण्डेको तिब्बत भ्रमणका क्रममा गण्डकी प्रदेशका केही महत्त्वपूर्ण एजेन्डा प्रवेश गराउन यहाँका पर्यटन व्यवसायीहरूले सुझाव दिएका छन् ।खासगरी मुस्ताङको कोरला नाका खोल्नुपर्ने र पोखराबाट अन्तर्राष्ट्रिय उडानका लागि तिब्बतसँग सहयोग माग्नुपर्ने उनीहरूको सुझाव छ ।

हाल केरुङ नाका बाढीका कारण बन्द छ । यो बेलामा कोरला नाकालाई पर्यटकीय तथा व्यापारिक प्रयोजनका लागि पूर्ण रूपमा खुलाउने विषयलाई प्राथमिकतामा राख्न उनीहरूको आग्रह छ ।

कोरला नाका सञ्चालनले गण्डकी प्रदेशको पर्यटन र समग्र अर्थतन्त्रमा ठुलो टेवा पुग्ने पोखरा पर्यटन परिषद्ले जनाएको छ । शुक्रबार एक ज्ञापनपत्र बुझाएर परिषद्ले भनेको छ, ‘पोखराबाट चीनको नजिकको नाका कोरला हो, तर अहिलेसम्म पर्यटक आवागमन र व्यापारिक प्रयोजनका लागि पूर्ण सञ्चालनमा आउन सकेको छैन । 

यसलाई पूर्ण सञ्चालनका लागि यो भ्रमणमा आवाज उठाउनुपर्छ ।’ पाण्डेको भ्रमणको पूर्व सन्ध्यामा आयोजित छलफलमा व्यवसायीहरूले विगतमा जस्तो समस्या कोरला नाकामा अहिले नरहेको भन्दै नाका बन्द गर्नुपर्ने कारण नरहेको बताए ।

साउन ७ गते नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सव मनाइँदै छ । सोही अवसरमा पाण्डेको नेतृत्वमा गण्डकीको प्रतिनिधि मण्डल चीन जान लागेको हो । भ्रमणका क्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई छिमेकी र एसियाका अन्य मुलुकसँग सीधा उडानमार्फत जोड्नका लागि पनि प्रस्ताव गर्नुपर्ने माग व्यवसायीको छ ।

पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष गणेशबहादुर भट्टराईले विमानस्थल सञ्चालन हुन नसक्नुमा भूराजनीतिक प्रभाव रहेको भन्दै यसलाई चिर्न उच्चस्तरीय कूटनीतिक पहल आवश्यक रहेको बताए ।

पोखराबाट चीनका केही महत्त्वपूर्ण सहरहरूमा सीधा उडाउनका लागि आवाज उठाउनुपर्ने अर्का व्यवसायी गोपीबहादुर भट्टराईले सुझाए । ‘धार्मिक महत्त्व बोकेको कैलाश मानसरोवर यात्रालाई सहज बनाउन चीन सरकारले मानसरोवर नजिकै रहेको विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरमा स्तरोन्नति गरिरहेको सन्दर्भमा पोखराबाट त्यहाँ सीधा उडानका लागि पहल गर्नु आवश्यक छ,’ उनले भने ।

यसले साहसिक पर्यटकका लागि कैलाश मानसरोवर यात्रा सहज बनाउने र गण्डकी प्रदेशको पर्यटन विकासमा ठुलो टेवा पुग्ने बताइएको छ ।

व्यवसायीहरूले विगतमा भएका भ्रमणले खासै उपलब्धि नदिएको भन्दै यसपटकको भ्रमणलाई परिणाममुखी बनाउन आग्रह गरे । नेपाल पर्यटन बोर्डका पोखरा प्रमुख मणिराज लामिछाने चीनले घोषणा गरेको ‘भिजिट नेपाल इयर २०२५ इन चाइना’ लाई सफल बनाउन पनि यो भ्रमण महत्त्वपूर्ण हुने बताए । भ्रमणलाई फलदायी बनाउन प्रदेशका समस्यालाई निर्धक्कसाथ राख्नुपर्ने सुझाव व्यवसायीले दिए । 

पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी पोखरालाई ट्रान्जिट बनाएर मुक्तिनाथ, दामोदर कुण्ड हुँदै कैलाश मानसरोवरसम्मको धार्मिक पर्यटन मार्ग खोल्नका लागि प्रस्ताव गर्नुपर्ने बताउँछन् । यसलाई धार्मिक तथा पर्यटकीय मार्गका रूपमा विकास गर्न सके गण्डकी प्रदेशको पर्यटनमा कायापलट हुने उनले बताए ।

मुख्यमन्त्री पाण्डेले आफ्नो भ्रमणका क्रममा ४ वटा विषयलाई एजेण्डाका रूपमा उठाउन लागेको जानकारी दिए । उनका अनुसार कोरला नाका खोल्ने र पोखरा विमानस्थल सञ्चालनसँगै दुई देशबिचका व्यापारिक समस्या समाधानका लागि पहल गर्ने एजेन्डा छ ।

‘पहिलेको तुलनामा अहिले परिस्थित फरक छ । तातोपानी र केरुङ नाकामा समस्या देखिएपछि चीनसँगको हाम्रो पहुँच नै खुम्चिएको छ,’ उनले भने, ‘त्यसैले कोरला नाका खोल्नु हाम्रो बाध्यता र आवश्यकता दुवै हो । मेरो भ्रमणका क्रममा यसलाई विशेष प्राथमिकताका साथ उठाइने छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप