बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
साफ यू–२० महिला च्याम्पियनसिप

पहिलो हाफमा भुटानको पोस्टमा नेपालको आधा दर्जन गोल, पूर्णिमाको ह्याट्रिक

शनिबार, ०३ साउन २०८२, १६ : ४२
शनिबार, ०३ साउन २०८२

सारांश

  • साफ यू-२० महिला च्याम्पियनसिपमा नेपालले भुटानलाई ६-० गोलले पराजित गरेको छ।
  • खेलमा मिना देउवा र पूर्णिमा राईको उत्कृष्ट प्रदर्शन रह्यो, जसमा राईले ह्याट्रिक गरिन्।
  • नेपाल हाल दोस्रो स्थानमा छ, बंगलादेश शीर्ष स्थानमा रहेको छ र आगामी खेल निर्णायक हुनेछ।

काठमाडौँ । बंगलादेशमा जारी साफ यू–२० महिला च्याम्पियनसिपमा नेपालले शनिबार पहिलो हाफमा नेपालले भुटानमाथि गोल वर्षा गरेको छ । ढाकास्थित बसुन्धरा स्पोर्टस् ग्राउन्डमा जारी खेलमा नेपालले ६-० गोलको अग्रता बनाएको हो ।

खेलको पहिलो मिनेटमा मिना देउवाले गोल गर्दै टोलीलाई अग्रता दिलाइन् । नवौँ मिनेटमा समीक्षा मगरले टोलीका लागि दोस्रो गोल गरिन् । ३ मिनेटपछि मिनाले व्यक्तिगत दोस्रो गोल गरिन् । २३ औँ मिनेटमा पूर्णिमा राईले अर्को गोल थपिन् । प्रतियोगिताकी शीर्ष गोलकर्ता रहेकी उनको यो आठौँ गोल थियो ।

२७ औँ मिनेटमा मिनाले ह्याट्रिक गर्ने अवसर भएकी थिइन् । तर, गोलकिपरसँग वान अन वानमा उनी गोल गर्न चुकिन् । पहिलो हाफको इन्जुरी समयमा नेपालले पाँचौँ गोल थप्यो । पूर्णिमाले खेलमा दोस्रो र प्रतियोगिताको नवौँ गोल गरिन् । केही मिनेटपछि अर्को गोल थप्दै उनले ह्याट्रिक पूरा गरिन् ।

प्रतियोगितामा दुई टोली दोस्रोपटक आमनेसामने भएका हुन् । यसअघि नेपालले पहिलो खेलमा भुटानलाई ६(१ गोलअन्तरले हराएको थियो । सो खेलमा पूर्णिमा राईले ४ गोल तथा सेनु परियारले २ गोल गरेकी थिइन् । यसपटक प्रतियोगिता ४ सहभागी राष्ट्रबिच डबल राउन्ड रोबिन आधारमा खेलाइँदैछ । सबै खेल सकिएपछि शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्ने छ ।

नेपाल ४ खेलबाट ९ अङ्कसहित दोस्रो स्थानमा रहेको छ । आयोजक बंगलादेश ४ खेलबाट १२ अङ्क बटुल्दै पहिलो स्थानमा छ । भुटानले ४ खेलबाट ३ अङ्क बटुलेर तेस्रो स्थानमा छ भने अङ्कविहीन रहेको श्रीलङ्का पुछारमा रहेको छ ।

पछिल्लो खेलमा नेपालले श्रीलङ्काविरुद्ध शानदार जित हात पारेको थियो । बिहीबार सम्पन्न खेलमा नेपालले ७–० विजयी बन्यो । नेपाल र श्रीलङ्का प्रतियोगितामा दोस्रोपटक आमनेसामने भएका थिए । यसअघि गत मंगलबार भएको खेलमा नेपाल समान ७–० को विशाल अन्तरले विजयी भएको थियो ।

नेपाल आफ्नो दोस्रो खेलमा बंगलादेशसँग प्रतिस्पर्धात्मक खेलमा २–३ गोलले स्तब्ध बन्न पुगेको थियो । आजै दोस्रो खेलमा बंगलादेश र श्रीलङ्का भिड्ने छन् ।  बंगलादेश शीर्ष स्थानमा रहे पनि नेपालको गोलअन्तर बंगलादेशभन्दा राम्रो रहेको छ । अब सोमबार हुने दुई टोलीबिचको खेल निर्णायक हुने देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप