इटहरी म्याट्रिक्स : ललितकलाको हब
पूर्वको इटहरी यतिखेर ललितकलाको गजबको हब बन्ने तर्खरमा छ । यसलाई नाटक र नाट्यकर्मीको हब भन्दा हुन्छ वा अनेकौँ फूल, प्लान्टहरूको बगैँचा वा ध्यान केन्द्रको हब भने पनि हुन्छ । थुपै्र कुराको हब हुँदाहुँदै ती सबैको पिँधमा रहने वा ती सबैमा अन्तर्निहित हुने ललितकला (एस्थेटिक्सको सन्दर्भ) नै टड्कारो रूपमा यहाँ देखापर्ने गर्छ । यसर्थ मूलतः यो ललितकलाकै हब बन्ने तर्खरमा छ भन्दा अझ बढी सान्दर्भिक होला ।
सहरभित्रै तर भिडभाडभन्दा निकै पर नितान्त शान्त र सुन्दर यो ठाउँ कलाकारका लागि एउटा तीर्थस्थलजस्तै बन्दै छ । यहाँ एउटा अलग्ग भवन ‘इटहरी म्याट्रिक्स’ बनाइएको छ ।

यस्तो वातावरणको परिकल्पना गर्ने कलाकार विक्रमश्री तिम्सिना हुन् । उनी मूलतः मूर्तिकार र नाट्यकर्मी हुन् । उनी अभिनय गर्छन्; यथार्थ, अर्ध–अमूर्त मूर्ति बनाउँछन्; वास्तुकलाका डिजाइन गर्छन् अनि किसिम–किसिमका इभेन्ट्सहरूको आयोजना गर्छन् । सबैभन्दा पहिला नाट्यकर्मीबाट कलायात्रा सुरु गरेका विक्रम अहिले ललितकलामा अझ सक्रिय बनी काम गर्दै छन् । झट्ट हेर्दा उनी दुई विधा (मूर्ति र नाटक)मा मात्र संलग्न देखिन्छन् तर उनले अरु थुप्रै काममा हात हालेका छन् । मोफसलको यस क्षेत्रमा थोरै मूर्तिकार सक्रिय छन् । त्यसैमा पनि अधिकांश ‘कमिसन वर्क’मा व्यस्त छन् । विक्रम भने विभिन्न उपयोगी कलालाई सिर्जनशील कलामा रूपान्तरित गरी एउटा अलग्ग अर्थ निकाल्ने ध्याउन्नमा लागिपरेका छन् । यसो हुँदा उनी मूर्ति मात्र नबनाएर मूर्तिकारहरूलाई एउटै थलोमा भेला गर्ने, मिलेर काम गर्ने वातावरणका लागि पनि अगुवाइ गर्दै छन् । यस कारण पनि गएका वर्षमा अनगिन्ती काम र कार्यक्रम भइसकेको उनी बताउँछन् ।

विक्रमको स्वभाव भने एक क्षण आराम नगर्ने खालको देखिन्छ, उनी सधैँजसो कुदिरहन्छन् वा सक्रिय भइरहन्छन् । उनी एक अनौठो व्यक्तित्व, जोगीजस्तो मान्छे । एकताका उनी गेरु वस्त्र नै धारण गरेर साँच्चिकै जोगी बनेका थिए रे । क्रमशः उनी कला क्षेत्रमा समर्पित हुन पुगे । मूलतः उनी इन्जिनियर हुन् । नक्सा बनाउँदा बनाउँदै कैयौँ गाउँ–ठाउँमा उनले कलात्मक वास्तुकलाका आकर्षक डिजाइन गरिसकेका छन्, किसिम–किसिमका मूर्ति बनाएका छन् । अनि उनको आफ्नै अलग्ग मूर्तिको स्टुडियो पनि छ, उनका भाइ अशेष पनि मूर्तिकार नै हुन् । दुवैले मिलीकन कैयौँ ठुल्ठुला मूर्तिका प्रोजेक्ट पनि गर्न भ्याएका छन् । चौबिसै घण्टा यस्तायस्तै काममा व्यस्त भइरहने विक्रमले अनेकानेक बगुन्द्रो सम्मान र पुरस्कार पाइसकेका छन् ।

२०६५ मा जिल्ला प्रशासन कार्यालयमा ट्रस्टका रूपमा दर्ता भएको यो इटहरी म्याट्रिक्सका संस्थापक अध्यक्ष नै उनै विक्रमश्री हुन् । यसको व्यवस्थापनका लागि १३ जनाको समिति पनि बनाइएको छ । विक्रमले कलाको केन्द्र ‘इटहरी म्याट्रिक्स’लाई आजको स्थितिमा ल्याउन निकै मिहिनेत गरेका छन् । म्याट्रिक्स यतिखेर पनि बन्ने क्रममै छ, धेरैवटा संरचना अधकल्चोजस्ता पनि देखिन्छन् । बन्दै गरेको, बनाउँदै गरेको, फूल रोप्दै गरेको अनेक परिदृश्य देखिन्छ यहाँ । फिलिपिन्स (उनको ससुराली पनि हो) बाट अनेकानेक प्लान्ट ल्याएर समेत उनले यहाँ लगाउन भ्याएका छन् । नेपालकै पनि विभिन्न प्रजातिका फलफूलका झाडी यहाँ देख्न सकिन्छ ।
‘इटहरी म्याट्रिक्स’ कला–साहित्यका सबै विधा एकै ठाउँमा जोड्ने ‘मल्टिडिसिप्लिनरी एप्रोच’का साथ उभिएको छ । कलाको सबैजसो विधालाई अटाउने लक्ष्य लिएको यस ठाउँमा अहिले नाटक र मूर्तिकलालाई विशेष महत्त्व दिइएको छ ।
म्याट्रिक्सलाई गति दिन यी दम्पती नै लागेका छन् । श्रीमती म्यारिभिक श्री कुयन तिम्सिना र विक्रमश्रीको सक्रियता सराहनीय देखिन्छ । यिनीहरु कला–साहित्य नाटकका कार्यक्रम गर्दै हिँड्छन् ।
इटहरी ठुलो बजार मात्र होइन पूर्वको व्यापारिक केन्द्र पनि हो । चारैतिरबाट मान्छेको आवत्जावत् बढी हुने मात्रै होइन, यहाँ बाहिरका मान्छे यतै आई बस्न पनि थालेका छन् । मूलतः केही वर्ष अघिसम्म यो बजार छाप्रैछाप्राले घेरिएको सानो गाउँजस्तो थियो । विशेष गरेर थारु अनि राजवंशीहरूको बाहुल्य भएको यो सानो गाउँ अहिले आएर अजङ्गको बजार मात्र बनेको छैन, अन्यत्र जाने–आउने यातायातको ठुलो जक्सन समेत बनेको छ । विशेषतः यहाँ विभिन्न क्षेत्रबाट बसाइँ आउने वा केही समय बस्न आउने व्यक्तिले विभिन्न कला र संस्कृति पनि ल्याएका छन् । त्यसैले यहाँको संस्कार र कलामा विविधता पाइन्छ ।

यही पृष्ठभूमिमा ‘इटहरी म्याट्रिक्स’ कला–साहित्यका सबै विधा एकै ठाउँमा जोड्ने ‘मल्टिडिसिप्लिनरी एप्रोच’का साथ उभिएको छ । कलाको सबैजसो विधालाई अटाउने लक्ष्य लिएको यस ठाउँमा अहिले नाटक र मूर्तिकलालाई विशेष महत्त्व दिइएको छ ।
मूर्ति बनाउनका लागि बनेका स–साना छाप्रा, नाटक वा कला प्रदर्शन गर्न अलि ठुलो पक्की घर, पचासौँ किसिमका फूल र प्लान्टहरूले यो ठाउँ झकिझकाउ बनेको देखिन्छ । साढे २१ कट्ठा जग्गामा फैलिएको यस कलाको हबमा ठुला–अग्ला रुखहरूको घारी छ, बगलमै नदी बगेको छ, यी सबैले यो साँच्चिकै मनोरम देखिन्छ । कलाकारका लागि यो ठाउँ विशेष आकर्षणको केन्द्र बनेको छ, वरिपरिका कलाकार यहाँ सानोतिनो कार्यक्रम हुँदा पनि आइपुगिहाल्छन् । अहिले यहाँ अनेक प्रकारका कलाका स्टुडियोहरू बन्दै गरेको देखिन्छ । नेपालमा यसरी व्यक्तिगत प्रयासमा बन्दै गरेको यस्तो रमणीय ठाउँ अन्त कतै छैन भन्दा अतिशयोक्ति हँुदैन ।
नाम मात्रको कला–हब धेरै ठाउँमा बनिसके । भरपर्दो किसिमबाट साँच्चिकै हब बनेको कतै देखिएको छैन तर यो इटहरी म्याट्रिक्सले कामै गरेर देखाइसकेकाले यसलाई कलाको हब बन्ने सुरसारमा रहेको भन्न सकिन्छ ।
गएको केही वर्षदेखि देशका ठाउँठाउँमा कलाको हब बन्ने वा बनाउने सोचको विकास भएको देखिन्छ । झन्डै १०–१२ वर्षअगाडि काठमाडौँमा अवस्थित मार्टिन चौतारीमा कलाको हब बनाउने चर्चा पहिलोपल्ट चलेको थियो । त्यहाँ त्यसबखत हरेकजसो विधामा डिस्कोर्स हुने गर्थ्यो । कलाकार अस्मिना रञ्जितले कलामा डिस्कोर्स चलाउने गर्थिन् । त्यसैबेला मैले पनि नेपालको आधुनिक कलाको प्रवृत्तिबारे केही भन्ने–बोल्ने अवसर पाएको थिएँ । त्यतिबेला धेरै कलाकारले आ–आफ्ना कलाबारे बोल्ने र छलफल गर्ने रमाइलो वातावरण बनेको थियो । यसपछि यो त्यसै सेलाएर गयो ।

अहिले हरेकजसो नगरपालिकाले साहित्य–संगीत अनि कलाको प्रज्ञा प्रतिष्ठान खुलाउन थालेपछि गाउँ–ठाउँमा समेत कलाको हब बन्ने–बनाउने चर्चा पुनः सुरु हुन थालेको छ । नाम मात्रको कला–हब धेरै ठाउँमा बनिसके । भरपर्दो किसिमबाट साँच्चिकै हब बनेको कतै देखिएको छैन तर यो इटहरी म्याट्रिक्सले कामै गरेर देखाइसकेकाले यसलाई कलाको हब बन्ने सुरसारमा रहेको भन्न सकिन्छ ।
कोशी प्रदेशका लगभग सबैजसो कलाकारलाई समेटेको यस केन्द्रमा बाहिरबाट कोही कलाकार आइपुग्यो भने ऊसँग सम्बन्धित कुनै न कुनै कार्यक्रम आयोजना गरिँदो रहेछ । म चितवनको कला डेमो अनि आधुनिक कला माथिको ‘आर्ट टक’ सकेर विराटनगर जाँदै थिएँ, विक्रमले मलाई इटहरीमै ओरालेर भोलिपल्टको थुप्रै कार्यक्रममा सहभागी गराए । चितवनदेखिको झन्डै १२ घण्टाको अनवरत यात्रापछि रातको १० बजे म श्रीमतीसहित इटहरी पुगेको थिएँ । विक्रमका दम्पती हामीलाई चोकमै पर्खेर बसेका रहेछन् ।
_WMkl5FRZsG.jpg)
गएको लगभग दश वर्षको इतिहासमा यसले कलाका थुप्रै कार्यक्रम गर्न भ्याएको छ । ‘इटहरी म्याट्रिक्स’ सुन्दा अलि अनौठो नाम लागे पनि ‘म्याट्रिक्स’को पछाडि निकै ठुलो दर्शन घुसेको रहेछ । बाहिर धेरै बसेर आएपछि नेपालकै भूमिमा कलाको एक अलग्ग प्रकारको वातावरण बनाउन आफ्नै थातथलो इटहरीलाई छानेका हुन् विक्रमले । गएको दशकदेखि कलाका अनेक कार्यक्रम हुँदै आएको यो ठाउँ अहिले नाटकको ठुलो केन्द्र बनेको छ । भर्खरै सर्वनामसँग मिली अन्तर्राष्ट्रिय नाटक महोत्सव यहीँ सम्पन्न भयो । नाफाले आयोजना गर्ने प्रदेश स्तरीय कला प्रदर्शनी पनि गत साल यहीँ सम्पन्न भएको हो ।
(मल्ल कलाकार र कला समीक्षक हुन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण