बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

माओवादी कुनै पनि हालतमा सरकारमा जाँदैन : हरिबोल गजुरेल

शनिबार, ०३ साउन २०८२, १९ : ३९
शनिबार, ०३ साउन २०८२

सारांश

  • माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले वर्तमान सरकारमा सहभागी नहुने बताए र यसले जनविरोधी काम गरेको आरोप लगाए।
  • उनले कांग्रेस र एमालेको गठबन्धन सरकार बने पनि केपी ओलीको नेतृत्वमा भ्रष्टाचार मौलाएको र राजनीतिक स्थायित्व सम्भव नहुने जिकिर गरे।
  • गजुरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा पुनरागमनलाई केपी ओलीको विकल्पको रूपमा मात्र सीमित रहने टिप्पणी गरे।

धनकुटा । नेकपा माओवादी केन्द्रका केन्द्रीय उपमहासचिव तथा कोशी प्रदेश इन्चार्ज हरिबोल गजुरेलले माओवादी पार्टी कुनै पनि हालतमा सरकारमा नजाने बताएका छन् । उनले यो सरकारले जनविरोधी काम गरेकोले आफै गल्ने दाबी गरे ।

उनले सरकारमा सहभागी हुनेबारे पार्टीको धारणा स्पष्ट पार्दै भने– ‘एमालेसँग सरकारको समीकरण हुनै सक्दैन । निर्णायक कांग्रेस भए पनि हाम्रो पार्टी स्वतन्त्र बाटोमा अघि बढ्दैछ।’ शनिबार बिहान धनकुटा प्रेस सेन्टरले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले वर्तमान सरकारबाट मुलुकमा राजनीतिक स्थायित्व सम्भव नहुने बताए ।

गजुरेलले कांग्रेस र एमालेबिचको गठबन्धन सरकार भए पनि केपी ओलीको एकल नेतृत्वले आम जनताको पक्षमा प्रभावकारी काम हुन नसक्ने ठोकुवा गरे। उनले भने, ‘ओली नेतृत्वको सरकार भ्रष्टाचारको संरक्षणमा उभिएको छ, र कांग्रेस त्यही सरकारको साक्षी बनेर बस्नु दुःखद विषय हो।’

नेकपा माओवादी जिल्ला समन्वय समितिको बैठक तथा प्रशिक्षणको अवसरमा धनकुटा आएका गजुरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा सम्भावित पुनरागमनप्रति टिप्पणी गर्दै  उनलाई एजेन्डाविहीन व्यक्तित्वको रूपमा उल्लेख गरे। ‘भण्डारीको पुनरागमन केपी ओलीको विकल्पमा सीमित रहनेछ,’ उनले भने ।

पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनलाई माओवादी केन्द्रले राजनीतिक स्थान दिएको प्रसङ्ग उल्लेख गर्दै उनले भण्डारीको सक्रियतालाई सामान्य रूपमा लिइएको बताए।

‘मिसन ८४’ अभियानअन्तर्गत माओवादी केन्द्र देशको पहिलो पार्टी बन्ने लक्ष्यमा केन्द्रित रहेको गजुरेलको दाबी छ। उनले पार्टीभित्रको गम्भीर त्रुटि, कार्यशैली र वैचारिक विचलनलाई सच्याउँदै अघि बढ्ने बताएका छन्।

समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र वामपन्थी नेता वामदेव गौतमको एकतालाई कसरी हेर्नुभएको छ भन्ने प्रश्नमा उनले व्यङ्ग्य गर्दै ‘माया बैगुनी, नभई नहुने भन्दै टिप्पणी गरे। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप