मुख्यसचिव, गृहसचिवसहित यस वर्ष को-को जाँदैछन् अनिवार्य अवकाशमा ? (सूचीसहित)
सारांश
- आर्थिक वर्ष २०८१/८२ मा मुख्यसचिवसहित १७ जना सचिव अनिवार्य अवकाशमा जाँदैछन्, जसमा केही पाँचवर्षे सेवा अवधि र ५८ वर्षे उमेर हदका कारण छन्।
- मुख्यसचिव एकनारायण अर्याल आगामी मङ्सिर १० गते अनिवार्य अवकाशमा जाँदैछन् भने अन्य विभिन्न सेवाका सचिवहरू पनि विभिन्न मितिमा अवकाशमा जानेछन्।
- निजामती विधेयक पास भएमा कर्मचारीको उमेर हद बढ्ने र हाल अवकाशमा जान लागेका सचिवहरूको कार्यकाल लम्बिने सम्भावना छ।
काठमाडौँ । मुख्यसचिव एकनारायण अर्याल, गृहसचिव गोकर्णमणि दुवाडीसहित १७ जना सचिव यस आर्थिक वर्ष अनिवार्य अवकाशमा जाँदैछन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको राष्ट्रिय किताबखाना (निजामती)को रेकर्डअनुसार मुख्यसचिवसहित १६ जना सचिव अनिवार्य अवकाशमा जान लागेका हुन् ।
आर्थिक वर्ष २०८१/८२ मा मुख्यसचिव अर्याल र १६ सचिवसहित दुई हजार २११ कर्मचारी अनिवार्य अवकाशमा जाने किताबखानाले जनाएको छ । यसरी अनिवार्य अवकाशमा जानेहरुमा केही पाँचवर्षे सेवा अवधि पूरा भएर र केही ५८ वर्षे उमेर हदका कारण छन् ।
निजामती सेवा ऐन २०४९ मा सचिव पाँचवर्षे सेवा अवधि र ५८ वर्षे उमेर हद गरी दुई तरिकाबाट अनिवार्य अवकाशमा जाने व्यवस्था छ ।
मुख्यसचिव अर्याल किताबखानाको रेकर्ड अनुसार आगामी मङ्सिर १० गते अनिवार्य अवकाशमा जाँदैछन् । अवकाशमा जाने सचिवहरूमा तीन जना न्याय सेवाका छन् । न्याय सेवाबाट विशिष्ट श्रेणीमा पुगेका महान्यायाधिवक्ताको कार्यालयमा कार्यरत नायब महान्यायाधिवक्ता टेकबहादुर घिमिरे, न्याय सेवा आयोगका सचिव आलोकचन्द्र श्रेष्ठ र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कानुन सचिवको रूपमा कार्यरत फणीन्द्र गौतम यस आर्थिक वर्षमा अवकाशमा जाँदैछन् । घिमिरे यही साउन ५ गते (सोमबार), श्रेष्ठ साउन ८ गते र गौतम मङ्सिर १८ गते अनिवार्य अवकाशमा जान लागेको किताबखानाको रेकर्डमा छ ।
अनिवार्य अवकाशमा जाने एक जना सचिव कृषि सेवाका छन् । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव दीपक खराल चैत १२ गते अनिवार्य अवकाशमा जाँदैछन् ।
त्यस्तै अनिवार्य अवकाशमा जाने चार सचिव नेपाल इन्जिनियरिङ सेवाका छन् । इन्जिनियरिङ सेवाबाट अवकाशमा जाने सचिवहरूमा ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव सुरेश आचार्य, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा बिडारी, नेपाल ट्रष्टको कार्यालयका सचिव रामआधार साह र खानेपानी मन्त्रालयका सचिव प्रमिलादेवी बज्राचार्य छन् । आचार्य भदौ १५ गते, बिडारी चैत ९ गते अवकाशमा जाँदैछन् भने साह २०८३ वैशाख १ गते तथा बज्राचार्य २०८३ असार १७ गते अवकाशमा जाने किताबखानाको रेकर्डमा उल्लेख छ ।
अनिवार्य अवकाशमा जाने एक जना सचिव कृषि सेवाका छन् । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव दीपक खराल चैत १२ गते अनिवार्य अवकाशमा जाँदैछन् ।
अनिवार्य अवकाशमा जान लागेका बाँकी आठ सचिव सामान्य प्रशासन सेवाका छन् । यो आर्थिक वर्षमा अनिवार्य अवकाशमा जाने प्रशासन सेवाका सचिवहरूमा गण्डकी प्रदेशका प्रमुख सचिव खगेन्द्र सुवेदी, गृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय योजना आयोगका सचिव सुमनराज अर्याल, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रामप्रसाद घिमिरे, युवा तथा खेलकुद मन्त्रालयका सचिव हरिप्रसाद लम्साल, राष्ट्रिय तथ्याङ्क कार्यालयका सचिव मधुसूदन बुर्लाकोटी, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव कृष्णहरि पुस्कर र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव खगेन्द्रप्रसाद नेपाल छन् ।
किताबखानाको रेकर्ड अनुसार सुवेदी भदौ १८ गते, दुवाडी मङ्सिर १० गते, अर्याल माघ १९ गते, घिमिरे फागुन १० गते, लम्साल फागुन २४ गते अनिवार्य अवकाशमा जाँदैछन् । त्यसैगरी बुर्लाकोटी ०८३ असार २१ गते, पुस्कर असार २४ गते र नेपाल असार २८ गते अवकाशमा जादैछन् ।

- निजामती विधेयक पास भए लम्बिन्छ कार्यकाल
‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ अहिले प्रतिनिधिसभाले पास गरेर राष्ट्रियसभामा पठाएको छ । विधेयकमा निजामती कर्मचारीहरूको उमेर हद ५८ वर्षबाट बढाएर ६० वर्ष पुर्याउने उल्लेख छ । उमेर हद कार्यान्वयन पहिलो पटक एक वर्ष र त्यसपछि ६/६ महिना गरिने उल्लेख छ । त्यसो भएमा उमेर हदका कारण अवकाशमा जाने सचिवहरूको कार्यकाल एक वर्ष लम्बिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण