१२ बजे १२ समाचार: बलात्कार आरोपमा प्रदेश पूर्वप्रमुख पक्राउदेखि मन्त्री फेरबदल चर्चासम्म
काठमाडौँ । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–
आजका मुख्य समाचार बलात्कार आरोपमा प्रदेश पूर्वप्रमुख पक्राउ, मन्त्री फेरबदल, च्यासलमा ओली–विद्या ‘वान–टु–वान’ भेटवार्ता, शेखरको दौडधुप, लगायत छन् ।
१. बलात्कार आरोपमा प्रदेश पूर्वप्रमुख पक्राउ
मधेस प्रदेशका पूर्वप्रमुख राजेश झा (अहिराज) लाई प्रहरीले पक्राउ गरेको छ । बलात्कार आरोपमा उनलाई आइतबार काठमाडौँबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले रातोपाटीलाई बताए ।
२. बाढीको वितण्डा
गत असार २४ गते चीनबाट एक्कासि आएको बाढीले जलविद्युत् आयोजनाहरूमा पुर्याएको क्षतिको यकिन विवरण आउन अझै समय लाग्ने भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार जलविद्युत् आयोजनाहरूमा पुर्याएको क्षतिको यकिन विवरण अझै आउन बाँकी नै रहेको जनाएको छ ।
३. च्यासलमा ओली–विद्या ‘वान–टु–वान’ भेटवार्ता
नेकपा एमालेको मुख्यालय, च्यासलमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबिच आइतबार दुई घण्टासम्म ‘वान–टु–वान’ भेटवार्ता भएको छ । पूर्वराष्ट्रपति भण्डारीले आफू सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेपछि ओलीसँग पहिलो पटक पार्टी कार्यालयमै पुगेर छलफल गरेकी हुन् ।
४. शेखरको दौडधुप: नयाँ सत्ता गठबन्धन कति सम्भव ?
कांग्रेस नेता डा. शेखर कोइरालाले पछिल्लो समय राजनीतिक धौडधुप बढाएका छन् । खासगरी प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग उनको भेटलाई लिएर नयाँ सत्ता गठबन्धनको सम्भावनाबारे विश्लेषण हुन थालेको छ ।
५. मन्त्री हेरफेर चर्चा
सरकारमा मन्त्रीहरू हेरफेरको चर्चासँगै अन्य दलहरूमा पन त्यसको चहलपहल सुरु भएको छ ।
सरकारको नेतृत्व गरेको नेकपा (एमाले) ले मन्त्री हेरफेर गर्न थालेपछि सरकारमा रहेका अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालमा पनि मन्त्री फेर्ने विषयले चर्चा पाएको छ ।
६. ‘कुलिङ पिरियड’को विपक्षमा एमालेका पाँच सांसदको संशोधन प्रस्ताव
निजामती विधेयकमा ‘कुलिङ पिरियड’ सम्बन्धी प्रावधानमा चलखेल भएकोबारे चर्चा सेलाउन नपाउँदै सत्तारुढ दल नेकपा एमालेका पाँच सांसदले उक्त प्रावधानविरुद्ध संशोधन प्रस्ताव दर्ता गराएका छन् ।
७. कारबाहीविरुद्ध निर्वाचन आयोगमा पुगे राप्रपा नेता गिरी
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले बर्खास्त गरेका पार्टी उपाध्यक्ष मुकुन्दश्याम गिरी आफूमाथि अन्याय भएको उजुरी लिएर निर्वाचन आयोगमा पुगेका छन् । आइतबार केही नेताहरू लिएर गिरी निर्वाचन आयोगमा उजुरी दर्ता गराउन पुगेका हुन् ।
८. संवैधानिक परिषद् सम्बन्धी संशोधन विधेयक किन प्रमाणीकरण भएन ?
‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी पहिलो संशोधन विधेयक’ संघीय संसद्का दुवै सदनले पास गरेर पठाएको पाँच दिनसम्म पनि राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेका छैनन् । असार ३२ गते सभामुख देवराज घिमिरेले संशोधन विधेयक राष्ट्रपतिकहाँ पठाएका थिए । विधेयकका केही प्रावधानबारे राष्ट्रपतिले गम्भीरताका साथ चासो राखेको स्रोत बताउँछ ।
९. उपनिर्वाचनको कार्यतालिका सार्वजनिक
निर्वाचन आयोगले रुपन्देही–३ मा प्रतिनिधि सभा सदस्य पदका लागि हुन गइरहेको उपनिर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । कार्तिक १७ गते हुने उपनिर्वाचनका लागि असोज २१ गते उम्मेदवारको मनोनयन दर्ता हुने भएको छ ।
१०. चलचित्रमा नयाँ कलाकारको प्रभाव कति ?
नेपाली चलचित्रमा नयाँ कलाकार भित्रिँदै गएका छन् । नयाँ कलाकार भित्र्याउनु चुनौतीपूर्ण हुने भए पनि विभिन्न फिल्मका निर्माता–निर्देशकले नयाँ कलाकारलाई मुख्य भूमिकामा भित्र्याएका छन् । नेपाली फिल्ममा नयाँ कलाकारको अवस्था के छ भन्नेबारे रातोपाटीले तयार पारेको विशेष सामग्री–
११. अन्ततः प्रधानमन्त्री ओलीको भारत भ्रमण तय
अन्ततः प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण तय भएको छ । उनी सेप्टेम्बर १६ का दिन भारत जाने भएका हुन् । उनको भारत भ्रमण टुङ्गो नलागेको भन्दै लामो समयदेखि कूटनीतिक असफताका रूपमा चर्चा हुँदै आएको थियो ।
१२. आईसीसीको वार्षिक सम्मेलनमा एनपीएलको चर्चा
सिंगापुरमा जारी अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को वार्षिक सम्मेलनमा नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) बारे प्रस्तुति दिएको छ । सङ्घका सचिव पारस खड्काले सम्मेलनमा आईसीसीका सदस्य राष्ट्रहरूलाई एनपीएलबारे जानकारी दिएका हुन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण