बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

४ हजारभन्दा बढी दर्शकका बिच दुबईमा गुन्जिए कुमा सागर

सोमबार, ०५ साउन २०८२, ०६ : २६
सोमबार, ०५ साउन २०८२

सारांश

  • कुमा सागर र खोप ब्याण्डले दुबईमा प्रस्तुति दिँदै दर्शकलाई मन्त्रमुग्ध पारे।
  • कार्यक्रममा ४ हजार भन्दा बढी दर्शकको सहभागिता रहेको थियो, जसमा नेपाली समुदायको बाक्लो उपस्थिति थियो।
  • कार्यक्रममा कुमा सागरले नेपालीहरूको दुःख र संघर्षबारे भावनात्मक कुरा राखे।

काठमाडौँ । ४० डिग्रीको उखरमाउलो गर्मी । हलमा एसी जडान त थियो तर, थेगिनसक्नुको भिडका कारण राम्ररी काम गरिरहेको थिएन । असिनपसिन हुँदै कुमासागर गुन्जिँदै थिए–

ओ जाने भए जाऊ
ए माया अब धेरै नसताऊ
ओ तिम्रो त्यो चाल देखेर आज 
फुरफुरी लाग्यो लौ

जब उनले मञ्चमा ब्याण्डसहित आफ्नै शैलीमा प्रस्तुति दिन मात्र के थालेका थिए, समर्थकले उनको स्वागतमा चर्को हुटिङ हुन सुरु गरिहाले । यूएईको दुबईस्थित अल नासर लेजरल्याण्डको हलमा ४ हजार भन्दा बढी दर्शकको सहभागितामा आइतबार साँझ कुमा सागर र खोप ब्याण्डले धमकेदार प्रस्तुति दिएको हो । 

519644765_1452708782527258_6771264427644475568_n

गोर्खा साँझ सिजन ३ को उक्त प्रस्तुतिमा कुमा सागर पहिलो पटक दुबईमा गुञ्जिएका हुन् । उनको दुबईमा पहिलो प्रस्तुति भएर पनि होला उनका फ्यानहरू चर्को गर्मीका बिच कार्यक्रम हेर्न आइपुगेका थिए । 

कुमाले आफ्नो प्रस्तुतिका क्रममा हावाको लहर, ओ चम्पा, चमेलीको फूलसहित नेपाली सङ्गीत र धुनहरू सुनाएर दर्शकलाई मन्त्रमुग्ध बनाए । कुमा र उनको ब्याण्डले प्रस्तुति दिइरहँदा लगातार दर्शकहरूले साथ दिँदै माहौल तताइरहे । 

518470072_1786352608980517_9133912535099884690_n

प्रस्तुतिका क्रममा कुमा सागरले आफूहरू २ दिन दुबईमा रहँदा गर्मीले तर्सिएको उल्लेख गर्दै आफ्नो गुजाराका लागि कयौँ वर्ष पसिना बनाइरहेका नेपालीहरूलाई सम्मान गर्न चाहेको बताए । उनले रहर र खुसीका लागि पसिना बगाउनु नेपालीको बाध्यता भएको भन्दै भावनात्मक कुरा पनि गरे । यस्तै उनले नेवा संस्कृतिको पुनर्जन्ममा आफूहरू सङ्गीतमार्फत लागिपरेको पनि बारम्बार दोहोर्‍याइरहे । 

प्रस्तुतिका क्रममा कुमालाई ब्याण्डका कलाकारहरूमा शरद देउला, रोशन बज्राचार्य, सुमन गैडा, प्रवीण लाखु, रोशिक जाधरी, अमन माली, बीके प्रजापति, रोज महर्जन र रामसुन्दर धुसुले साथ दिएका थिए । 

522997751_1036024548614084_3765856166393283013_n

कुमाअघि डान्सर ममता राना मगर, लोक दोहोरी गायक मोहन खड्काले आफ्नो प्रस्तुति दिएका थिए । यस्तै दुबईमै रहेर सक्रिय कन्दरा ब्याण्डले पनि भरपुर मनोरञ्जन दिएको थियो । 

520554369_728064169997181_1809136269850624625_n

कार्यक्रम संयोजक भीम मल्ल ठकुरीले अघिल्लो संस्करण भन्दा भव्यरुपमा कार्यक्रम सम्पन्न भएको जानकारी दिँदै यसका लागि साथ दिने साथ दिने सबै सरोकारवालालाई धन्यवाद दिए । कार्यक्रमको उपसंयोजक अनिल गुरुङले आइतबारको कार्यक्रममा नेपाली समुदायको समर्थनले आफूहरू थप उत्साहित भएको बताए । 

कार्यक्रममा यूएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्री, एनआरएनए उपाध्यक्ष मनोज गोर्खाली, मध्यपूर्व संयोजक रमेश श्रेष्ठ, एनआरएनए यूएईका अध्यक्ष विकास शाहीका साथसाथै विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप