बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

लिभरपुलले फ्रान्कफर्टका स्ट्राइकर एकिटिकेलाई ६.९ करोड पाउन्डमा भित्र्याउँदै

सोमबार, ०५ साउन २०८२, २१ : ३७
सोमबार, ०५ साउन २०८२

सारांश

  • लिभरपुलले फ्रान्कफर्टका फरवार्ड हुगो एकिटिकेलाई ६९ मिलियन पाउन्डमा अनुबन्ध गर्ने सहमति जनायो।
  • एकिटिकेले स्वास्थ्य परीक्षणपछि ६ वर्षको अनुबन्धमा हस्ताक्षर गर्नेछन् र एसिया भ्रमण टोलीमा सामेल हुनेछन्।
  • यस सिजन लिभरपुलको ट्रान्सफर खर्च २५० मिलियन पाउन्डभन्दा बढी पुगेको छ।

काठमाडौँ । प्रिमियर लिग क्लब लिभरपुलले जर्मन क्लब आइन्ट्राख्ट फ्रान्कफर्टका फरवार्ड हुगो एकिटिकेलाई प्रारम्भिक ६९ मिलियन पाउन्डमा अनुबन्ध गर्न सहमति जनाएको छ। बाँकी १० मिलियन बोनससहित कुल ७९ मिलियन पाउन्डमा सम्झौता हुने तय भएको बीबीसीले जनाएको छ।

२३ वर्षीय फ्रान्सेली स्ट्राइकर एकिटिके मंगलबार बेलायत पुगेर स्वास्थ्य परीक्षण (मेडिकल) गर्ने र त्यसपछि क्लबसँग छ वर्षको अनुबन्धमा हस्ताक्षर गर्ने छन्। उनी यसै साताको अन्त्यतिर क्लबको एसिया भ्रमण टोलीमा सामेल हुने तयारीमा छन्।

यसअघि न्युकेसल युनाइटेडले ७० मिलियन पाउन्डको प्रस्ताव गरेका थिए, तर फ्रान्कफर्टले अस्वीकार गरेको थियो। लिभरपुलले भने न्युकेसलका स्ट्राइकर अलेक्ज्याण्डर इसाकप्रति पनि चासो देखाएको थियो।

पछिल्लो सिजन बुण्डेसलिगामा फ्रान्कफर्टलाई तेस्रो स्थानमा पुर्‍याउन योगदान दिएका एकिटिकेले ३१ खेलमा १५ गोल र ८ असिस्ट गरेका थिए। उनले ११७ पटक प्रहार गरेर सिजनमै सबैभन्दा बढी प्रहार गर्ने खेलाडी बनेका थिए।

२५० मिलियन पाउन्डभन्दा बढी खर्च

एकिटिकेको आगमनसँगै लिभरपुलको यो समर ट्रान्सफर विन्डोमा खर्च २५० मिलियन पाउन्ड नाघेको छ। यसअघि लिभरपुलले जर्मन स्टार फ्लोरियन वीर्ट्जलाई सम्भावित ब्रिटिस रेकर्ड ११६ मिलियन पाउन्डमा अनुबन्ध गरिसकेको छ।

त्यस्तै, डिफेन्डरहरू मिलोस केर्केज र जेरेमी फ्रिमपङ ७० मिलियन पाउन्डमा अनुबन्ध भएका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप