बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
केन्द्रीय कमिटी बैठक

नेतृत्वलाई एमाले केन्द्रीय सदस्यको प्रश्न : ७० वर्षे किन राखियो र किन हटाइयो ?

‘पूर्वराष्ट्रपति विद्या भण्डारी सम्मानित भएर बस्नुस्, यता नआउनुस्’
सोमबार, ०५ साउन २०८२, २२ : ०२
सोमबार, ०५ साउन २०८२

सारांश

  • नेकपा एमाले केन्द्रीय कमिटी बैठकमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक सक्रियताको विषयमा छलफल भयो।
  • बैठकमा ७० वर्षे उमेर हद र २ कार्यकाल हटाउने प्रस्तावमा अधिकांशले समर्थन जनाए।
  • केन्द्रीय सदस्यहरूले विधान संशोधन र पार्टी प्रवेशको विषयमा राजनीतिक निर्णय लिन जोड दिए।

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्कने घोषणाका बिच बसेको नेकपा एमाले केन्द्रीय कमिटी बैठकमा अधिकांश नेताहरूले मुख्यगरी तीन वटा विषयमा चासो प्रकट गरेका छन् । 

पहिलो- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक सक्रियता के हो ? 

दोस्रो- ७० वर्षे उमेर हद र २ कार्यकाल हटाउनु ठिक छ ।

तेस्रो- विधान संशोधन गर्दा ध्यान दिनुपर्छ । 

पार्टी कार्यालय च्यासलमा सोमबारबाट सुरु भएको पहिलो दिनको बैठकमा अधिकांशले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको बारेमा बाहिर विवाद गर्नुभन्दा राजनीतिक निर्णय गरेर चाँडो टुंगो लगाउनुपर्ने समान धारणा राखेका हुन् । 

पहिलो दिनको बैठकमा विधान संशोधन प्रस्तावमाथि धारणा राख्ने ४९ जनामध्ये अधिकांशले पार्टी विधानको धारा ६४ अन्तर्गतको व्यवस्था ७० वर्षे उमेर हद र २ वर्षे कार्यकाल हटाउने प्रस्तावलाई समर्थन जनाएका हुन् । 

पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पहिलो दिन धारणा राख्ने केन्द्रीय सदस्यहरूले सचिवालय र पोलिटब्युरो बैठकका प्रस्तावहरूमा सहमति जनाउँदै विधान संशोधनका सवालमा महत्त्वपूर्ण सुझावहरू दिएको बताए । 

बैठकमा उपाध्यक्ष विष्णु पौडेल र महासचिव शङ्कर पोखरेलले क्रमशः विधान संशोधन र साङ्गठनिक राजनीतिक प्रस्ताव प्रस्तुत गरेका गरेका थिए । त्यसपछि केन्द्रीय सदस्यहरूलाई छलफलका लागि बोल्न समय दिइएको थियो । 

‘केन्द्रीय सचिवालय र पोलिटब्युरोले प्रस्ताव गरेको सबै प्रस्तावहरूमा केन्द्रीय सदस्यहरूले सहमति जनाउँदै आफ्नो कार्यक्षेत्रसँग सम्बन्धित केही सुझाव पेस गर्नुभएको छ’, प्रचार विभाग गौतमले भने, ‘पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी प्रवेशको विषयलाई गम्भीरताका साथ लिइएको छ । केन्द्रीय सदस्यहरूले यस विषयमा राजनीतिक निर्णय गर्नुपर्नेमा जोड दिनुभएको छ ।’

अधिकांशले सदस्यले पोलिटब्युरो र सचिवालयबाट आएको प्रस्तावको समर्थन गर्दै पूर्व राष्ट्रपति सक्रिय राजनीतिमा फर्किनुहुन्न र उमेर हद हटाउनुपर्छ भने पनि केन्द्रीय सदस्य रमेश पौडेल र रचना खड्कालगायत केहीले त्यो विषयमा प्रवेश नै गरेनन् । 

अर्का केन्द्रीय सदस्य कृष्ण केसी र धर्मदत्त देवकोटाले ७० वर्षे उमेर हद पहिला किन राखियो र अहिले किन हटाइयो ? भन्दै नेतृत्वलाई प्रश्न गरे । 

केसीले वरिष्ठ उपाध्यक्ष पद हटाउनुको कारण पनि खोजे । ‘वरिष्ठ उपाध्यक्ष के कारणले हटाएको ? कारण दिनुपर्दैन ?’, बैठकमा केसीको भनाई उद्धृत गर्दै एक सदस्यले भने–  ‘जुनसुकै निर्णय गर्दा पनि त्यसको चित्तबुझ्दो कारण हुनुपर्छ ।’

अर्का केन्द्रीय सदस्य विष्णु रिजालले विधान महाधिवेशनको व्यवस्था नै खारेज गर्नुपर्ने धारणा राखे । ‘राष्ट्रिय महाधिवेशनबाटै विधानबारे छलफल गर्नुपर्छ । राष्ट्रिय परिषद् गठन गर्नुपर्छ । पूर्वराष्ट्पति भएको व्यक्ति राजनीतिमा आउनुहुन्न’,रिजालको भनाइ थियो । 

केन्द्रीय सदस्य सरोज यादव कोषाध्यक्षको व्यवस्था गर्नुपर्ने धारणा राखे भने घनश्याम पाण्डेले ५ जनाको पदाधिकारी बनाउनुपर्ने सुझाव दिए । उनले १५ सदस्यीय स्थायी कमिटी र र १५१ केन्द्रीय सदस्यको कमिटी बनाए चुस्त हुने बताए । 

बैठकको सुरुमा अध्यक्ष केपी शर्मा ओलीले आइतबार पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीसँग भएको छलफलबारे जानकारी गराएका थिए । ‘तपाई सम्मानित भएर बस्नुस्, यता नआउनुस् मैले पोलिटब्युरो बैठकमा जे भनेको थिएँ, उहाँसँगको भेटमा पनि त्यही भनेको छु’, ओलीको भनाई उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने– ‘उहाँले जवाफ दिइसक्नुभएको छैन, जवाफ आउन बाँकी छ ।’

बैठकमा प्रत्येक केन्द्रीय सदस्यलाई तीन/तीन मिनेट बोल्ने समय छुट्टाइएको एमालेले जनाएको छ । सोमबारको बैठकमा कृष्ण थापा, राजीव पहारी,प्रभा बराल,तिलक महत,बालकृष्ण काउछा,गोविन्द नेपाली, सूर्य पाठक, रविन्द्र अधिकारी, रामशरण बस्नेत, पदम गिरी, केदार सिग्देल, सम्झना देवकोटा, कल्पना चापागाईँ, दिवाकर देवकोटा, हरि उप्रेती, प्रतीक्षा तिवारी, प्रभु हजारा, अरविन्द सिंह, सरोज यादव, रमेश पौडेल, कल्पना थापा, श्याम बस्नेत, पासाङ शेर्पा, विष्णु रिजाल, नीरज आचार्य, विद्या भट्टराई लगायतले धारणा राखेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

रातोपाटीका रिपोर्टिङ प्रमुख फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप