विद्याबारे राजनीतिक निर्णय गर्दै बैठक समापन गर्ने एमालेको तयारी
सारांश
- एमालेका केन्द्रीय सदस्यहरूले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबारेको विवाद समाधान गर्न नेतृत्वलाई सुझाव दिएका छन्।
- अधिकांश सदस्यहरूले भण्डारीलाई पार्टी राजनीतिमा फर्काउन नहुने र अध्यक्ष ओलीकै नेतृत्वमा अघि बढ्नुपर्ने धारणा राखेका छन्।
- बैठकमा विधान संशोधन प्रस्ताव र पार्टीको सांगठनिक प्रतिवेदन पेश हुनुका साथै भण्डारीबारे निर्णय लिने तयारी छ।
काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्यहरूले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबारे बादविवाद बढ्दै जाँदा पार्टीले क्षति बेहोर्न सक्ने भन्दै तत्काल निर्णयमा पुग्न नेतृत्वलाई दबाबसहितको सुझाव दिएका छन् ।
सोमबार सुरु भएको केन्द्रीय कमिटीको नवौँ बैठकमा धारणा राख्ने अधिकांश केन्द्रीय सदस्यहरूले भण्डारीलाई राष्ट्रपतिमा पठाउँदा पार्टीले राजनीतिक निर्णय गरेर पठाएको भन्दै अहिले पनि राजनीतिक निर्णय गरेर टुङ्गोमा पुग्नुपर्ने धारणा राखेका हुन् ।
पहिलो दिनको बैठकमा धारणा राख्ने ४९ जना केन्द्रीय सदस्यमध्ये ९५ प्रतिशत सदस्यहरूले विद्याको सक्रियताबारे चासो देखाउँदै यस विषयमा अलमल गर्न नहुने बताएका हुन् ।
उनीहरुले पूर्वराष्ट्रपति पार्टी राजनीतिमा आउन नहुने र मिसन ०८४ मा अध्यक्ष ओलीकै नेतृत्वमा जाने पार्टीको यसअघिको निर्णयलाई कार्यान्वयनमा लैजानुपर्ने धारणा राखेको केन्द्रीय सदस्य नीरज आचार्यले जानकारी दिए । ‘पहिलो दिनको बैठकमा धारणा राख्ने ४९ जना मध्ये ४६ जनाले अध्यक्ष ओलीको निरन्तरताको माग गरेका छन्’, आचार्यले भने, ‘हामीले अवलम्बन गरेको गणतन्त्रमा राष्ट्रपतिको पद केवल कर्मकाण्डी औपचारिकता मात्र होइन—यो गणतन्त्रको गौरवको प्रतीक हो, सिङ्गो राजनीतिक प्रणालीको गजुर हो’, आचार्यले भने, ‘कुनै पनि व्यक्ति त्यस्तो शिखरमा पुगी फेरी ओर्लिएर पुनः दलगत राजनीतिमा फर्कनु गणतन्त्रको संस्कार र पद्धति हैन ।’
केन्द्रीय कमिटीअन्तर्गत मंगलबार दोस्रो दिन पनि केन्द्रीय सदस्यहरूले बोल्ने क्रम सकिएपछि आजै बैठक समापन गर्ने तयारी छ ।
एमाले प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार सोमबार गण्डकी,मधेस र सम्पर्क समन्वय कमिटीबाट प्रतिनिधित्व गर्ने ४९ जना केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राखेका छन् । पार्टीको सचिवालय र पोलिटब्युरो बैठकले पारित गरेर केन्द्रीय कमिटीमा पठाएको विधान संशोधन सम्बन्धी प्रस्तावमाथि मंगलबार बाँकी केन्द्रीय सदस्यहरूले धारणा राख्ने कार्यसूची छ । बैठकमा धारणा राख्न एक केन्द्रीय सदस्यलाई बढीमा तीन मिनेटको समय उपलब्ध गराइएको छ ।
पार्टी सचिवालय र पोलिटब्युरो बाहेकका सदस्यहरूले मात्र बैठकमा धारणा राख्न पाउनेछन् । उपल्लो कमिटीले आफ्ना आफ्ना कमिटीमा धारणा राखिसकेकोले केन्द्रीय कमिटी बैठकमा उनीहरूलाई समय उपलब्ध नगराइएको प्रचार विभाग प्रमुख गौतमको भनाइ छ ।
पहिलो दिनको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग आइतबार भएको भेटघाट,समसामयिक राजनीतिक विषयवस्तु र सकारको एकवर्षे कार्यकालको उपलब्धि बैठकलाई जानकारी गराएका छन् ।
बैठकमा उपाध्यक्ष विष्णु पौडेलले सचिवालय र पोलिटव्यूरोबाट पारित भएको विधान संशोधन सम्बन्धी प्रस्ताव र महासचिव शङ्कर पोखरेलले साङ्गठनिक प्रतिवेदन पेस गर्दै पार्टीमा २८ प्रतिशत सदस्य वृद्धि भएको जानकारी दिएका छन् ।
गौतमका अनुसार बोल्ने नेताहरूले बोल्ने क्रम सकिएपछि भण्डारीबारे उचित निर्णय गर्ने समसामयिक प्रस्तावसहितको घोषणा पत्र सार्वजनिक गर्दै बैठक समापन गर्ने तयारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिक ठगिको आरोप : छानबिनको राडारमा द–रिभर ओभरसिज
-
सुनिल पौडेलसहित १८ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ
-
अमेरिकी सैन्य अखडामा इरानको जवाफी आक्रमण, खामेनेईको अन्त्येष्टिको तयारी
-
६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त
-
फेसबुक ह्याक गरी आफन्त बनेर रकम ठगी गर्ने आरोपमा एक जना पक्राउ
-
‘नेपाल विशेष सेवा ऐनमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण