बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
निर्माणाधीन संसद् भवन

संसद् भवनको म्याद ‘चुपचाप’ पाँचौँ पटक थपियो

मङ्गलबार, ०६ साउन २०८२, १६ : ४१
मङ्गलबार, ०६ साउन २०८२

सारांश

  • सिंहदरबारमा निर्माणाधीन संघीय संसद भवनको निर्माण समयमा नसकिएपछि पाँचौँ पटक म्याद थप गरिएको छ।
  • शहरी विकास मन्त्रालयले पुस १६ गतेसम्मका लागि म्याद थप गरेको छ, र तोकिएको समयमा काम नसके कानुनी कारबाही हुने चेतावनी दिएको छ।
  • भवन निर्माणको ठेक्का २०७६ सालमा भएको थियो, र कोभिड महामारी लगायतका कारणले निर्माण कार्यमा ढिलाइ भएको हो।

काठमाडौँ । सिंहदरबार परिसरमा निर्माणाधीन सङ्घीय संसद् भवन समयमा नसकिएपछि पाँचौँ पटक म्याद थप गरिएको छ । 

मंगलबार शहरी विकास मन्त्रालयका सहसचिव दिलिप भण्डारीले आगामी पुस १६ गतेसम्मका लागि म्याद थप गरेको जानकारी दिएका छन् । 

‘सहरी विकास मन्त्रालयले यसै आर्थिक वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखे पनि काम नसकिएपछि म्याद थप गरी पुस मसान्तसम्म पुर्‍याइएको छ,’ उनले भने,‘ उक्त अवधिसम्म काम सम्पन्न हुने आशा छ ।’ यो  ढिलाइ हुनुमा विभिन्न कानुनी प्रक्रिया र निर्माण व्यवसायीको भूमिका रहेको उनको तर्क छ ।

‘निर्माण व्यवसायीले थप समयमा काम नगरेमा कानुनी प्रक्रिया अपनाएर कारबाही गर्नुपर्ने हुन्छ, उनले भने, ‘अबदेखि निर्माण व्यवसायीलाई कुनै पनि बहानामा छुट दिइने छैन । मन्त्रीज्यूबाट पनि एकदम क्लियर निर्देशन आइसकेको छ । अब यो अवधिभित्र सम्पन्न गरेन भने कानुनी बाटोबाट जाने बुझाइ छ ।’

मन्त्रीस्तरबाटै यस विषयमा स्पष्ट निर्देशन आइसकेको र थपिएको म्यादभित्र पनि काम सम्पन्न नभए कानुनी कारबाही अगाडि बढाइने मन्त्रालयले चेतावनी दिएको जानकारी दिए ।

यो भवन २०७६ असोज १ गते शिलान्यास भएको १५ दिनपछि अर्थात् असोज १६ गते निर्माणका लागि आईसीबी (बहुवर्षीय) मोडलमा ठेक्का सम्झौता भएको थियो । तीन वर्षमा निर्माण सम्पन्न गर्ने गरी टुन्डी सेक जेभीसँग उक्त सम्झौता भएको हो ।

प्रारम्भिक सम्झौता अनुसार २०७९ असोज १६ गते निर्माण सम्पन्न हुनुपर्नेमा कोरोना महामारीका कारण ढिलाइ भएको भन्दै पहिलोपटक उक्त ठेक्काको म्याद थपियो । ६ महिना म्याद थप गरिएपछि निर्माण सम्पन्न गर्नुपर्ने म्याद २०८० वैशाख १४ गते कायम भएको थियो ।

पहिलोपटक म्याद सकिँदा निर्माण सम्पन्न नभएपछि कुनै पनि कारणविना दोस्रो पटकका लागि फेरि ६ महिना म्याद थप गरिएको थियो । यसपछि म्याद थपेर २०८० साल असोज १६ गते पुर्‍याइएको थियो । यो अवधिसम्म जम्मा ६० प्रतिशत प्रगति भएको थियो ।

तेस्रो पटक २०८० असोज २० गतेदेखि सोही वर्षको चैत १९ गतेसम्म म्याद थपिएको थियो । चौथो पटक थपिएको म्याद अनुसार २०८१ चैत १८ गतेसम्म निर्माण सम्पन्न गर्नुपर्ने थियो ।

तर, सो अवधिमा सम्पन्न हुन नसकेपछि गत असारको दोस्रो साताबाट आगामी पुस १६ गतेसम्मका लागि म्याद थप गरिएको शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मचाकाजी महर्जनले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप