बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
स्वास्थ्य/ जीवनशैली

किन खेर जान्छ गर्भ ? कसरी रोक्ने ?

शुक्रबार, ०९ साउन २०८२, ०८ : २५
शुक्रबार, ०९ साउन २०८२

सारांश

  • गर्भ खेर जानु विभिन्न कारणले महिलाको लागि पीडादायी हुन सक्छ।
  • गर्भपतन रोक्न नसकिए पनि, विशेषज्ञको सल्लाह र स्वस्थ जीवनशैलीले जोखिम कम गर्न सकिन्छ।

काठमाडौँ । गर्भधारण गर्नु हरेक महिलाका लागि एक सुखद अनुभव हो । तर विभिन्न कारणले गर्भ खेर जाँदा त्यो खुसी पीडामा बदलिन सक्छ । 

परोपकार तथा प्रसूति अस्पतालका निर्देशक डाक्टर श्रीप्रसाद अधिकारीका अनुसार केही सावधानी अपनाउने र सही समयमा परामर्श लिने हो भने अनिच्छित गर्भपतन अर्थात् गर्भ खेर जाने जोखिमलाई धेरै हदसम्म कम गर्न सकिन्छ । 

अधिकारीका  अनुसार गर्भ रहेको २८ हप्ताभित्र बच्चा खेर जाने अवस्थालाई गर्भपतन भनिन्छ । यो आफैँ प्राकृतिक रूपमा पनि हुन सक्छ । जसलाई ‘स्पोन्टेनियस एबोर्स’ भनिन्छ । निर्देशक डा.अधिकारीका अनुसार गर्भ खेर जानुमा विभिन्न शारीरिक, आनुवंशिक तथा जीवनशैलीसँग सम्बन्धित कारणहरू हुन सक्छन् । 

निर्देशक डा. अधिकारीका अनुसार सबै प्रकारका गर्भपतनलाई रोक्न नसकिए पनि सही जानकारी पूर्व सावधानी अपनाएर र चिकित्सकसँगको नियमित सम्पर्कले धेरै हदसम्म जोखिम कम गर्न सकिन्छ । त्यसैले गर्भधारणको योजना बनाउँदा र गर्भ रहेको थाहा पाउनासाथ विशेषज्ञको सल्लाह लिनु नै सबैभन्दा सुरक्षित र उत्तम उपाय हो ।

अनिच्छित गर्भपतन हुनुका कारण

आमाको स्वास्थ्य अवस्थाले पनि अनिच्छित गर्भपतन हुनुमा सहयोग छ ।  हर्मोनको असन्तुलन भई थाइरोइड जस्ता हर्मोनसम्बन्धी समस्याले गर्भ खेर जाने जोखिम बढाउँछ ।

गर्भवतीमा दीर्घरोगहरूः मधुमेह, उच्च रक्तचाप, मिर्गौला वा मुटुसम्बन्धी पुराना रोग भएका महिलाले विशेष सावधानी अपनाउनुपर्छ । कुनै रोगका लागि लामो समयदेखि औषधिको सेवन गरिरहेकाले साइड (इफेक्ट)ले पनि गर्भमा असर पार्न सक्छ ।

पाठेघरको बनावटमा समस्याः केही महिलाको पाठेघर जन्मजात रूपमा दुई भागमा बाँडिएको (बाइकोर्नुएट यूटेरस) वा बीचमा पर्दा (सेप्टेट यूटेरस) भएको हुन सक्छ । यस्तो अवस्थामा बच्चा राम्ररी बस्न र विकास हुन नपाएर खेर जाने सम्भावना हुन्छ ।

 आनुवंशिक (जेनेटिक) कारणः विशेषगरी पहिलो तीन महिनामा खेर जाने गर्भको मुख्य कारण भु्रणमा देखिने क्रोमोजोमल गडबडी हो । शुक्रकीट वा अण्डामा कुनै आनुवंशिक समस्या भएमा शरीरले आफैँ अस्वस्थ भु्रणलाई फाल्न खोज्छ ।

जीवनशैली र शारीरिक परिश्रमः धूम्रपान र मद्यपान गर्ने बानीले गर्भमा सिधा असर गर्छ ।   गर्भावस्थामा गरिने अत्यधिक शारीरिक परिश्रम, भारी सामान उठाउने वा कठिन काम गर्दा पनि जोखिम बढ्छ । 

अनिच्छित गर्भपतनको जोखिम कम गर्न के गर्ने ?

अनिच्छित गर्भ खेर जाने जोखिमलाई निम्न उपायहरू अपनाएर कम गर्न सकिने डा. अधिकारी बताउँछन् । 

गर्भ योजना बनाउनुअघि परामर्श लिनुपर्छ । गर्भको योजना बनाउनुअघि दम्पतीले नै डाक्टरसँग परामर्श लिनु सबैभन्दा उपयुक्त हुन्छ । यसले भविष्यमा हुन सक्ने जोखिम पहिचान गरी समाधान खोज्न सहयोग मिल्छ । 

स्वास्थ्य समस्याको समयमै उपचार गर्नपर्छ । यदि थाइरोइड, मधुमेह वा अन्य कुनै दीर्घ रोग छ भने गर्भधारण गर्नुअघि नै त्यसलाई नियन्त्रणमा राखिसक्नुपर्छ । 

औषधि सेवनमा सावधानी अपनाउनुपर्छ । गर्भावस्थामा डाक्टरको सल्लाहविना कुनै पनि औषधि सेवन गर्नु हुँदैन । यदि कुनै औषधि सेवन गरिरहनुपरे त्यसको जानकारी आफूलाई जाँच गर्ने डाक्टरलाई भन्नुपर्छ । 

स्वस्थ जीवनशैलीमा सजकता उनाउनुपर्छ । धूम्रपान मद्यपान आदि जस्ता कुलतबाट टाढा रहने र सन्तुलित खानपानमा ध्यान दिनुपर्छ । यस्तै गह्रुँगो काम गर्न हुँदैन । गर्भावस्थाको समयमा शरीरलाई धेरै बल पर्ने र थकाउने कामहरू गर्न हुँदैन । 

सचेत हुनुपर्छ गर्भावस्था यस्ता लक्षण देखिए  

गर्भावस्थामा खतराका लक्षणबारे यस्तो देखिएमा सचेत हुनुपर्छ । पेट दुख्ने, रगत देखिने जस्ता कुनै पनि असामान्य लक्षण देखापरे तत्काल स्वास्थ्य संस्थामा पुग्नुपर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप