बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

बीमाको ९ करोड धुत्न डाक्टरले काटे आफ्ना दुवै खुट्टा

शुक्रबार, ०९ साउन २०८२, ११ : ५३
शुक्रबार, ०९ साउन २०८२

सारांश

  • बेलायतमा एक शल्य चिकित्सकले बीमा दाबी गर्न जानाजानी खुट्टा काटेको आरोप लागेको छ।
  • डाक्टरले ५ लाख पाउन्ड दाबी गर्न सेप्सिसको कारण खुट्टा गुमाएको बताएका थिए, तर अनुसन्धानले झुटो साबित गर्यो।
  • उनले चरम शारीरिक परिमार्जन गिरोहलाई समर्थन गरेको र अरूलाई शारीरिक हानि पुर्याउन प्रेरित गरेको आरोप पनि लागेको छ।

लन्डन । बेलायतमा एक जना शल्य चिकित्सकमाथि निकै चकित पार्ने आरोप लागेको छ । अदालतमा ४९ वर्षीय डा. नील हपर बीमा दाबी गर्न जानाजानी आफ्ना दुवै खुट्टा काटेको बताइएको छ । 

डाक्टरमाथि गम्भीर आपराधिक आरोप पनि लागेको छ भने उनको चिकित्सा दर्ता निलम्बन गरिएको छ । कर्नवालको त्रुरोका होपरले आफ्नो खुट्टा काट्नु अघि सयौँ बिरामीको खुट्टा काट्ने अपरेसन गरेका थिए । 

अदालतमा प्रस्तुत गरिएका प्रमाणका अनुसार डा. हपरले आफ्नो बीमा पोलिसी अन्तर्गत करिब पाँच लाख पाउन्ड (९ करोड ३८ लाख रुपैयाँ) पाउन शल्यक्रिया गरेर आफ्ना दुवै खुट्टा काटेर फ्याकेका थिए । 

यसपछि उनले दुई बीमा कम्पनीहरू एरिवा ग्रुप र ओल्ड म्युचुअलबाट क्रमशः २ लाख ३५ हजार ६२२ पाउन्ड र २ लाख ३१ हजार ३१ पाउन्ड दाबी गर्ने योजना बनाएका थिए । रगतको सङ्क्रमण अर्थात् सेप्सिस भन्ने रोगका कारण आफ्नो खुट्टा गुमाउनु परेको दाबी उनले गरेका थिए । 

अनुसन्धानको क्रममा हपरले ‘द युनच मेकर’ नामक वेबसाइटबाट अंग काट्ने सम्बन्धी भिडियोहरू किनेको पाइयो । चरम शारीरिक परिमार्जन गिरोह चलाउने मारियस गुस्ताभसनलाई अरूको शरीरका अङ्गहरू काट्न उक्साएको र समर्थन गरेको आरोप पनि उनीमाथि छ । यो आरोप २०१८ देखि २०२० सम्मका घटनाहरूसँग सम्बन्धित छन् । 

हपरमाथि आफूलाई हानि पुर्‍याएको आरोप त छ नै जानाजानी अरूलाई शारीरिक हानि पुर्याउन प्रेरित गरेको पनि भनिएको छ । उनीविरुद्ध ‘गम्भीर शारीरिक हानि पुर्याउन सहयोग गरेको वा प्रोत्साहन गरेको मुद्दा पनि चलिरहेको छ । प्रहरीको सोधपुछ र प्रमाणको आधारमा मुद्दाको सुनुवाइ अगाडि बढाइएको छ । 

हपरले २०१३ देखि रोयल कर्नवाल अस्पताल एनएचएस ट्रस्टमा सेवा गरेका थिए । २०२३ को मार्चमा पक्राउ परेपछि अस्पतालले उनलाई निलम्बन गरिदियो । अस्पताल व्यवस्थापनले उनीविरुद्ध लगाइएका आरोपहरूको उनको व्यावसायिक व्यवहारसँग कुनै सम्बन्ध नभएको र अहिलेसम्म बिरामीहरूको सुरक्षामा कुनै खतरा नदेखिएको स्पष्ट पारेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप