शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
विद्याकाे पत्रकार सम्मेलन

विद्याको प्रेसमिटपछि एमालेले भन्यो– शालिन र भद्र प्रस्तुति, जिम्मेवारी बिर्सनुभो !

शुक्रबार, ०९ साउन २०८२, १८ : ०६
शुक्रबार, ०९ साउन २०८२

सारांश

  • पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले एमालेमै रहेको र पार्टी सदस्यता कसैले खोस्न नसक्ने बताइन्।
  • एमालेले भण्डारीको प्रस्तुतिलाई 'शालिन र भद्र' भन्दै टिप्पणी गरेको छ, तर उनले आफ्नो जिम्मेवारी बिर्सेको पनि बताएको छ।
  • भण्डारीले आफू एमालेमा फर्किएर राजनीतिमा सक्रिय रहने र देश तथा जनताको सेवा गर्ने बताइन्।

काठमाडौँ । एमालेको पूर्वउपाध्यक्ष समेत रहेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पत्रकार सम्मेलनमार्फत आफू एमालेमै रहेको र आफ्नो पार्टी सदस्यता कसैले खोस्न नसक्ने बताएपछि एमालेले उनको स्टेटमेन्ट र प्रस्तुतिलाई ‘शालिन र भद्र’ भनेर टिप्पणी गरेको छ ।

भण्डारीले शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै आफ्नो सदस्यताबारे पार्टीले गरेको निर्णयलाई आवेग, उत्तेजना र कसैको लहडको निर्णयको अर्थ नरहेको दाबी गर्दै आफ्नो सदस्यता कसैले खोस्न नसक्ने जिकिर गरेकी थिइन् ।

‘मैले एमालेमा सदस्यता नवीकरण गरिसकेको छु । म अहिले पनि एमालेमै आबद्ध छु,’ भण्डारीले पछिल्लो समय पनि विधिपूर्वक नै सदस्यता नवीकरण गरेर पार्टीमा पुनः जोडिएको बताएकी थिइन् ।

भण्डारीले एमालेमा आफ्नो ठुलो योगदान रहेकाले आफ्नो सदस्यता कसैले खान नसक्ने बताएकी थिइन् । ‘मैले पार्टी सदस्यता लिएको ४५ वर्ष भयो । कसैलाई लाग्दैमा मेरो सदस्यता खान सक्दैन र त्यो संविधान अनुसार पनि हुँदैन ।’

तत्कालीन समय कोशी सगरमाथा इन्चार्ज रहेका मदन भण्डारीसँग आफूले पार्टी सदस्यताको शपथ लिएको स्मरण गर्दै भण्डारीले जननेता मदन भण्डारीले समृद्ध नेपाल सुखी नेपाली कसरी बनाउन सकिन्छ भनेर जनताको बहुदलीय जनवाद कार्यक्रम ल्याएको बताउँदै त्यसैको आदर्श र मर्मअनुसार अगामी दिनमा पनि पार्टीमा काम गर्ने दोहोर्‍याइन् ।

एमालेको नारा, मदनको तस्बिर,सुर्य चिह्न रहेको ब्यानर मुनी बसेर आफ्नो सदस्यता कसैले खान नसक्ने भण्डारीको दाबीबारे एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले अत्यन्त शालिन, भद्र तर जिम्मेवारी भुलेको बताए ।  

‘पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जे स्टेटमेन्ट राखेर सम्बोधन गर्नुभयो । त्यो स्टेटमेन्ट र प्रस्तुति अत्यन्तै शालिन, भद्र र प्रस्तुतिका हिसाबमा धेरै राम्रो छ । हामी त्यसलाई ग्रहण गर्छौ’, गौतमले रातोपाटीसँग भने, ‘तर उहाँ सामान्य नागरिक होइन । उहाँले म पूर्वराष्ट्रपति हुँ भन्ने कुरा भुलेको देखियो ।’

विद्यादेवी भण्डारी भन्ने पूर्वपार्टीको उपाध्यक्ष वा कोही मानिसको एमालेले सदस्यता नवीकरण नगरेको भन्ने विषयसँग नमिल्दो रहेको पनि गौतमको भनाइ छ ।

‘उहाँले म पूर्वराष्ट्रपति हुँ, सात सात वर्ष राष्ट्रपति भएको, देशको सर्वोच्च पदमा बसेको, साझा व्यक्तित्व, संविधानको पालनाकर्ता र संरक्षणकर्ता भन्ने कुरा बिर्सिनुभयो’, गौतमले भने, ‘यदि उहाँ सामान्य नागरिक मात्र भएको भए यो विषयमा छलफल नै हुँदैन थियो । उहाँलाई केन्द्रीय कमिटीबाट सदस्यता नवीकरण गर्न अभ्यास र परम्पराले पनि मिल्दैन त्यसैले उहाँले आफ्नो जिम्मेवारी भुल्नुभयो ।’

तर भण्डारी आफ्नो पत्रकार सम्मेलनमा आफ्नो पार्टी सदस्यता नवीकरण भइसकेकाले यसलाई विवादमा पार्नुपर्ने विषय नभएको दाबी गरिन् ।

‘म एक राजनीतिक व्यक्ति भएकाले नै राष्ट्रपति निर्वाचित भएको र राष्ट्रपतिको जिम्मेवारी पूरा गरेर राजनीतिक दलमा आबद्ध बनी देश र जनताको सेवा गर्ने सङ्कल्प गर्नु कुनै अनौठो र आश्चर्य मान्नुपर्ने विषय होइन’, भण्डारीले पछि नहट्ने प्रस्ट पार्दै भनिन्, ‘यो संवैधानिक अधिकार मात्र होइन, बरु म  राजनीति गरेर, पार्टीको नेता भएर नै राष्ट्रपतिमा निर्वाचित भएको हुँ र आफ्नो बाँकी जीवन पनि राजनीतिमा लगाएर नै देश र जनताको सेवामा समर्पित हुने निर्णयमा पुगेको हुँ ।’

आफूमा कुनै पदप्रति लालसा, महत्त्वाकाङ्क्षा र आशक्ति नरहेको भन्दै राष्ट्रकै सर्वोच्च पदमा पुगेर इतिहासमा आफ्नो नाम दर्ज गरिसकेकै बताइन् । ‘मेरो उद्देश्य भनेको पार्टीको सदस्य बन्ने, पार्टीलाई सबल, सुदृढ र एकताबद्ध बनाउने र राजनीति मार्फत देश र जनताको सेवा गर्ने नै हो’, उनले भनिन्, ‘अनि मुलुक र जनतालाई समृद्ध र सुखी बनाउने अभियानलाई अगाडि बढाउने नै हो ।’

भण्डारीले नेपालको संविधानले आस्थाको अधिकार र राजनीतिक दलमा आबद्ध हुने अधिकारलाई मौलिक हकको रूपमा प्रत्याभूति गरेको छ स्मरण गर्दै संविधानका विभिन्न धारा, मर्म र भावना कहीँ कतैबाट पनि आफू दलमा आबद्ध भएर राजनीतिमा संलग्न हुन नसक्ने नलेखिएको बताइन् ।

‘यो घाम जत्तिकै छर्लङ्ग भएको विषय हो । जनताको बहुदलीय जनवादले संवैधानिक सर्वोच्चता र विधिको शासनलाई गहिरोसँग आत्मसात् गरेको सन्दर्भमा यस सिद्धान्तको प्रतिकूल हुने गरी पार्टी सदस्य हुनबाट मलाई वञ्चित गर्नुपर्ने कुनै कारण छैन’, भण्डारीको भनाइ छ ।  

जबकि यसअघि नेकपा एमालेले संविधानको धारा उपधारा देखाउँदै भण्डारी सक्रिय राजनीतिमा आउन नमिल्ने भन्दै सदस्यता नरहने निर्णय गरेको थियो ।

भण्डारीले पार्टीले आफ्नो सदस्यताबारे गरेको भनिएको निर्णयलाई आवेग र उत्तेजनाका भरमा गरिएको तर्क गरिन् ।  ‘यस्ता निर्णयले सत्यलाई अस्थायी रूपमा भ्रमित तुल्याउन सकिएता पनि वास्तविकतालाई सधैँ छोप्न सकिँदैन’, भण्डारीले पत्रकार सम्मेलनमा जारी विज्ञप्तिमा भनेकी छन्, ‘ वृहत छलफल गरिकन विवेकसम्मत ढङ्गले निर्णय लिनु पर्दछ भन्ने जबजको पार्टी निर्माणसम्बन्धी अवधारणाको मर्म पनि यही हो । पार्टी निर्माणसम्बन्धी जनवादी केन्द्रीयताको वैज्ञानिक सिद्धान्त प्रतिकूल हुने गरी गरिएको निर्णय वैध र परिपक्व हुनै सक्दैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

रातोपाटीका रिपोर्टिङ प्रमुख फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप