बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

नदीनाला उपयोग गर्ने योजना बनाउनुको साटो सरकार विदेशीको हातमा सुम्पन तँछाडमछाड गर्दैछ : भीम रावल

शनिबार, १० साउन २०८२, २० : ५८
शनिबार, १० साउन २०८२

सारांश

  • डा. भीम रावलले सरकार नदीनालाको दीर्घकालीन उपयोग योजना बनाउन असफल भएको आरोप लगाए।
  • उनले खडेरीका कारण मधेश प्रदेश लगायत अधिकांश भूभाग प्रभावित भएको बताए।
  • रावलले नदीनाला विदेशीलाई सुम्पने कार्य रोक्न र दीर्घकालीन योजना बनाउन माग गरे।

काठमाडौं । मातृभूमि जागरण अभियान नेपालका संयोजक तथा पूर्वउपप्रधानमन्त्री डा. भीम रावलले सरकार नेपालका नदीनालाहरुको दीर्घकालीन उपयोग गर्ने योजना बनाउन असफल भएको आरोप लगाएका छन् ।

शनिबार एक विज्ञप्ति जारी गर्दै उनले देश अहिले खडेरीको गम्भीर संकटमा रहेको बताए । जसबाट विशेषगरी मधेश प्रदेश अत्यधिक प्रभावित भएको उनले बताए ।  तर समग्रमा तराई मात्र नभइ नेपालको अधिकांश भूभागमा समेत पर्याप्त वर्षा नहुँदा रोपिएको धान सुक्न थालेको र खेतीयोग्य जमिन बाँझिन थालेको उनको भनाइ छ । 

'यसबाट स्पष्ट हुन्छ कि खानेपानी र सिंचाईका लागि आफ्नै खोलानालाहरुको सदुपयोग गर्नु अनिवार्यता हो,' रावलले भने, 'पानीको चरम अभाव खेपिरहेका क्षेत्रमा नेपालका नदीनाला उपयोग गर्ने योजना बनाउनुको साटो विदेशीको हातमा सुम्पन तँछाडमछाड गर्ने अनि खडेरीबाट पीडित मधेश प्रदेशमा घर र पुलको उद्घाटन गरी त्यहाँ नाम लेखाउन गएको बेला ५०० भूमिगत पानी प्रयोग आयोजना बनाउने कुरा गर्नु समस्याको दीर्घकालीन समाधान कदापि हुनसक्दैन ।'

रावलका अनुसार भूमिगत पानी उपयोग कार्यक्रम केही समयका लागि राहत हुनसक्छ, तर दीर्घकालीन समाधान होइन । 'जब आकाशको पानी जमिनमा जान पाउँदैन, तब जमिनमुनिको पानी पनि सुक्छ,' उनले भने, 'त्यसैले स्थायी समाधान भनेको आफ्ना नदीनालाहरुको संरक्षण र उपयोग हो ।'

रावलले नेपाल र नेपाली जनताको हितमा नदीनालाको पानीको सदुपयोग गर्न दीर्घकालीन योजना बनाई अघि बढ्नुपर्नेमा जोड दिए । 

GwyplmFWoAACMO9

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप