कोशीको नजिर प्रयोग गर्नेदेखि संसद् विघटनसम्मको रणनीतिमा बागमतीका मुख्यमन्त्री लामा
सारांश
- मुख्यमन्त्री बहादुरसिंह लामाले आफूविरुद्धको अविश्वास प्रस्ताव सामना गर्न विभिन्न रणनीति बनाउनुभएको छ।
- मुख्यमन्त्री लामाले समय लम्ब्याउने, संसद विघटन गर्ने लगायतका विकल्पबारे छलफल गरिरहनुभएको छ।
- कांग्रेसका शीर्ष नेता र सांसदहरूसँग सहयोग माग्ने र संसद विघटनसम्मको रणनीति मुख्यमन्त्रीको रहेको छ।
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आफूविरुद्ध कांग्रेस संसदीय दलमा ल्याइएको अविश्वास प्रस्ताव फेस गर्न विभिन्न रणनीति निर्माण गरेका छन् ।
सोमबार बस्ने कांग्रेस संसदीय दलको बैठकमा छलफल र निर्णयको तयारी भइरहेको अविश्वास प्रस्ताव फेस गर्ने विषयमा मुख्यमन्त्री लामाले समय लम्ब्याउनेदेखि संसद विघटनसम्मको रणनीति निर्माण गरेको बुझिएको छ ।
मुख्यमन्त्री लामाले संसदीय दलमा आफूविरुद्धको अविश्वास प्रस्ताव पेस भएपछि २४ घण्टा समय दिनुपर्ने माग गर्ने रणनीतिलाई प्राथमिकता दिने बताइएको छ । स्रोतका अनुसार प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्ले दक्षिण कोरिया भ्रमणमा रहेको र नफर्केकाले तत्काल सो प्रस्तावमाथि छलफल नगर्न उनको माग हुनेछ ।
उक्त माग सफल भएको खण्डमा उनी पुनः कांग्रेसका शीर्ष नेता र सांसदहरूसँग आफूलाई सहयोगका लागि लबिङ गर्ने रणनीतिमा छन् भने विफल भएको खण्डमा संसदीय दलको नेताविना नै मुख्यमन्त्री बन्न कोशीको नजिर देखाएर अघि बढ्ने रणनीतिमा छन् ।
कोशीका पूर्वमुख्यमन्त्री केदार कार्कीको नजिर अनुसार आफूलाई मुख्यमन्त्रीबाट हटाउन नसक्ने उनको निष्कर्ष छ ।
कांग्रेस संसदीय दल र पार्टीबाट राजीनामाका लागि दबाब आएमा संसद विघटनको अधिकारसमेत प्रयोग गर्ने रणनीतिमा मुख्यमन्त्री लामा छन् । सो विषयमा साझेदार दल एमालेका सांसद र नेताहरूले पनि सुझाव दिएको उनले बताए ।
सो रणनीति अन्तिम विकल्पका रुपमा प्रयोग गर्नेगरी छलफलमा रहेको मुख्यमन्त्री लामाले रातोपाटीलाई बताए । ‘अविश्वास प्रस्ताव फेस गर्ने विषयमा म तयार छु । मैले केही समय माग गरेको छु । प्रक्रिया पूरा गर्न पनि समय आवश्यक हुन्छ,’ उनले भने ।
प्रक्रियाबाट अघि बढ्दा आफूले दलको नेता नहुँदैमा मुख्यमन्त्री हुन नहुने भन्ने अवस्था नरहेको मुख्यमन्त्री लामाको जिकिर छ । ‘विभिन्न उपाय छन् । म मुख्यमन्त्रीबाट तुरुन्तै हट्दिनँ । मसँग थुप्रै विकल्प छन्,’ उनले भने, ‘साझेदार दलले पनि विभिन्न रणनीतिमा सल्लाह दिनुभएको छ । सबै विषयमा समय परिस्थिति अनुकूल निर्णय गर्छु ।’
संसद विघटनको पनि सुझाव आएको प्रस्ट पार्दै मुख्यमन्त्री लामाले अन्तिम उपायको रूपमा प्रदेश सभा विघटन गर्ने अस्त्र आफूसँग रहेको बताए । ‘सबैले विधि विधानमा अनुसार चल्नुपर्छ । विधि विधानभन्दा बाहिर जानु हुँदैन,’ उनले भने, ‘म त्यही अनुसार निर्णय गर्छु । मेरो अन्तिम अस्त्र संसद विघटन हो । अवस्थाले, परिस्थितिले सिर्जना गरेमा संसद् विघटनको निर्णय गर्न सकिन्छ ।’
लामाले कांग्रेस शीर्ष नेताहरू आफूविरुद्ध लाग्दा समस्या भएको बताए । आफूमाथि कार्य सम्पादनको विषयमात्र नभई विशेष गरी शिवराज अधिकारीलाई मन्त्री नबनाएको विषयलाई लिएर नेताहरू नै लागेर अविश्वास प्रस्ताव ल्याइएको उनले बताए ।
‘पार्टी सभापतिलाई कुरा लाउने बढी भए । बजेटको विषयमा अलि विवाद भयो । अर्थमन्त्रीको बर्खास्तीका विषमा पनि कुरा आए । विदेशबाट फर्केपछि सल्लाह गर्ने योजना पनि थियो । तर, त्यभन्दा अघि नै अविश्वासको प्रस्ताव हाल्नुभयो,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो
-
अल्छीपन छोड्नुहोस्, आयु बढाउनुहोस्
-
फोहोर सम्झिएर नफाल्नुहोस् तरकारी तथा फलफूलका बोक्रा र चियापत्ती
-
२० मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने
-
त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित
-
मुख्यमन्त्री विजयसँग प्रेम सम्बन्धको भाइरल हल्लाबिच तृषाले तोडिन् मौनता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण