राष्ट्रिय गौरवको पाँचौँ आयोजना उद्घाटन, ३४ हजार हेक्टर सिँचाइ हुने यस्तो छ आयोजना
सारांश
- प्रधानमन्त्री केपी शर्मा ओलीले कैलालीमा रहेको रानी जमरा कुलरिया सिँचाइ आयोजनाको उद्घाटन गरे।
- यो आयोजनाले करिब ३४ हजार ३०० हेक्टर जमिनमा सिँचाइ सुविधा उपलब्ध गराउनेछ, जसबाट १ लाख ४२ हजार ३६६ जनसंख्या प्रत्यक्ष लाभान्वित हुनेछन्।
- आयोजनाको आधुनिकीकरण २०६६/६७ मा सुरु भएको थियो र यसको तेस्रो चरणको काम २०८५/८६ सम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
काठमाडौँ । राष्ट्रिय गौरवको आयोजना अन्तर्गत रहेको अर्को आयोजनाको उद्घाटन भएको छ । सुदूरपश्चिमको कैलालीमा रहेको रानी जमरा कुलरिया सिँचाइ आयोजनाको मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका हुन् ।
यो निर्माण सम्पन्न भई उद्घाटन भएको राष्ट्रिय गौरवमा सूचीकृत पाँचौँ आयोजना हो । यसअघि अपर तामाकोशी हाइड्रोपावर, मेलम्ची खानेपानी आयोजना, भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सम्पन्न भएको औपचारिक उद्घाटन भएको थियो ।
यो आयोजनाको इतिहास १२० वर्ष पुरानो छ । यो कृषकबाट निर्माण गरी व्यवस्थापन समेत गरिएको सबैभन्दा ठुलो सिँचाइ प्रणाली हो । स्थानीय समुदायको प्रयासबाट सुरुमा निर्माण भएको यो आयोजनाले स्तरोन्नतिअघि कैलालीको टीकापुर नगरपालिका, लम्की चुहा नगरपालिका र जानकी गाउँपालिका लगायत क्षेत्रका करिब ११ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा उपलब्ध गराउँदै आएको थियो ।
यस सिँचाइ प्रणालीमा कमान्ड एरियाको दक्षिणी भागमा रानी सिँचाइ प्रणाली, मध्य भागमा जमरा सिँचाइ प्रणाली र उत्तरी भागमा सिँचाइ गर्न कुलरिया सिँचाइ प्रणाली रहेको छ। यी प्रणालीहरूको व्यवस्थापन गर्न तीन वटै प्रणालीमा अलग अलग जल उपभोक्ता संस्था रहेका थिए । यी तीन वटै शाखा प्रणालीको समन्वयको लागि कर्णाली कुलो (रानी जमरा कुलरिया) सिँचाइ जल उपभोक्ता संस्था मूल समिति रूपमा रहेको छ । यही आयोजनालाई आधुनिकीकरण गर्न यसलाई राष्ट्रिय गौरवमा समावेश गरेर स्तरोन्नति थालिएको हो ।
यो आयोजनाको आधुनिकीकरण २०६६/६७ मा सुरु गरिएको थियो । तीन चरणमा स्तरोन्नति थालिएको उक्त आयोजनाको पहिलो चरणको काम २०७२/७३ मा सम्पन्न भएको थियो । दोस्रो चरण कार्यका लागि विश्व बैंकको सहयोग रहनेगरी २०७५/७६ मा सम्झौता भएकोमा २०८२ असार मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । उक्त आयोजनाको यो चरणको स्तरोन्नति निर्माण सम्पन्न भई उद्घाटन भएको हो ।
अब यसबाट ३४ हजार ३०० हेक्टर जमिनमा सिँचाइ सुविधा उपलब्ध हुनेछ । यसबाट यस क्षेत्रका करिब २३ हजार ६२२ घरधुरीका करिब १ लाख ४२ हजार ३६६ जनसङ्ख्या प्रत्यक्ष लाभान्वित जलस्रोत तथा सिँचाइ विभागको तथ्याङ्क छ । त्यसबाहेक पूर्व पश्चिम राजमार्गको समानान्तर पश्चिमतर्फ जाने लम्की विस्तार सिँचाइ शाखा नहरबाट पथरैया नदी सम्मको थप करिब ६ हजार हेक्टर सिँचाइ सुविधा उपलब्ध जनाइएको छ ।
यसका लागि हालसम्म साइड इन्टेकमा गेट अटोमेसन सहितका काम गरिएका छन् । डिसेटलिङ बेसिन र फिडर क्यानलको निर्माण सम्पन्न भएको छ । मूल नहरबाट रानी जमरा कुलरिया सिँचाइ प्रणालीमा सिँचाइ पानी प्रदान गर्ने व्यवस्था गरिएको छ । मूल नहरमा गेट जडानको कार्य सम्पन्न भएको छ । त्यसबाहेक १४ किलोमिटर लामो लम्की शाखा नहरको निर्माण गरिएको छ ।
आयोजना अन्तर्गत १२० किलोमिटर कृषि ग्रामीण सडक निर्माण भएको छ । पथरैया नदी, धोवेनी खोला एवं अन्य ठाउँहरू गरी २९.३५ किलोमिटर नदी नियन्त्रण कार्य र पथरैया नदीमा ३ वटा पुल निर्माण कार्य सम्पन्न भएको आयोजनाले जनाएको छ ।
तेस्रो चरणको स्तरोन्नतिपछि दीर्घकालमा भने कन्द्रा नदीसम्मको थप १५ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा विस्तारित गर्ने लक्ष्य लिइएको छ। थप २० हजार ३०० हेक्टर क्षेत्रफलमा सिँचाई हुनेगरी आयोजनाको निर्माण कार्य भने २०८५/८६ सम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यो पनि विश्व बैंकको ऋण सहयोगमा निर्माण हुन लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनेत्री स्वस्तिमा खड्का ‘लिभोन’ को ब्रान्ड एम्बासडर नियुक्त
-
लिवियामा नेपाली शान्ति सैनिकको अदलीबदली, ४२ जनाको टोली प्रस्थान
-
इजरायलद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १६ जना प्यालेस्टिनी पक्राउ
-
‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन
-
अर्जेन्टिनामा लैङ्गिक हिंसाविरुद्ध विशाल प्रदर्शन, किशोरीको बलात्कार र हत्यापछि देशभर उर्लियो जनआक्रोश
-
महोत्तरीका १६ कामदार भारतमा बन्धक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण