सीके राउतको निर्णय कुर्दै संघीय लोकतान्त्रिक मोर्चा
सारांश
- जनमत पार्टीले संघीय लोकतान्त्रिक मोर्चाबाट अलग हुने संकेत देखाएको छ, उपनिर्वाचनमा साझा उम्मेदवारको विषयमा असन्तुष्टि जनाउँदै।
- जनमत पार्टी मोर्चाको बैठकमा अनुपस्थित रहँदै आएको छ, र उसले यसको कारण खुलाएको छैन।
- मोर्चाले विभिन्न कार्यक्रमको जिम्मेवारी तोकेको छ, तर जनमत पार्टीलाई कुनै पनि ठाउँको जिम्मेवारी दिइएको छैन।
काठमाडौँ । जनमत पार्टीले संघीय लोकतान्त्रिक मोर्चाबाट अलग हुने संकेत देखाएको छ । डा. सीके राउत नेतृत्वको जनमत पार्टी मोर्चाको कार्यक्रममा जान छाडेको छ ।
रुपन्देही क्षेत्र नम्बर ३ मा हुन लागेको उपनिर्वाचनमा लोकतान्त्रिक मोर्चाले साझा उम्मेदवार उठाउने भएपछि जनमत मोर्चासँग रुष्ट छ ।
गत असार १२ गते नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको अध्यक्षतामा बसेको लोकतान्त्रिक मोर्चाको बैठकमा रुपन्देही–३ को उपनिर्वाचनको बारेमा छलफल भएको थियो ।
दुई दिनसम्म चलेको सो बैठकबाट नागरिक उन्मुक्ति पार्टीबाट साझा उम्मेदवार उठाउने निर्णय गरिएको थियो । सो विषयमा असन्तुष्टि जनाउँदै जनमत पार्टी बैठकमा जान छाडेको छ । त्यसयता बसेका दुईवटै बैठकमा जनमत सहभागी भएन ।
बैठकमा अनुपस्थित हुनुको कारण पनि जनमत पार्टीले नखुलाएको मोर्चाको एक घटक राष्ट्रिय मुक्ति पार्टी नेपालका नेता केशव झाले बताए । ‘हामीले खबर गर्दा आउने भन्नुहुन्छ, तर बैठकमा अनुपस्थित हुनुहुन्छ । बाहिर मोर्चाको बारेमा अनावश्यक अभिव्यक्ति दिनुहुन्छ,’ झाले भने ।
मोर्चामा रहने कि नरहने निर्णयको अधिकार जनमत पार्टीसँगै रहेको जसपा नेपालका महासचिव रामकुमार शर्माले बताए । ‘जनमत पार्टीलाई हटाउन मोर्चाले निर्णय गर्ने होइन, मोर्चामा रहने नरहने उसैले निर्णय गर्ने हो,’ शर्माले भने ।
मोर्चा गठनका लागि जनमतले योगदान दिएको, तर अहिले अलग हुन खोज्नुको कारणबारे जनतालाई जवाफ दिनुपर्ने झाले बताए । ‘जनतालाई जनमत पार्टीले जवाफ दिनुपर्छ । किनभने यो मोर्चा जनताको दबाबमा बनेको हो,’ उनले भने ।
लोकतान्त्रिक मोर्चाले विभिन्न प्रदेश तथा सहरमा गर्न लागेको कार्यक्रमका लागि मोर्चामा रहेका सबै दलहरुको जिम्मेवारी तोकिएको छ, तर त्यसमा जनमत पार्टीको नाम छैन । यद्यपि, नेपालगञ्जको कार्यक्रमका लागि कसैलाई जिम्मेवारी तोकिएको छैन । सम्भवतः नेपालगञ्जको जिम्मेवारी जनमत पार्टीका लागि राखिएको मोर्चाका नेताहरु बताउँछन् ।
संघीय लोकतान्त्रिक मोर्चा गठनको आवश्यकता र औचित्यबारे साउन १८ गतेबाट मोर्चाले कार्यक्रम गर्दैछ ।
साउन २५ गते कैलालीमा हुने कार्यक्रमको जिम्मेवारी नागरिक उन्मुक्ति पार्टीलाई दिइएको छ । भदौ १६ गते विराटनगरमा हुने कार्यक्रम जसपा नेपालले व्यवस्थापन गर्नेछ ।
यस्तै भदौ १८ गते राजविराजमा राष्ट्रिय मुक्ति पार्टी, भदौ २० गते जनकपुरमा हुने कार्यक्रम तमलोपा र २२ गते वीरगञ्जमा हुने कार्यक्रमको जिम्मेवारी लोसपाले पाएको छ । जनमत पार्टी र जनता प्रगतिशील पार्टीले कुनै ठाउँको जिम्मेवारी पाएका छैनन् ।
लोकतान्त्रिक मोर्चाले रुपन्देही–३ मा नागरिक उन्मुक्ति पार्टीबाट साझा उम्मेदवार निर्णय गरिसकेको छ । तर जनमत पार्टीले आफ्नो छुट्टै उम्मेदवार उठाउने भएको छ । जनमत पार्टी त्यसको तयारीमा जुटिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
-
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
-
नेपाली युवा उद्यमीको विश्व सम्मेलन सिड्नीमा, एआई स्टार्टअपलाई ३५ लाख प्रोत्साहन
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण