रमाइलो बजारको नरमाइलो कथा : सुन पसलेले खाइदिए वृद्धभत्ता, चक्रबहादुरले प्राण त्यागे...
सारांश
- मोरङको कानेपोखरीमा सुन पसल सञ्चालकले बचतकर्तालाई ठगी गरेको घटना बाहिरिएको छ, जसमा २५० भन्दा बढी सर्वसाधारणको करिब १२ करोड रुपैयाँ डुबेको छ।
- सञ्चालक मनोज अधिकारी फरार भएपछि पीडितहरूले रकम फिर्ताको लागि स्थानीय निकाय र प्रहरी प्रशासनमा धाउँदा न्याय पाउन सकेका छैनन्।
- पीडितहरूले अधिकारी परिवारले गैरकानुनी रूपमा बचत संकलन गरी ठगी गरेको र पैसा फिर्ता नपाएको गुनासो गरेका छन्।
विराटनगर । मोरङको कानेपोखरी–६, रमाइलो बजारको बिचमा रहेको एउटा बन्द सटर अगाडि सधैँजसो ठिङ्ग उभिने ८३ वर्षीय चक्रबहादुर गुरुङ आजकाल आउँदैनन् । ९ महिना अगाडिसम्म चक्रबहादुर एउटा आशा बोकेर दिनहुँजसो त्यही सटर अगाडि आउँथे । उनी त्यहाँ आउनुको कारण थियो– सरकारले दिएको सामाजिक सुरक्षा भत्ता र जीवनभरको कमाइले जोडेको एक टुक्रा जमिन बेचेको ९ लाख रुपैयाँ उनले त्यही सटरभित्रको ‘सुन पसल’मा चाँडै धेरै रकम कमाउने प्रलोभनमा बुझाएका थिए । त्यो पैसा फिर्ता पाउने उनको आशा थियो ।
उक्त रकम फिर्ता नपाएकै अवस्थामा गुरुङको निधन भयो । उनलाई देख्ने आँखाहरू त्यही सटरमाथिको घरमा थिए । सञ्चालक मनोज अधिकारी र उनका बुबा होमनाथ अधिकारी फरार भए पनि मनोजकी आमा बाटुलीदेवीले आफ्नो घरको झ्यालबाटै चक्रबहादुरको हरेक दिनको संघर्ष घरिघरि हेर्ने गर्थिन् । तर, आफ्ना पति र छोराको कर्मले निर्दोष वृद्ध तड्पिँदाएको दृश्यले उनको मन खासै पोलेन । बरु चक्रबहादुरको मृत्युले अधिकारी परिवारको एउटा ‘टाउको दुखाइ’ सकियो ।
चक्रबहादुर यो धर्तीमा नरहे पनि उनीजस्तै बचत डुबेका २५० भन्दा बढी सर्वसाधारण अहिले पनि सुन पसलमा दिएको बचत रकमको खोजीमा टाउको दुखाइरहेका छन् ।
उनीहरू कहिले अधिकारीको घर घेर्छन्, कहिले पालिकाको ढोका ढकढक्याउँछन् भने कहिले प्रहरी र वकिलसँग न्यायको भिख माग्दै पुगेका छन् । उनीहरूको यात्रा जारी छ, तर गन्तव्य अझै अन्धकार छ । उनीहरूको आँखामा एउटै प्रश्न छ– हाम्रो पसिनाको कमाइ कहिले फिर्ता आउँछ ?
वृद्ध चक्रबहादुरलाई सटर अगाडि देखिरहने स्थानीय भक्तिमाया गुरुङले भनिन्, ‘त्यो पैसा फिर्ता आउँछ कि आउँदैन भन्ने चिन्ताले उहाँलाई गाह्रो भयो । हामीले पैसा डुब्यो भनेको चार दिनमा त बित्नुभयो ।’
कुनै बेला रमाइलो बजारमा स्थापित र विश्वासिलो पसल थियो अधिकारी परिवारको सुन पसल । अहिले त्यही पसलले त्यसरी डुबाएर सञ्चालक बेपत्ता होलान् भन्ने कोही बचतकर्ताले कल्पनासमेत गरेका थिएनन् । यद्यपि त्यसरी बचत गर्नु गैरकानुनी थियो । त्यसरी बचत लिनु पनि कानुन विपरीतको कार्य हो । पसलका सञ्चालक बाबुछोरा भए पनि अधिकारी परिवारले नै मिलेर गैरकानुनी ढंगले रकम उठाएर करिब १२ करोड रुपैयाँको ठगी गरेको खुलासा भएको छ ।
बैंकभन्दा बढी ब्याज दिने, चाहेको बेला तुरुन्तै पैसा झिक्न सकिने र घरदैलोमै आएर बचत सङ्कलन गर्ने अधिकारीको शैलीले धेरैलाई आकर्षित गर्यो । वृद्धवृद्धा, मजदुर, सामान्य व्यापारीदेखि विदेशबाट आफन्तले पठाएको पैसा बचत गर्नेहरू सबै उनको आकर्षक योजनामा फसे ।
सुरुमा उनले बचतकर्ताहरूलाई संस्थाको छाप भएको पासबुक नै दिन्थे, तर पछि कानुनी झन्झटबाट बच्न उनले चलाखी गरे । ‘पहिले सुनचाँदी अधिकारी भनेर पासबुक दियो, पछि तपाईंहरूको हिसाबकिताब मिलाइदिन्छु भनेर सबैको पासबुक जम्मा गरेछ र सामान्य डायरीमा लेखेर दिन थाल्यो,’ पीडित उमेश विष्टले भने, ‘मुद्दा नलागोस् भनेर यस्तो खेल खेलेको रहेछ, हामीले के जान्नु र !’

यो ठगीमा फस्नेहरू स्थानीय व्यापारी वा केही प्रतिष्ठित पनि छन्, तर धेरैजसो दिनरात पसिना बगाएर भविष्यका लागि दुई–चार पैसा जोहो गर्ने सामान्य मानिस छन् । यस्तै एक प्रतिनिधि पात्र हुन् विष्णुमाया गिरी । उनी र उनका आफन्तहरूको करिब ३० लाख रुपैयाँ डुबेको छ ।
‘यो पैसा चोरेर वा डाँका गरेर ल्याएको होइन, दुःख गरेर कमाएको हो,’ गहभरि आँसु पार्दै विष्णुमाया भन्छिन्, ‘खाता हेर्नुभयो भने रुन मन लाग्छ । १० रुपैयाँ, २० रुपैयाँ गरेर जम्मा गरेको पैसा हो । छोराछोरीको भविष्यका लागि भनेर बालबचत गरेको थिएँ । खसी–बाख्रा पालेर, बेचेर जोडेको पैसा थियो ।’
उनको समूहमा रहेको २६ लाख रुपैयाँ १५ महिनाका लागि १५ प्रतिशत ब्याजमा फिक्स डिपोजिट गरिएको थियो भने बाँकी रकम चल्ती खातामा थियो । उनले एक रुपैयाँ पनि फिर्ता पाइनन् ।
उनीजस्तै अर्का पीडित हुन् पर्शुराम फुयाँल । उनले आफ्नो ९ लाख २० हजार रुपैयाँ डुबेको बताए । स्थानीय ऋषिकेश लम्साल पनि पीडित हुन् । उनको पनि रकम डुबेको छ । ‘यहाँका दुई अढाइ सय मान्छेको १ हजारदेखि ७० लाखसम्म बचत सुन पसलले खाएको छ । अहिले अनुमानित १२ करोड भनिएको छ । यकिन विवरण छैन,’ पीडित लम्साल भन्छन् ।
गत दसैँको समयमा मनोज अधिकारी एकाएक बेपत्ता भए । उनका आमाबुबा अमेरिकामा थिए । जब पीडितहरूले आफ्नो पैसा फिर्ता माग्न थाले, बल्ल मनोज भागेको थाहा पाए । केही समयपछि मनोजकी आमा बाटुलादेवी अधिकारी नेपाल फर्किइन् । पीडितहरूले उनलाई घेरा हाले र वडा कार्यालयको रोहबरमा एउटा कागज गराए, जसमा उनले आफ्नो सम्पत्तिबाट ऋण तिर्ने बाचा गरेकी थिइन् ।
तर, त्यो कागज पनि पीडितको हातमा छैन । उक्त सहमतिपत्र स्थानीय अगुवासमेत रहेका हाल भूमिसुधार आयोग मोरङका अध्यक्ष नवीन पौडेलले लिएर राखेका छन् । मनोजका परिवारले अहिले पनि विभिन्न बहाना बनाएर रकम नदिएको पीडित बताउँछन् । मनोजकी आमाले ‘मैले खाएको होइन, म जान्दिनँ’ भन्न थालिन् भने बुहारी स्मिता अधिकारीले पनि आफूलाई केही थाहा नभएको बताउन थालेको पीडितहरूको भनाइ छ ।

वडा कार्यालय, पालिकाको न्यायिक समितिदेखि प्रहरी प्रशासनसम्म धाउँदा पनि पीडितहरूले न्याय पाउन सकेका छैनन् । उनीहरूलाई एक निकायले अर्कोमा र अर्कोले अर्कोमा पठाएर झुलाउने काममात्र भइरहेको छ । ‘हामीले मागेको केही होइन, आफ्नो पसिनाको कमाइमात्र हो,’ पीडित लम्सालले भने, ‘तर हामीलाई सुन्ने कोही भएन ।’
उनीहरू सामूहिक रूपमा प्रहरीमा जाहेरी दिने र कानुनी लडाइँ लड्ने तयारीमा छन्, तर यो लामो र खर्चिलो प्रक्रियाले उनीहरूलाई थप निरुत्साहित बनाएको छ ।
मनोज अधिकारीको ठगी प्रकरण रमाइलो बजारको नरमाइलो कथा बनेको छ । यस विषयमा कानेपोखरी गाउँपालिकाको न्यायिक समितिमा पनि पीडितहरूले निवेदन दिएका छन् । ‘न्यायिक समितिले निवेदनको किनारा लगाउन पनि सकेन र फलानो ठाउँ जानु पनि भनेन,’ पर्शुराम फुयाँलले भने, ‘हामीलाई ठिक ढंगले यहाँ जाऊ भनेको भए हामी जान्थ्यौँ ।’
उता, गाउँपालिकाका उपाध्यक्ष भोलाप्रसाद अधिकारीले आफू पीडितको साथमै जिल्ला प्रहरी कार्यालयदेखि अदालतसम्म पुगेको बताए । ‘ठगी मुद्दा हेर्ने कार्यक्षेत्र पालिकाको न्यायिक समितिको होइन, प्रहरीकोमा जानु भनेर स्पष्ट भनेका छौँ,’ अधिकारीले भने, ‘बरु उहाँहरू नै गर्ने कि नगर्ने भन्ने दोधारमा भएको कारण समस्या आएको हो । उहाँहरूसँग म आफू पनि प्रहरी कार्यालय गएको छु । पालिकाले यति ठुलो केसमा केही गर्न सक्दैन । पीडितको न्यायका लागि सल्लाह र सुझाव दिन सक्छ । त्यो हामीले दिएका छौँ ।’
- अधिकारी परिवारबाट भएको ठगीको नालीबेली
होमनाथ र बाटुलीदेवी अधिकारीको नाममा कानेपोखरी–६, रमाइलो बजारमा ‘शुभलक्ष्मी अधिकारी सुनचाँदी’ नामक सुनचाँदी पसल २० वर्ष अगाडिदेखि सञ्चालित थियो । छोराबुहारी मनोज अधिकारी र स्मिता अधिकारी उक्त व्यवसायमा विगत १२ वर्षदेखि संलग्न रहेको स्थानीय दाबी गर्छन् ।
स्थानीयका अनुसार उक्त व्यवसायमा उनीहरूले सुनचाँदी धितो राखी रकम दिने र महँगो दरमा ब्याज असुल गर्ने, सुनचाँदीका गरगहनाहरू बनाउने, मनी ट्रान्सफर गर्नेजस्ता कार्य गर्दै आएका थिए । होमनाथ अधिकारी, बाटुलीमाया अधिकारी विदेश जाने–आउने गर्दथे । मनोज अधिकारी र स्मिता अधिकारी भने वैदेशिक रोजगारीमा रहेका र वृद्ध भत्ता प्राप्त गर्ने, अशिक्षित महिलाको घर पहिचान गरी आफूहरूकोमा दैनिक, मासिक तथा ऐच्छिक बचत गरेमा आकर्षक ब्याज उपलब्ध गराउने, निश्चित समयमा पाएको ब्याजलाई सावाँमा गाभी ब्याजको ब्याजसमेत उपलब्ध गराउने, आफूहरूसँग सुनचाँदी व्यवसायी संघबाट आकर्षक स्किम प्राप्त भएको भन्दै बचत सङ्कलन गर्दथे । उनीहरूले सुरु–सुरुमा रकम जम्मा गर्ने व्यक्तिहरूलाई पासबुक उपलब्ध गराएका थिए । तर, पछि दैनिक, मासिक तथा ऐच्छिक रुपमा बचत गर्ने व्यक्तिलाई प्रलोभन तथा डर देखाई पासबुक फिर्ता मागेर प्रमाण नष्ट गरे । यद्यपि अधिकारी दम्पतीले डायरीमा रकम भने उल्लेख गर्ने गर्दथे ।
पीडितका अनुसार पासबुकमा ब्याज पाएको रकम सावाँमा गाभी होमनाथ अधिकारी, मनोज अधिकारी र स्मिता अधिकारीले दस्तखत गरेर पीडितलाई दिने गर्दथे । लामो समय भएपछि रकम फिर्ता नपाएपछि बचतकर्ताले सोधखोज गर्न थाले । तर, चाँडै रकम फिर्ता गर्छु भनेर अधिकारी दम्पतीले भन्न छोडेनन् । ‘लामो समयदेखि सावाँ र ब्याज फिर्ता नगरेकाले रकम फिर्ताको माग गर्दै हामी गयौँ । त्यसपछि थाहा भयो हामी डुबेका रहेछौँ,’ पीडित फुयाँलले भने ।
त्यहीबिचमा जेठो छोरा ध्रुव अधिकारी र जेठी बुहारी ममता कार्कीलाई भेटघाट गर्न भन्दै होमबहादुर र बाटुलीदेवी पटक–पटक अमेरिका जाने–आउने गर्दथे । यही क्रममा चारै जनाले हुण्डीमार्फत रकम अमेरिका पुर्याएको हुनसक्ने पीडितको दाबी छ । बाटुलीमाया अधिकारीको माइतीपक्ष, जेठी बुहारी ममता कार्कीको माइती पक्ष, कान्छी बुहारी स्मिता अधिकारीको माइती पक्ष र छोरी ज्वाइँ क्रमशः मुना अधिकारी र बाबासिंहलाई समेत नगद रकम उपलब्ध गराएको तथा माइती र छोरी ज्वाइँको नाममा समेत घरजग्गा खरिद गरेको विवरण पीडितहरूले विभिन्न निकायमा गरेको उजुरीपत्रमा उल्लेख छ ।
पीडितका अनुसार रकम फिर्ता माग्दा नतिरेपछि होमनाथ अधिकारी र बाटुलीमाया अमेरिका भागेका थिए । हाल बाटुलीमाया अधिकारी कानेपोखरी–६ को रमाइलो बजारमा रहेको घरमै छिन् । छोरा मनोज अधिकारी असार महिनामा उपचारका लागि काठमाडौँ जान्छु भनेर हिँडेपछि फर्किएका छैनन् भने सम्पर्कमा पनि नरहेको पीडित बताउँछन् ।
होमनाथ अधिकारी, धुव्र अधिकारी र मनोज अधिकारीलाई म्यासेन्जर र ह्वाटएपमा सम्पर्क गर्दा नउठाउने र केही पीडितहरूको फोन उठाउँदा म चाँडै रकम फिर्ता गर्छु भन्ने गरेको पीडितको भनाइ छ ।
बाटुलीमाया अधिकारी, ममता कार्की र स्मिता अधिकारीसँग रकम माग्दा यो सबै सम्पत्ति हामीलाई माइतीपक्षले दिएको भन्दै घरै उखेलेर लैजान चुनौती दिएको पीडित बताउँछन् । कतिपय पीडितलाई थप रकम लगानी गर्न प्रलोभन समेत देखाउने गरेको र पीडितलाई विभिन्न शक्तिशाली व्यक्तिहरूसँग आफ्नो सम्पर्क रहेको भन्दै धम्क्याउने गरेको एक पीडितले रातोपाटीलाई बताए ।
_QTT96ouBWM.jpg)
_Nt5o3vXJGH.jpg)
_ZwOBIz5cte.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्रायन ब्रोबीको दुई गोलले ह्युस्टनमा नेदरल्याण्ड्स हाबी, दबाबमा स्विडेन
-
मुस्ताङ भन्सारबाट एघार महिनामा सात अर्ब ६६ करोड राजश्व सङ्कलन
-
पोखरीमा डुबेर दुई बालिकाको मृत्यु
-
नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको नेतृत्वमा रामप्रसाद गैरे समूह निर्वाचित
-
ब्रायन ब्रोबी चम्किएपछि नेदरल्याण्ड्सको दोब्बर अग्रता
-
नेदरल्याण्ड्सलाई सुरुवाती अग्रता, ब्रायन ब्रोबीले गरे गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण