बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

‘ओली सरकार ध्रुवे हात्तीजस्तो भयो’

शुक्रबार, १६ साउन २०८२, १६ : ३१
शुक्रबार, १६ साउन २०८२

सारांश

  • नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष प्रकाश ज्वालाले वर्तमान सरकार देशका समस्याको मूल जड भएको बताए।
  • उनले सरकार जनताप्रति जवाफदेही नभएको र प्रधानमन्त्री र मन्त्रीहरू भ्रष्टाचारमा संलग्न भएको आरोप लगाए।
  • ज्वालाले सरकारले सुशासनको सट्टा कुशासनलाई प्रश्रय दिएको र माधव कुमार नेपाललाई प्रतिशोध साँधेर मुद्दा लगाएको आरोप लगाए।

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष प्रकाश ज्वालाले यतिबेला देशमा देखिएका समस्याको मूल जड सरकार रहेको बताएका छन् । 

रिपोर्टर्स क्लब नेपालद्वारा आयोजित साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले अभिभावकको भूमिका निर्वाह गर्न नसकेको बताएका हुन् । अहिले देशका सरकार भएको अनुभूति नै नरहेको उनको भनाइ छ । उनले अहिले देश सरकारविहीनताको अवस्थामा रहेको जस्तो भान भइरहेको पनि बताए । 

नेता ज्वालाले सरकार जनताप्रति जबाफदेही बन्न नसकेको, प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्का अधिकांश मन्त्रीहरू भ्रष्टाचारमा मुछिएको र प्रधानमन्त्री र मन्त्रीहरू नाङ्गो तरिकाले घुसखोरी, भ्रष्टाचार र अनियमिततामा जोडिएको बताए । उनल भने, ‘सरकार काम कुरा एकतिर, कुम्लो बोकी ठिमीतिर भनेको जस्तै गर्नुपर्ने तमाम कामहरु छन् । भ्रष्टाचारका ठुला–ठुला घटनाहरू भइरहेका छन् । मन्त्रिपरिषद्भित्रका अधिकांश मन्त्रीहरू यतिबेला विवादमा छन् । भ्रष्टाचार, घुस, तमाम खालका घटनाहरुसँग जोडिएका छन् । प्रत्यक्ष रूपमा नाङ्गो तरिकाले मन्त्रीहरू घुसखोरी, भ्रष्टाचार, अनियमितता र अनेकथरी विवादमा जोडिएका छन् । सरकार आफ्नो तालमा बादल बजाइरहेको छ ।’ 

साथै, सरकार बनेको एक वर्ष नाघिसक्दा पनि प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो सम्पत्ति विवरण पनि सार्वजनिक नगरेको उनले बताए । उनले प्रधानमन्त्री ओलीको नेतृत्वमा गठन भएको सुशासन समितिलाई ‘कुशासन समिति’ को संज्ञा दिए । सरकारले कुशासनलाई प्रश्रय दिइरहेको घुसखोरीहरु छाती खोलेर हिँडिरहेको उनले बताए । 

‘त्यो सुशासन समिति हो कि कुशासन समिति हो मैले त संसद्मा त्यसको नाम कुशासन समिति राखेको छु । किनभने कुशासनलाई प्रश्रय दिइरहेको छ,’– उनले भने, ‘घुसखोरहरु छाती खोलेर हिँडिरहेका छन्, भ्रष्टाचारीहरू कहीँकतै डराउन पर्दैन । भ्रष्टाचारीहरूलाई कारबाही हुँदैन । सरकार जनताप्रति जबाफदेही, जिम्मेवार होइन, सरकार केही निश्चित दलालहरू, नोकरशाहहरु, बिचौलियाहरू, माफियाहरू, भूमाफियाहरु, तस्करहरूको सेवकको रूपमा यो सरकार रहेको छ ।’ उनले प्रधानमन्त्री ओली नेतृत्वको सरकारलाई ‘तस्करहरूको सरकार र कठपुतलीहरूको सरकार’ को संज्ञा दिए ।

कांग्रेस–एमाले गठबन्धन सरकार बन्दाखेरी भएको सहमतिको बुँदामध्येको प्रमुख संविधान संशोधन अहिले बेवारिसे बनेको उनको भनाई छ । सुशासन दिने भनिएकोमा अहिले जताततै अनियमितता र भ्रष्टाचार रहेको उनले बताए । 

साथै, संसद्लाई सरकारले रबरस्ट्याम्प बनाउन खोजेको, दबाबमा राख्न खोजेको र आफ्नो अनुकूल प्रयोग गर्न खोजेको बताए । कतिपय महत्त्वपूर्ण विधेयकहरू सरकारले होल्ड गरेर राखेको उनले बताए । एक दुई वटा विषयबाहेक विद्यालय शिक्षा विधेयक शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले टुङ्ग्याइसकेको अवस्थामा सरकारले सो विधेयक फुल हाउसमा नलैजाने षड्यन्त्र गरिरहेको उनले बताए । नेता ज्वालाले सङ्घीय निजामती सेवा विधेयकमा पनि छलछाम र षड्यन्त्र भएको बताए । कुलिङ पिरियड हटाउने जस्तो गलत काम सरकारले गरिरहेको उनले बताए । 

नेता ज्वालाले शिक्षा विधेयकजस्तो बहु सरोकारको विषय छाडेर अहिले भूमि विधेयक पास गर्न सरकारले ठुलो हतारो गरिरहेको बताए । सरकारले भूमि विधेयक एउटा निश्चित वर्गको स्वार्थमा ल्याएको उनको आरोप छ । साथै, जघन्य प्रकृतिका अपराधमा पनि आममाफी दिने गरी सरकारले फौजदारी कानुनमा संशोधन गरिरहेको उनले बताए । ‘जनसरोकारका कानुनहरू बनाउनेमा सरकारलाई चासो छैन । अहिले त विभिन्न खालका जघन्य अपराध गर्ने अपराधीहरूलाई छुट दिने खालको, माफी दिने खालको व्यवस्था गर्ने गरी फौजदारी कानुनमा संशोधन गर्दैछ । 

सरकारको चासो भूमिहीन, सुकुम्वासी र घरबारविहीनलाई जग्गा दिनेतर्फ नरहेको उनको दाबी छ । भूमाफियालाई पोस्नेखालको भूमि विधेयक ल्याइएको उनले बताए । उनले वर्तमान सरकारलाई ध्रुवे हात्तीको संज्ञा दिए । ‘अब अहिले दुईवटा ठुला दल मिलेर सरकार बनाएका छन् । म त भन्छु यो दुईवटा ध्रुवे हात्तिजस्तै । हात्ती मिले पनि बालीको नाश, हात्ती लडे पनि बालीको नाश । अहिले उनीहरू मिलेर बालीको नाश गरिरहेका छन्,’– उनले भने । 

त्यसैगरी,  पार्टी अध्यक्ष माधव कुमार नेपाललाई प्रतिशोध साँधेर मुद्दा लगाइएको उनले बताए ।

‘हाम्रो पार्टीको अध्यक्षलाई लगाइएको मुद्दा षड्यन्त्रमूलक तरिकाले लगाइएको हो । राजनीतिक पूर्वग्रहले लगाइएको हो, प्रतिशोधका कारणले लगाइएको हो । यो हाम्रो पार्टीले, हामीले मात्रै भनिरहेका छैनौँ । नेपाली कांग्रेसका, एमालेका पनि तमाम नेताहरूले भनिरहनुभएको छ । नागरिक समाजका मानिसहरूले भनिरहनुभएको छ । माधव नेपाल भ्रष्टाचार गर्ने मान्छे होइन । यस कारण उहाँलाई लगाइएको मुद्दा प्रतिशोधले लगाइएको हो, पूर्वाग्रहले लगाइएको हो । प्रतिशोधपूर्ण तरिकाले लगाइएको मुद्दाको हामी राजनीतिक प्रतिवाद गर्छौँ । कानुनी रूपमा मुद्दा लगाइएपछि कानुनी उपचार खोज्छौँ । माधव नेपालले भ्रष्टाचार गर्नुभएको छैन । भ्रष्टाचार भनेको चाहिँ आर्थिक लेनदेन हो । आर्थिक चलखेल हो । त्यो आर्थिक चलखेल गर्ने मान्छे उहाँ होइन,’– उनले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप