लहानमा ट्याङ्कीबाट खानेपानी वितरण सुरु
सारांश
- लहान नगरपालिका-२४ खेसराहा टोलमा खानेपानीको अभाव भएपछि ट्याङ्कीबाट पानी वितरण सुरु गरिएको छ।
- विकन परियोजना र वाटरएडको सहयोगमा दलित जनकल्याण युवा क्लबले २ हजार लिटरको ट्याङ्कीमार्फत पानी वितरण गर्दैछ।
- नगरपालिकाले आगामी ५ वर्षमा घरघरमा खानेपानीको धारा पुर्याउने योजना बनाएको छ र ३ महिनासम्म निःशुल्क पानी उपलब्ध गराइनेछ।
सिरहा । यहाँको लहान नगरपालिका–२४ खेसराहा टोलमा खानेपानीको चरम अभाव भएपछि शुक्रबार साँझदेखि ट्याङ्कीबाट पानी वितरण सुरु गरिएको छ । खासगरि उत्तरी भेगका बस्तीमा चापाकल सुकेपछि दैनिक उपभोगका लागि पानीको अभाव भोगिरहेका स्थानीयलाई लक्षित गर्दै बोलेरोमा पानीको ट्याङ्की बोकेर गाउँमै पुर्याएर वितरण गर्न थालिएको हो ।
‘विकन परियोजना’ र ‘वाटरएड’ को सहयोगमा दलित जनकल्याण युवा क्लब लहानले खानेपानीको धारा जडान हुन बाँकी रहेका बस्तीमा लहान खानेपानी संस्थानसँग समन्वय गरेर दुई हजार लिटर क्षमताको ट्याङ्कीमार्फत पानी वितरण सुरु गरेको हो ।
नगरप्रमुख महेशप्रसाद चौधरीले स्वयं गाउँ पुगेर पानी वितरण गर्दै भने, ‘खानेपानी मानव जीवनको आधार हो । तीन महिनासम्म प्रत्येक व्यक्तिलाई दैनिक चार लिटर पानी निःशुल्क उपलब्ध गराइनेछ । आवश्यक परेको खण्डमा यो कार्यक्रम थप लम्ब्याउने तयारी गरिरहेका छौँ ।’ नगरपालिकाले आगामी पाँच वर्षमा घरघरमा खानेपानीको धारा पुर्याउने योजना सार्वजनिक गरिसकेको उनले जानकारी दिए ।
बस्तीमा करिब ६० घरपरिवार छन् । उनीहरूलाई गाग्री र बाल्टिनमा पानी भरिदिने व्यवस्था गरिएको छ । दलित जनकल्याण युवा क्लबका अध्यक्ष उमेश विसुङ्केले भने, ‘विकन परियोजनाले रु २० लाख विनियोजन गरिसकेको छ । लहान नगरपालिका र खानेपानी कार्यालयसँग समन्वय गर्दै तीन महिनासम्म यो काम निरन्तर गरिनेछ ।’
स्थानीय पूर्णबहादुर सार्कीले पानी पाउँदा राहत मिलेको बताए । ‘शुद्ध पिउने पानीले अहिले बाँच्ने आधार जस्तै भएको छ । तर, लुगा धुन, नुहाउन, गाईभैँसीलाई पानी खुवाउन अझै गाह्रो छ । त्यसका लागि आकाशे पानीको प्रतिक्षा गरिरहेका छौँ ।’ खानेपानी सङ्कट लहान–१३, १५, १६, १७ र १८ वडामा देखिएको छ । नगरपालिकाले अब आवश्यकताअनुसार अन्य प्रभावित टोलमा पानी वितरण गर्ने योजना बनाएको छ ।
खडेरीको असरले इनार, पोखरी, हाते कल, सिँचाइका मोटरहरू सबै सुक्न थालेका छन् । लहान–१३ का ६५ वर्षीय कृषक जगबीर यादव भन्छन्, ‘६ दशकमा यस्तो खडेरी देखिएको थिएन । सलहेस फूलबारी र सरस्वती खोला पनि सुकिसके ।’ पानीको दीर्घकालीन समाधानका लागि चुरे संरक्षण अत्यावश्यक रहेको पर्यावरणविद् दिनेश यादवको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुन र चाँदीको मूल्य सामान्य घट्यो
-
जातीय विभेद र छुवाछुत अन्त्यका लागि कानुन संशोधन गरिनेछ : मन्त्री वादी
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
-
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
-
स्पेस एक्सको मूल्य १.७५ ट्रिलियन डलर पुगेको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण