शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
माैसम

न्यून चापीय रेखा उत्तरतर्फ भएकाले आइतबारदेखि वर्षाका गतिविधि बढ्ने

शनिबार, १७ साउन २०८२, २२ : ३६
शनिबार, १७ साउन २०८२

सारांश

  • न्यून चापीय रेखा उत्तरतर्फ भएकाले आगामी केही दिन वर्षा बढ्ने मौसम विभागले जनाएको छ।
  • आइतबारदेखि तराईसहित देशभर वर्षाको सम्भावना रहेको र सतर्कता अपनाउन अनुरोध गरिएको छ।
  • कोशी, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ।

काठमाडौँ । न्यून चापीय रेखा उत्तरतर्फ भएकाले फेरि केही दिन वर्षाका गतिविधि बढ्ने जल तथा मौसम विज्ञान विभाग जनाएको छ । शनिबार पनि देशभर बदली भई ठाउँठाउँमा वर्षा भएको छ भने यो क्रम भोलि आइतबारदेखि झन् बढ्ने भएको जनाइएको हो ।

भोलिदेखि न्यून चापीय रेखा उत्तरतर्फ गएकाले तराईमा समेत वर्षा हुने देखिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलले जानकारी दिइन् । उनका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहनुका साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ अवस्थित छ ।

वर्षा हुने प्रणाली सक्रिय भएकाले अबको तीन दिन वर्षाका गतिविधि बढ्ने मौसमविद् कँडेलले बताइन् । अहिले कोशी र बागमती प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको उनले जानकारी दिइन् । महाशाखाले राति कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

आगामी केही दिन मधेस प्रदेशलगायत देशभर मनसुन थप सक्रिय हुने देखिएकाले सर्वसाधारण तथा सबै सरोकार भएका निकायमा पछिल्लो मौसमी सूचनाको जानकारी लिन महाशाखाले शनिबार साँझ बुलेटिनमार्फत सार्वजनिक अनुरोध गरेको छ ।

तराई क्षेत्रमा आइतबार रातिदेखि साधरणतया बदली रही अधिकांश स्थानमा मेघगर्जन, चट्याङसहित मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेको मौसमविद् कँडेलले बताइन् । उनका अनुसार आइतबार कोशी, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ । सोमबार कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही क्षेत्रमा भारी वर्षा हुने जनाइएको छ ।

पछिल्लो ६ घण्टामा सिन्धुपाल्चोकको गोब्रेमा ८२ दशमलव आठ मिलिमिटर वर्षा भएको छ । यस्तै अर्घाखाँचीमा ७२ दशमलव पाँच, दाङको पदमपुरमा ७२ दशमलव दुई मिलिमिटर पानी परेको छ । अन्य अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भएको महाशाखाले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप