माओवादी स्थायी समिति बैठकमा नेताहरूबिच घोचपेच
सारांश
- नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकमा अधिकांश नेताहरूले अध्यक्ष प्रचण्डको विकल्प नभएको धारणा राखेका छन्।
- उपमहासचिव जनार्दन शर्मा बाहेक सबैले नेतृत्वमा प्रचण्डको विकल्प नभएको विचार राखेको बताइएको छ।
- बैठकमा पार्टीभित्रको अन्तरविरोध र पार्टी निर्माणबारे छलफल भएको थियो।
काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकको तेस्रो दिन बोल्ने अधिकांश नेताहरूले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको विकल्प नभएको धारणा राखेका छन् ।
केन्द्रीय कार्यालय पेरिसडाँडामा आइतबार बसेको बैठकमा अध्यक्ष प्रचण्डले पेस गरेको एजेण्डामाथि १९ जना पदाधिकारीले आ–आफ्ना धारणा राखेका थिए । तीमध्ये उपमहासचिव जनार्दन शर्मा बाहेक बोल्ने सबैले नेतृत्वमा प्रचण्डको विकल्प नभएको विचार राखेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।
‘अधिकांश सदस्यले नेतृत्वको विकल्प छैन भनेर धारणा राख्नुभएको छ । जनार्दनले नेतृत्वको विषयमा बोल्नुभएको छैन । समाजवादी क्रान्तिको आधार तयार गर्ने भनिएको छ । विचार निर्माण, संगठन सबै नेतृत्वले गर्ने हो । नेतृत्व विकासका लागि व्यवस्थित गर्नुपर्छ । तर अहिले प्रचण्डको विकल्प छैन,’ उनले भने ।
बैठकको पहिलो दिन साउन १६ गते अध्यक्ष प्रचण्डले उपमहासचिव शर्माले पार्टीभित्रको अन्तरविरोध बाहिर लगेकोमा आत्मालोचना गर्न सचेत गराएका थिए । शर्माले अध्यक्ष प्रचण्ड र अन्य नेताले दिएको सुझावको प्रतिवाद गर्दै पार्टी निर्माणका लागि आफूले प्रश्न उठाएबापत के सजाय भोग्नुपर्ने हो भोग्न तयार भएको बताएका थिए । २०६४ सालमा ३१ लाख जनमत रहेको पार्टी आज ११ लाखमा खुम्चिँदा नेतृत्वले आत्मालोचना गर्नुपर्ने धारणा राखे ।
‘मैले पार्टी निर्माणका लागि सबैका सामु प्रश्न उठाए, अरुले भित्रभित्रै यो पार्टी बन्दै बन्दैन भन्दै हिँडेका छन् । तर पार्टी निर्माणमा मैले प्रश्न उठाए बापत के सजाय भोग्नुपर्छ म तयार छु,’ उनले भने, ‘पार्टी फुट्छ भन्ने दुष्प्रचार खारेज गर्छु । जति धकेल्न खोजे पनि म पार्टीमा अडिरहन्छु । ३१ लाखबाट ११ लाख मत झार्न मेरो कमजोरी छ भने म आत्मालोचना गर्न तयार छु । होइन भने तत् तत् ठाउँबाट आत्मालोचना गर्न आवश्यक छ ।’
प्रवक्ता सापकोटाले समाजवादी क्रान्तिको आधार तय गर्न नयाँ विचारको संश्लेषण गरेर जानुपर्ने धारणा राखे । जागरण अभियानपछि माओवादीप्रति विस्तारै पार्टी र नेतृत्वप्रति जनआकर्षण बढ्दै गएकाले प्रचण्डको विकल्प नभएको मत राखेको एक नेताले भने ।
‘पछिल्लो केन्द्रीय समिति बैठकले समाजवादी क्रान्तिको आधार तयार गर्ने भनिएको छ । विचार निर्माण, संगठन सबै नेतृत्वले गर्ने हो । नेतृत्व विकासका लागि व्यवस्थित गर्नुपर्छ । उत्तराधिकारी तयार भएपछि मात्र नेतृत्व हस्तान्तरणको कुरा आउँछ, तर अहिले प्रचण्डको विकल्प छैन,’ उनले भने ।
उपमहासचिव हरिबोल गजुरेलले भने, ‘नेतृत्वको आलोचना मैले नै गरेको हुँ । प्रचण्ड नेतृत्वको पछिल्लो सरकारले सुशसान, सामाजिक न्याय र समृद्धिको पक्षमा खुट्टा कमाउँदा मैले नै साथ छोडेको हुँ । फेरि सरकारले सुशासनको पक्षमा राम्रो काम गरेपछि साथ दिएको हुँ । लिडरसिप नयाँ ढंगले राइज भयो । पछिल्लो समय भिजिट भिसा प्रकरणमा दुई बुँदेले भ्रम पार्यो । अहिले नेतृत्व सच्चिएर आएपछि सबैले साथ दिनुपर्छ ।’
यस्तै शर्माले आन्तरिक विषय बाहिर लगेर परिस्थिति बिग्रिएको धारणा राखेका थिए । शर्माले बैठकको एजेण्डामाथि कुनै छलफल नगरी आफ्नो प्रस्ताव राखेकोमा असन्तुष्टि व्यक्त गरे ।
उपाध्यक्ष नन्दकिशोर पुन पासाङले पार्टी निर्माणमा सबैले गम्भीर ढंगले सोच्नुपर्ने धारणा राखेका थिए । शर्मालाई आत्मालोचना गर्न सुझाव दिएका थिए ।‘अहिले पार्टीमा द्वन्द्व बढाउने होइन । सबै मिलेर निर्माण गर्ने हो,’ उनले भने, ‘संसारमा अहिले लोकप्रियतावादी हाबी भइरहेको छ । त्यसको प्रभाव पार्टीमा पनि परेको छ । जनार्दनजीले पार्टी र नेतृत्वलाई कमजोर बनाउने गरी बाहिर प्रस्तुत हुनुभयो, आत्मालोचना गर्नुपर्छ ।’
उपाध्यक्ष पम्फा भुसालले विगतमा पार्टी विभाजन गरेर गल्ती गरिएको भन्दै आत्मालोचना गरिन् । पार्टी निर्माणमा नेतृत्वलाई सहयोग गरेर जानुपर्ने पक्षमा उभिएकी अर्का एक नेताले बताए ।
‘विगतमा पार्टी विभाजन गरेर राम्रो गरिएन भन्ने लागेको छ । पार्टी र नेतृत्वलाई कमजोर बनाएकोमा आत्मालोचना गर्छु । गुट, टुटफुटले कसैलाई पनि राम्रो गर्दैन । पार्टीप्रति चौतर्फी आक्रमण भइरहेको बेला नेतृत्वलाई कमजोर बाउनु राम्रो होइन,’ उनले भनिन् ।
उपाध्यक्ष कृष्णबहादुर महराले अध्यक्ष प्रचण्डलाई ‘ड्यामेज’ गरेर पार्टी निर्माण नहुने धारणा राखे । अहिले पार्टीभित्र अन्तरविरोध गरेर बस्ने समय नभएको भन्दै उनले नेतृत्वलाई सहयोग गर्नुपर्ने बताए ।
‘प्रचण्डलाई ड्यामेज गरेर कसैलाई फाइदा हुँदैन । नेतृत्वलाई सहयोग गरेर नै जानुपर्छ । पार्टी एकढिक्का बनाएर जान सबैले आ–आफ्ना कमजोरी स्वीकारौं,’ उनले भने ।
सचिव हितमान शक्यले विगतमा पार्टी विभाजनको नेतृत्व गरेकोमा पश्चाताप गरेका छन् ।
‘विगतमा पार्टी विभाजनको नेतृत्व गरेकोमा म आत्मालोचना गर्छु । पार्टी टुटफुटले कसैलाई राम्रो हुँदैन रहेछ भनेर अनुभव भएको छ । त्यसैले अहिले कसैले फूर्ति नलगाए हुन्छ । नेतृत्वमा प्रचण्डको विकल्प छैन,’ उनले भने ।
सचिव हितराज पाण्डेले पार्टी र नेतृत्वलाई कमजोर बनाउने गरी शर्माले अन्तरविरोध बाहिर लगेकोमा आलोचना गरे ।‘जनार्दनजीले पार्टीको निर्णय मान्नुभएको छैन । संसदमा पनि फरक ढंगले प्रस्तुत हुनुभएको छ । यसले पार्टी निर्माण हुँदैन । उहाँले आत्मालोचना गर्नुपर्छ,’ उनले भने ।
उपमहासचिव शक्ति बस्नेतले पार्टीले जनमत बढाइरहेको र नेतृत्वप्रति भरोसा बढिरहेको बेला असहयोग गर्नु राम्रो नभएको धारणा राखे ।‘माओवादीप्रति जनतामा बिस्तारै आकर्षण बढ्दै गएको छ । नेतृत्वप्रति विश्वास बढेर गएको छ । यस्तो बेलामा नेतृत्वलाई कमजोर बनाउने गरी गतिविधि गर्न हुँदैन,’ उनले भने, ‘अहिले प्रचण्डको विकल्प छैन । सबै मिलेर समाजवादी क्रान्तिको आधार तय गर्नुपर्छ ।‘
अर्का उपमहासचिव गिरिराजमणि पोखरेलले सामुदायिक समाजवादी क्रान्तिका लागि सबै मिलेर लाग्नुपर्ने धारणा राखेका थिए । उनले पनि अहिले प्रचण्डको विकल्प नभएको धारणा राखेका थिए ।
‘हामी सबै मिलेर सामुदायिक समाजवादी क्रान्तिको तयारी गर्नुपर्नेछ । पछिल्लो केन्द्रीय समितिको निर्णय पनि त्यही हो । समाजवादी क्रान्तिका लागि अहिले प्रचण्डको विकल्प छैन,’ उनले भने ।
सचिव दीनानाथ शर्माले आफ्नै पालामा समाजवादी क्रान्ति हुने भन्दै त्यसको तयारीमा लाग्न आग्रह गरे ।‘मेरै पालामा नेपालमा समाजवादी क्रान्ति सम्भव छ । त्यसको नेतृत्व तपाईंहरुले नै गर्ने हो । अहिले नेतृत्वको विवाद गर्ने बेला होइन । उत्तराधिकारी तयार नभएसम्म प्रचण्डको विकल्प छैन,’ उनले भने ।
सचिव लीलामणि पोखरेलले पनि अहिले नेतृत्वमा प्रचण्डलाई नै मानेर अगाडि बढ्नुपर्ने धारणा राखेका छन् । सचिव चक्रपाणि खनालले पनि अहिले नेतृत्वको विकल्प नभएको भन्दै पार्टीलाई एकढिक्का बनाएर लैजानुपर्नेमा जोड दिएका थिए ।
अध्यक्ष प्रचण्डले पेस गरेको एजेण्डामाथि वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव देव गुरुङले बोल्न बाँकी रहेको प्रवक्ता सापकोटाले जानकारी दिए । मंगलबारको बैठकमा दुई जनाले धारणा राखेपछि प्रचण्डले जवाफ दिने बताए ।
शनिबार बसेको बैठकमा उपमहासचिव वर्षमान पुन, मातृका यादव, सचिव देवेन्द्र पौडेल, राम कार्की र गंगानारायण श्रेष्ठले धारणा राखेका थिए । तीमध्ये कार्की मात्र शर्माको पक्षमा उभिएको नेताहरूले बताएका छन् । प्रचण्डले जसबाट गल्ती भएको उसले आत्मालोचना गर्नुपर्ने सञ्चारकर्मीसँग बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
-
भारत भ्रमणपछि रवि लामिछाने थप शक्तिशाली बन्दैछन् ?
-
एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण