मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
अनुगमन

वैरागी नेतृत्वको समितिले अनुगमन गर्‍यो त्रिभुवन विमानस्थल अध्यागमन कार्यालय

सोमबार, १९ साउन २०८२, ११ : ३१
सोमबार, १९ साउन २०८२

सारांश

  • अध्यागमन र भिजिट भिसाका समस्या समाधानका लागि गठित उच्चस्तरीय समितिले विमानस्थल अध्यागमन कार्यालयको निरीक्षण गरेको छ।
  • समितिले प्रमुख अध्यागमन अधिकृतसँग सोधपुछ गर्नुका साथै भिसा चेक, कामको चाप लगायत विषयमा अनुगमन गरेको थियो।
  • समितिलाई अध्यागमनका समस्या समाधानका लागि नीतिगत, कानुनी र संरचनागत सुझावसहितको प्रतिवेदन पेस गर्न कार्यादेश दिइएको छ।

काठमाडौँ ।  अध्यागमन र भिजिट भिसाको सम्बन्धमा विगतदेखि देखिएका समस्या समाधान गर्न गठित उच्चस्तरीय अध्ययन एवं छानबिन समितिले आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको स्थलगत निरीक्षण अनुगमन गरेको छ ।

मन्त्रिपरिषद् बैठकले असार ९ गते पूर्व मुख्यसचिव शंकरदास वैरागीको संयोजकत्वमा ७ सदस्यीय समितिका सबै सदस्यहरूले कार्यालयको अनुगमन गरेका हुन् ।  उनीहरूले कार्यालय प्रमुख प्रमुख अध्यागमन अधिकृत नरहरि घिमिरेसँग सोधपुछ गर्नुका साथै भिसा ‘चेक’, कामको चाप, काम गर्ने औजारलगायत विषयमा करिब तीन घण्टा अनुगमन निरीक्षण गरेका थिए । 

समितिले यसअघि नै प्रमुख अध्यागमन अधिकृत घिमिरेसँग बयान लिइसकेको छ । समितिलाई सरकारले अध्यागमनमा देखिएको समस्या समाधान गर्न ३ महिना भित्र नीतिगत, कानुनी एवं संरचनागत सुझाव सहितको प्रतिवेदन पेस गर्ने कार्यादेश दिएको छ । 

कार्यालयमा गत जेठ ६ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारी तत्कालीन प्रमुख अध्यागमन अधिकृत तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएको थियो । त्यो विषयमा अहिले पनि अख्तियारले छानबिन गरिरहेको छ । 

यही विषयमा छानबिनका लागि संसदीय विशेष छानबिन समिति बन्नुपर्ने वा न्यायिक आयोग बनाइनुपर्ने माग गर्दै प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले विरोध गर्दै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप