आयल निगमका तत्कालीन क्षेत्रीय उपनिर्देशक कुर्मीको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
सारांश
- रुपन्देहीमा पेट्रोलियम पदार्थ ढुवानीमा भएको घोटालामा उपनिर्देशक नागेन्द्रकुमार कुर्मीको मुद्दा सर्वोच्चमा सुनुवाइ हुने भएको छ।
- विशेष अदालतले दोषी ठहर गरेपछि कुर्मीले सर्वोच्चमा पुनरावेदन गरेका थिए, जहाँ मुद्दा ७ महिनापछि सुनुवाइका लागि पेशी तोकिएको छ।
- अख्तियारले दायर गरेको आरोपपत्रमा करिब ८ करोडको नोक्सान भएको र तेल चोरीमा संलग्न व्यक्तिहरू विरुद्ध मुद्दा दायर गरेको थियो।
काठमाडौँ । भारतबाट रुपन्देहीसम्म पेट्रोलियम पदार्थ ढुवानीमा भएको घोटाला प्रकरणमा जोडिएका नेपाल आयल निगमको क्षेत्रीय कार्यालयका उपनिर्देशक नागेन्द्रकुमार कुर्मीको मुद्दा सर्वोच्चमा ७ महिनापछि सुनुवाइका लागि पेसी तोकिएको छ । यसअघि साधारण तारेखमा राखिएको मुद्दा साउन १९ का लागि पेसीमा चढेको हो ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र मेघराज पोखरेलको संयुक्त इजलासमा कुर्मीसहितको आधा दर्जन भ्रष्टाचारका मुद्दामा पेसी तोकिएको छ । २९ वैशाख २०७५ मा विशेष अदालतले उपनिर्देशक कुर्मीसहित १७ जनालाई दोषी ठहर गरेको थियो ।
विशेषले कुर्मीसहित प्रबन्धकद्वय दीपेन्द्र बस्नेत र रविनकुमार रावतलाई डेढ वर्ष जेल तथा ६ लाख ७० हजार ९ सय १० रुपैयाँ बिगो असुल गर्न अदालतको आदेश दिएको थियो ।
विशेष अदालतबाट दोषी ठहर गर्दै जेल सजाय र जरिवाना गरेपछि कुर्मी सो विरुद्ध २७ फागुन २०७५ मा सर्वोच्च पुगेका थिए । सर्वोच्चमा ७ वर्षदेखि हेर्न नभ्याइने, स्थगित र साधारण तारेखमा राखिँदै आएको कुर्मीको मुद्दा सुनुवाइका लागि सोमबार पेसीमा चढेको हो ।
३१ भदौ २०७१ मा अख्तियारले विशेष अदालतमा दायर गरेको आरोपपत्रमा १ करोड ९ लाख ३६ हजार रुपैयाँ बराबरको पेट्रोलियम पदार्थको राजस्व नतिरेको र ६ करोड १७ लाख रुपैयाँको पेट्रोलियम पदार्थ झिकेको उल्लेख छ । कर्मचारीले ५१ लाख ४५ हजार रुपैयाँ घुस लिएकोसमेत गरी राज्यलाई झन्डै ८ करोडको नोक्सान भएकाले त्यसको असुल उनीहरूबाटै गरिनुपर्ने भन्दै मुद्दा पेस भएको थियो ।
अख्तियारले तेल चोरीमा संलग्न भएको भन्दै आयल निगमका ८ कर्मचारी, पेट्रोलियम व्यवसायी ४, ट्याङ्कर धनी ६६ र चालक १९ जना विरुद्ध मुद्दा दायर गरेको थियो। अख्तियारले उनीहरूबाट ७ करोड ७७ लाख ८४ हजार बिगो असुल हुनुपर्ने माग गरेको थियो ।
अख्तियारले तेल चोरीमा निगमको क्षेत्रीय कार्यालयका उपनिर्देशक कुर्मी, प्रबन्धक दीपेन्द्र बस्नेतसहित ३ जना सहायक प्रबन्धक र २ उपप्रबन्धक रहेको दाबी आरोप पत्रमा गरेको छ । यस्तै, व्यवसायीमा शङ्कर भट्टराई, सुरेशप्रसाद उमर, राजु न्यौपाने र लोकप्रसाद भुसाल तेल चोरीमा संलग्न रहेको अख्तियारको आरोप पत्रमा उल्लेख छ।
२०७१ वैशाख १६ गते रुपन्देही प्रहरी र राष्ट्रिय सतर्कता केन्द्रले संयुक्त रूपमा छापा मार्दै तेल चोरिरहेको अवस्थामा करिब ३ दर्जनलाई पक्राउ गरेको थियो । पक्राउ परेकाहरू रुपन्देही जिल्ला अदालत र पुनरावेदन अदालत बुटवलको आदेशमा धरौटीमा रिहा भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण