महिनावारी, एक धार्मिक सरुवा रोग
महिनावारीको विज्ञान र विश्वास
महिलाको शरीरले प्रत्येक महिना सम्भावित गर्भ धारणको तयारी गर्छ । जब त्यो गर्भधारण हुँदैन, तब पाठेघरको भित्तोबाट रगत बग्ने प्रक्रिया सुरु हुन्छ, यसैलाई महिनावारी भनिन्छ ।
महिनावारी चक्रको पहिलो दिन रक्तस्राव सुरु भएको दिनलाई मानिन्छ । करिब पाँच दिनसम्म रक्तस्राव हुने र त्यसपछि महिलाको शरीरमा ‘एस्ट्रोजन’ नामक हर्मोनको मात्रा बढ्न थाल्छ । यसले गर्भाशयको भित्तो ‘एन्डोमेट्रियम’लाई बाक्लो र गर्भधारणका लागि तयार बनाउँछ ।
त्यसैबिच अण्डाशयमा रहेका ‘फोलिकल्स’मा अण्डा बन्न थाल्छ । चक्रको करिब १२ देखि १४ दिनमा (चक्र २८ दिनको छ भने) एउटा परिपक्व अण्डा अण्डाशयबाट निस्कन्छ, यसलाई ‘ओभुलेसन’ भनिन्छ । ओभुलेसन महिनावारी चक्रको पहिलो दिनपछि १० देखि २१ दिनभित्र जुनसुकै दिन हुन सक्छ ।
गर्भधारण भएन भने हर्मोनहरू (एस्ट्रोजेन र प्रोजेस्टेरोन’) को मात्रा घट्छ, जसका कारण पाठेघरको भित्तो ‘एन्डोमेट्रियम’को तह टुट्दै जान्छ र शरीरबाट बाहिर निस्कन्छ, यही प्रक्रिया नै महिनावारी हो । यसरी महिनावारी चक्रका क्रममा पाठेघरको भित्री तह बिस्तारै बाक्लो बन्ने र पुनः भत्किने प्रक्रिया चलिरहन्छ । सामान्य महिनावारी चक्रमा करिब १२ देखि १४ दिनको आसपासमा यो तह (एन्डोमेट्रियम) सबैभन्दा बाक्लो हुन्छ तर यो बिचमा गर्भधारण भएन भने यो तह भत्किन थाल्छ । उक्त तह भत्किएर बाहिर निस्किँदा रगत बग्ने गर्छ ।
पुरुषको शुक्राणुसँग अण्डाको भेट भएर गर्भाधान (फर्टिलाइजेसन) हुन्छ । त्यो फर्टिलाइज्ड अण्डा फ्यालोपियन ट्युब हुँदै गर्भाशयको भित्तोमा गएर टाँसिन्छ । यस प्रक्रियालाई ‘इम्प्लान्टेसन’ भनिन्छ । यसबिच शरीरले एचसीजी नामक हर्मोन उत्पादन गर्छ । गर्भ परीक्षण गर्दा यही एचसीजी हर्मोन परीक्षण गरिन्छ ।
अझै पनि सहरदेखि गाउँसम्म कतिपय परिवारमा महिनावारी बार्ने चलन छ । यस्तो बेला महिलालाई समाजबाट अलग गरिन्छ, कसैलाई छुन पाइँदैन, सधैँ पूजा गर्ने देवताको पूजा गर्न निषेध गरिन्छ । भान्सामा पस्न पाइँदैन, छुट्टै भाँडा प्रयोग गर्नुपर्छ, छुट्टै सुत्नुपर्छ ।
यसरी महिनावारी महिलाको स्वास्थ्य र प्रजनन क्षमताको प्राकृतिक चक्र हो, जसले महिला शरीरलाई सम्भावित गर्भ धारणको तयारी गर्न र त्यसको सफलताका आधारमा फेरि चक्र दोहोर्याउन मद्दत गर्छ ।
यो त भयो, विज्ञानका कुरा । हाम्रो समाजको वास्तविकता र यो वैज्ञानिक यथार्थबिच कतै तालमेल मिलेको देखिँदैन । हाम्रो समाजको आँखामा महिनावारी भनेको महिलाको जीवनमा आउने यस्तो अवस्था हो, जहाँ महिलाले अरू सामान्य मानिससरह जीवन जिउन पाउँदिनन् । अझै पनि सहरदेखि गाउँसम्म कतिपय परिवारमा महिनावारी बार्ने चलन छ । यस्तो बेला महिलालाई समाजबाट अलग गरिन्छ, कसैलाई छुन पाइँदैन, सधैँ पूजा गर्ने देवताको पूजा गर्न निषेध गरिन्छ । भान्सामा पस्न पाइँदैन, छुट्टै भाँडा प्रयोग गर्नुपर्छ, छुट्टै सुत्नुपर्छ । उनले छोएको सबै कुरा अपवित्र ठानिन्छ । त्यो पाँच दिनका लागि मानौँ उनी कुनै भयानक सरुवा रोग लागेकी संक्रमित हुन्, जसलाई टाढा राख्नैपर्छ अन्यथा पूरै समाज नष्ट हुन्छ ।
कोभिड महामारीका बेला संक्रमितलाई अलग कोठामा राखियो, परिवारसँग टाढा गरियो, खानेकुरा छुट्टै राखियो, कसैले छोएनन् । किनभने त्यो एक गम्भीर सरुवा रोग थियो तर सोच्नुस्, आफ्नो शरीरको प्राकृतिक प्रक्रिया अनुभव गरिरहेका आधारमा कसैलाई त्यही व्यवहार किन गरिन्छ ? महिनावारी भएका महिलामाथि हाम्रो समाजले गरिरहेको व्यवहार कोभिड संक्रमितमाथि गरिने ‘आइसोलेसन’ भन्दा के फरक छ ? नेपाली समाजको आँखामा बाँधिएको यो पट्टी फुकाउनु मानव इतिहासमा निकै ठुलो चुनौती बनेको छ ।
सामान्यतया महिलाले आफ्नो जीवनकालमा झन्डै चार सय पटकसम्म महिनावारीको अनुभव गर्छन् । आफ्नो जीवनको सरदर सात वर्ष महिलाले महिनावारी भएर बिताउने गर्छन् । नेपालमा महिनावारीलाई छाउ हुनु, पर सर्नु, टणिनु, पाखा लाग्नु, बाहिर हुनु, नछुने हुनुजस्ता विविध नामले पुकार्ने गरिन्छ । महिनावारी भएकी महिलालाई सुदूरपश्चिम तथा कर्णालीमा छाउपडी भनिन्छ । यो अवधिमा महिलाले के भोग्नुपरेको छ, त्यो भोग्ने महिलालाई बाहेक अरु कसलाई अनुमान होला र ?
शारीरिक विकासको एक सामान्य प्रक्रिया हुँदाहुँदै पनि महिनावारी हाम्रो समाजको यस्तो बाध्यात्मक चक्रमा फसेको छ, जहाँ पढे–लेखेका भनिएका पुरुषले महिलालाई महिनावारी बार्न लगाउँछन् । महिनावारीको व्यथा महिलालाई नै थाहा हुन्छ । कहिले दुखेर ऐय्या आत्था भन्दै कराउनुपर्छ, ढाड दुखेर पेट नै फुट्लाझैँ हुन्छ, कहिले रगतको खोलो बगिरहेको हुन्छ, कहिले झनक्क रिस उठ्छ । हरेक महिनाजसो यस्ता शारीरिक अनि मानसिक परिवर्तनसँग जुधिरहेका बेला सबैभन्दा बढी कसैको साथ र हौसलाको खाँचो पर्छ । त्यही बेला तिमी छुन नमिल्ने भयौँ, हेर्न नमिल्ने भयौ भनेर अलग्गै बस्नुपर्ने कस्तो बाध्यता होला ?
कसैलाई जन्म दिन एउटा शरीर तयार भइरहेको अवस्था हो महिनावारी । मानवलाई जन्म दिनुजस्तो सुन्दर कुरा मानवका लागि यो धर्तीमा अर्को के छ ? हाम्रो समाजमा आमालाई भगवान्कै दर्जा दिन्छु भन्नेहरू छन् तर त्यही आमा बन्ने योग्यता वा प्रक्रिया (महिनावारी)लाई किन घृणा ? नारी भएकै कारण आफूमाथि भएको अन्याय सहेर बस्नुपर्ने, केही बोले धर्म–संस्कार नमान्ने भइने— यो कस्तो बाध्यता हो ?
यो बाध्यता नेपालमा मात्र सीमित भने छैन ‘एम गुटरम्यान, पी मेहता र एम गिब्सले विश्व स्वास्थ्य र सामाजिक राजनीति विद्युतीय जर्नलमा सन् २००७ मा ‘महिनावारीसँग सम्बन्धित कुरीति र विश्वका प्रमुख धर्महरू’ शीर्षकको लेख लेखका छन् । जसमा भनिएको छ, ‘धेरैजसो क्रिस्चियन सम्प्रदायले महिनावारीसँग सम्बन्धित विशेष नियम वा संस्कारहरू अनुशरण गर्दैनन् तर क्रिस्चियन प्रभावमा रहेको पश्चिमी सभ्यतामा प्रायः महिनावारीबारे विभिन्न निषेध प्रचलित थिए, जहाँ महिनावारी भएकी महिलालाई खतरनाक मानिन्थ्यो र उनीमाथि सामाजिक प्रतिबन्ध लगाइन्थ्यो । क्याथलिक धर्ममा समेत महिलाले महिनावारीका बेला यौन सम्बन्ध राख्न हुँदैन भन्ने विश्वास छ । रुसका अर्थोडक्स क्रिस्चियनहरूले अझ कठोर नियम पालना गर्छन् । यस्तै इस्लाममा महिनावारीलाई धार्मिक दृष्टिले महिनावारीको समयमा महिलाले मस्जिद प्रवेश गर्न, प्रार्थना वा रमजानको उपवास गर्न, कुरान छुन वा पाठ गर्न पाउँदैनन् । सात दिनसम्म यौन सम्बन्ध निषेध हुन्छ । अझै हिन्दु धर्म मान्नेहरूले त महिनावारी भएकी महिलालाई ‘अशुद्ध’ वा ‘दूषित’ मान्ने परम्परा छ र कतिपय ठाउँमा यसलाई ‘श्राप’ पनि भनिन्छ ।’
यति भनिरहँदा हामीले स्वीकार गर्नुपर्ने पाटो के छ भने शरीरबाट रगतको धारा बगिरहँदा ‘फोहोरी भइस्’ भन्ने सुविधा पक्कै मिल्छ तर ‘पापी’, ‘अछुत वा अशुद्ध’ भन्ने किन ? प्रकृतिले प्रकृति चलाउन भनी दिएको सबैभन्दा सुन्दर उपहारलाई यति अपवित्र कसले बनाइदियो ? के हाम्रा धर्मशास्त्रमा यस्ता नियम लेखिएका छन् ?
अर्कोतिर बुद्ध स्वयंले आन्तरिक शुद्धताको कुरा गर्नुहुन्छ र बाह्य शुद्धताभन्दा मनको करुणा, अहिंसा र प्रेमपूर्ण दृष्टिकोणमा जोड दिनुभएको छ, बुद्धको शिक्षा अनुसार महिनावारीलाई अपवित्रताको विषय मानिदैन न त कुनै ग्रन्थमा यो कुरा लेखिएको नै छ ।
परापूर्वकालमा हाम्रा पुर्खाले सायद महिनावारी भएका बेला काम गर्न नपरोस् भनी हाम्रै हितका लागि यसरी आरामका निम्ति समय छुट्ट्याइदिएका थिए होला तर अहिले ? युग फेरियो, समयले फड्को मार्यो तर सोच त्यही युगमा कतै छुट्यो । भन्नलाई त एआईको जमाना भन्छौँ तर विश्वमा राज गरेर बसिरहेका हाम्रो सामान्य ‘ह्युमन इन्टेलिजेन्स’ले नै आफ्नो अस्तित्व किन खोज्न सकिरहेको छैन ?
यति भनिरहँदा सबैको मुखमा झुन्डिएको एउटा बनावटी जवाफ आउँछ ‘पुर्खादेखि चलिआएको हाम्रो परम्परा हो यो, कहाँ यसरी छोड्न मिल्छ ?’ यो विभेद अन्त्य गरौँ भन्दा नास्तिकको ट्याग पाइन्छ । हुन त हामी एक यस्तो पुरुषप्रधान समाजमा बस्छौँ, जहाँ महिलाले पाउनुपर्ने कुनै कुनै आधारभूत अधिकारका कुरा महिलाका लागि सुनिश्चित भयो भने ‘यति गरिदिएकै छौँ त’ भन्ने अहं पुरुषमा पाइन्छ ।
प्रिसेटन विश्वविद्यालयकी प्राध्यापक लुवा टाइसनको ‘नारीवादी समालोचना’ शीर्षकको लेखमा उल्लेख छ, ‘पुरुषप्रधान समाजमा व्याप्त पुरुषवादी चिन्तन तथा व्यवस्थाबाट टाढिनु मुस्किल छ । फेरि यसरी यसलाई पुरुषवादी चिन्तन तथा व्यवस्था भनिरहँदा लाग्न सक्छ, महिला स्वयंले पनि यो विभेद गरेका छन्, त्यो के हो त ? वास्तविकता यो पनि हो । महिला भएर एक महिलाको दुःख बुझ्नुको साटो अझै दुःख र पीडा दिने महिलाहरूको संख्या हाम्रो समाजमा कम छैन ।’
नारिवादी चिन्तक प्राध्यापक लुवा टाइसन अगाडि लेख्छिन्, ‘पुरुषप्रधान समाजमा कोही महिलाहरू पुरुषवादी चिन्तन र व्यवस्थासँग यतिसम्म ‘प्रोग्राम्ड’ भइसकेका हुन्छन् कि पुरुषवादी चिन्तन र व्यवस्थालाई उनी आफ्नै चिन्तन र व्यवस्था मान्न थाल्छन् । ती महिला पुरुषवादी चिन्तन लागु गर्न सहायक बनिरहेका हुन्छन्, महिलाहरू माथि भएको विभेदको पत्तै पाउँदैनन् । तिनीहरूमा महिला विभेदप्रतिको चेत मरिसकेको हुन्छ ।’
यति आवाज उठिरहँदा र यति धेरै कोसिस भइरहँदा पनि परिवर्तन कागजका खोस्टामा सीमित भएको छ । सदियौँदेखि पुस्ता–पुस्तामा सर्दै आजसम्म आइपुग्दा पनि अवस्था यति दर्दनाक छ । त्यसैले महिनावारी एक नारीका लागि वरदान हो तर यसलाई लिएर भाँडिएको समाजको ठुलो कित्ता एक सरुवा धार्मिक रोगको सिकार छ ।
संविधान र कानुनमा महिलालाई समानता र भेदभावरहित जीवन जिउने अधिकार सुनिश्चित गरिएको छ । महिनावारी विभेदलाई छाउपडीको नामसँग जोडेर २०७४ सालमा गैरकानुनी घोषित गरिएको थियो । संविधान व्यवस्था गरिएका ३१ वटा मौलिक हकले यस्ता कार्यलाई स्वीकार गर्दैनन् । यद्यपि महिनावारी भएका बेला बार्ने एक चलनले मात्र एक साथ यी सबै अधिकार आफ्नो पैतालामुनि कुल्चिएको अवस्था छ । अब महिनावारीको विभेदलाई ‘महिला हिंसा किन नभन्ने ?’ भन्ने प्रश्नको जवाफ नेपाली समाजसँग माग्नुपर्नेछ । महिनावारी हुनु पाप हो भने यसलाई पापको संज्ञा दिन सक्ने ती व्यक्ति पनि पापी हुनुपर्ने हो ।
(खनाल पूर्वाञ्चल युनिभर्सिटीमा पब्लिक हेल्थमा स्नातकमा अध्ययनरत छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जुलियन किन्योनेसः रोनाल्डोलाई पछि पार्ने सुपरस्टार
-
विदेशमा पीआर लिएर बसेका दुई कर्मचारीलाई सरकारी सेवामा अयोग्य ठहरिने गरी कारबाही सिफारिस
-
सगरमाथा आरोहण गर्ने निलमको गुनासो, ‘ट्रान्स भएकै कारण स्पोन्सरले सिधै अस्वीकार गरे’
-
लैङ्गिक हिंसाविरुद्ध एकीकृत कानुन बन्दै, मानव बेचबिखन नियन्त्रण ऐन संशोधन हुने
-
शहिद परिवारका १६ जनालाई प्राधिकरणमा रोजगारी
-
इनड्राइभमा यात्रा गर्दा विश्वकप फुटबल हेर्ने फ्री पास जित्ने मौका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण