बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
पशुस्वास्थ्य

'लम्पी स्किनको सङ्क्रमण रोक्न प्रदेशमा खोप अभाव भयो'

बुधबार, २१ साउन २०८२, १२ : ००
बुधबार, २१ साउन २०८२

सारांश

  • कोशी प्रदेशमा लम्पी स्किन रोगको प्रकोप बढेको छ, हजारौं पशु प्रभावित र सयौंको मृत्यु भएको छ।
  • खोपको अभाव रहेको र सरकारले खोप कार्यक्रमलाई प्राथमिकतामा नराख्दा रोग फैलिएको हो।
  • रोग नियन्त्रणको लागि खोपलाई राष्ट्रिय खोप कार्यक्रममा समावेश गर्नुपर्ने र किसानले जैविक सुरक्षामा ध्यान दिनुपर्ने देखिन्छ।

विराटनगर । पछिल्लो समय कोशी प्रदेशमा लम्पी स्किन रोगले भयावह रूप लिएको छ । यस विषयमा सांसदहरूले प्रदेश तथा सङ्घीय संसद्मा समेत आवाज उठाएका छन् ।

रोगको प्रकोप, नियन्त्रणका प्रयास, खोपको अवस्था र दीर्घकालीन समाधानका विषयमा पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, कोशी प्रदेशका वरिष्ठ पशु विकास अधिकृत डा. गंगाराम यादवसँग गरिएको कुराकानीको सम्पादित अंश :

कोशी प्रदेशमा लम्पी स्किन रोगको अवस्था साँच्चै भयावह नै हो ? अहिलेको खास अवस्था के हो ?

हो, सांसदहरूले संसद्मा उठाउनुभएको कुरा एकदमै सान्दर्भिक छ । हाम्रो तथ्याङ्कले पनि यसको पुष्टि गर्छ । अहिले प्रदेशका अधिकांश जिल्लामा यो रोग फैलिएको छ र यसबाट हजारौँ पशु प्रभावित भएका छन् भने सयौँको मृत्यु भइसकेको छ ।

अघिल्लो वर्ष नियन्त्रणमा जस्तै रहेको यो रोग अहिले एक्कासि किन यसरी फैलियो ? यसका मुख्य कारणहरू के–के हुन् ?

यसका केही प्रमुख कारण छन् । गत आर्थिक वर्षमा यो रोग त्यति नदेखिएकाले पालिकाहरूले पनि खोप कार्यक्रमलाई प्राथमिकतामा राख्नुभएन । त्यति ध्यान दिनुभएन । अर्को महत्त्वपूर्ण कुरा, लम्पी स्किन रोग अझै पनि राष्ट्रिय पशुपन्छी खोप कार्यक्रममा समावेश भइसकेको छैन । जसले गर्दा खोरेंत, पीपीआर, स्वाइन फिभरजस्ता रोगका लागि नियमित र तालिकाबद्ध खोप कार्यक्रम छैन । अघिल्लो आर्थिक वर्षमा पालिकाहरूले आफ्नै स्रोतबाट पनि व्यापक रूपमा खोप लगाएका थिए, जसले गर्दा रोग नियन्त्रणमा थियो । तर यो वर्ष त्यसो हुन सकेन र रोग फैलियो ।

प्रदेशमा खोपको उपलब्धता र वितरणको अवस्था कस्तो छ ? अपुग भएको हो ?

खोप अपुग छ । पहिले यो खोप नेपालमा उत्पादन हुँदैनथ्यो र निकै महँगो पनि थियो । हालै एउटा निजी कम्पनीले नेपालमै उत्पादन सुरु गरेको छ । पशुसेवा विभागले यस वर्ष १५ लाख डोज खरिद गरेकोमा कोशी प्रदेशलाई करिब ४ लाख डोज उपलब्ध भएको छ, जुन हामीले लगाइरहेका छौँ । प्रदेशको कुल पशु सङ्ख्या हेर्दा यो मात्रा अपर्याप्त हो । हामीलाई जोखिममा रहेका पशुलाई मात्र लगाउँदा पनि कम्तीमा ८–१० लाख डोज खोप आवश्यक पर्छ । त्यसैले अहिले खोपको अभावकै स्थिति छ । 

यो खोप कत्तिको प्रभावकारी छ ? एकपटक लगाएपछि कति समयसम्म काम गर्छ र कुन उमेरका पशुलाई लगाउनुपर्छ ?

यो खोप प्रभावकारी नै छ । एकपटक लगाएपछि यसले एक वर्षसम्म पशुलाई सुरक्षा प्रदान गर्छ । त्यसैले हरेक वर्ष लगाउनुपर्ने हुन्छ । सामान्यतया चार महिनाभन्दा माथिका पशुहरूलाई यो खोप लगाइन्छ । यदि माउलाई खोप लगाएको छ भने त्यसबाट जन्मेको बाच्छा/पाडालाई चार महिनासम्म माउकै शरीरबाट प्राप्त प्रतिरोधात्मक क्षमताले काम गर्ने भएकाले लगाउनु पर्दैन ।

खोपको लागत कति पर्छ ? सरकारले समयमा उपलब्ध गराउन नसके किसानले आफैँ किनेर लगाउन सक्ने अवस्था छ कि छैन र यो कार्यक्रमका लागि प्रदेश सरकारलाई कति बजेट आवश्यक पर्ला ?

खोपको लागत पहिले निकै महँगो थियो । सुरुवाती चरणमा प्रतिडोज ३००–४०० रुपैयाँसम्म पथ्र्यो । तर अहिले नेपालमै उत्पादन हुन थालेपछि सस्तो भएको छ । सरकारले खरिद गर्दा प्रतिडोज २४ रुपैयाँमा पाएको छ भने बजारमा किसानलाई ५० देखि ६५ रुपैयाँसम्म पर्छ । 

किसान आफैले किनेर खोप लगाउन सक्ने अवस्था छ र बजारमा खोप उपलब्ध छ । यदि सरकारी खोपको प्रतीक्षा गर्न नसक्ने अवस्था भए बजारबाट खोप खरिद गरी प्राविधिक बोलाएर लगाउन सकिन्छ । यसो गर्दा प्राविधिक शुल्कसहित प्रतिपशु ३०० देखि ५०० रुपैयाँसम्म खर्च लाग्न सक्छ । प्रदेशस्तरमा यो कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्न प्रदेश सरकारले प्रत्येक वर्ष कम्तीमा २ करोड रुपैयाँ बजेट छुट्याउन सक्यो भने संघबाट आउने खोपमा थप गरेर कार्यक्रमलाई विस्तार गर्न सकिन्छ र रोग नियन्त्रणमा ठुलो मद्दत पुग्छ । 

रोग नियन्त्रणका लागि प्रदेश सरकार र स्थानीय पालिकाहरूले के–कस्ता कदम चालिरहेका छन् ?

प्रदेश सरकारले यो रोग देखा पर्छ भन्ने अनुमान गरेर केही तयारी गरेको थियो । हामीलाई विभागबाट प्राप्त भएको खोप जोखिम बढी भएका जस्तैः झापा, मोरङ, सुनसरी र अन्य पहाडी जिल्लाहरूमा पनि वितरण गर्‍यौँ । यसका साथै, रोग लागेका पशुको उपचारका लागि केही औषधिहरू खरिद गरेर जिल्ला–जिल्लामा पठाएका छौँ । 

हामीले रोग देखिएको क्षेत्रको वरिपरि ‘रिङ भ्याक्सिनेसन’ गर्न र जोखिमयुक्त क्षेत्रमा तत्काल खोप लगाउन निर्देशन दिएका छौँ । तर, पालिकाहरूले आफ्नो बजेटबाट कृषि तथा पशु स्वास्थ्यका लागि पर्याप्त लगानी नगरेको देखिन्छ । उहाँहरू संघ र प्रदेशबाट आउने ससर्त अनुदानमा बढी निर्भर हुँदा यस्ता आकस्मिक प्रकोपसँग जुध्न समस्या भएको छ ।

अहिलेसम्म यो रोगबाट कोशी प्रदेशमा कति पशु प्रभावित भएका छन् र कति मरे ? कुन–कुन जिल्ला बढी प्रभावित छन् ?

गत आइतबारसम्मको तथ्यांकअनुसार प्रदेशमा करिब २२ हजार १२२ पशु सङ्क्रमित भएका छन् । यसमध्ये ६३७ पशु मरिसकेका छन् । जसमा ६३५ गाईगोरु र २ वटा भैँसी छन् । मर्नेमा अधिकांश साना बाच्छाबाच्छी छन् । सबैभन्दा बढी प्रभावित जिल्लाहरूमा झापा, मोरङ र सुनसरी रहेका छन् । प्रदेशका १४ जिल्लामध्ये अब ओखलढुंगा, सोलुखुम्बु र संखुवासभामा मात्र यो रोग देखिएको छैन । 

कुनै पशुलाई लम्पी स्किन रोग लागिसक्यो भने के हुन्छ ? यसका लक्षणहरू के हुन् र यसको उपचार सम्भव छ ?

रोग लागिसकेपछि खोप लगाउनु प्रभावकारी हुँदैन । उल्टै त्यसले रोग बढाउन सक्छ । यो भाइरल रोग भएकाले यसको निश्चित उपचार छैन । लक्षणअनुसारको उपचार गर्नुपर्छ । यसका मुख्य लक्षणहरूमा शरीरमा कडा गिर्खाहरू (फोका) देखा पर्नु, उच्च ज्वरो आउनु, मुख र नाकबाट सिगान बग्नु, दूध घटाउनु र गर्भ तुहिनु हुन् । उपचारका लागि ज्वरो घटाउने, घाउमा सङ्क्रमण हुन नदिन एन्टिबायोटिक चलाउने र झिँगाबाट बचाउन मलम लगाउने जस्ता उपाय अपनाइन्छ । राम्रो स्याहारसुसार र पोषण पाएमा धेरै पशु निको हुन्छन् । 

यो रोगलाई दीर्घकालीन रूपमा नियन्त्रण गर्न के गर्नुपर्ला ? के यसलाई राष्ट्रिय खोप कार्यक्रममा समावेश गर्न आवश्यक छ ?

एकदमै जरुरी छ । हामीले यो विषयमा सङ्घीय मन्त्रालय र विभागमा बारम्बार छलफल र अनुरोध गरेका छौं । लम्पी स्किन अब नेपालमा स्थापित भइसकेको छ । त्यसैले यसलाई राष्ट्रिय खोप कार्यक्रममा समावेश नगरी दीर्घकालीन समाधान सम्भव छैन । यसो गर्दा खोपको नियमित आपूर्ति, बजेट व्यवस्थापन र देशव्यापी अभियान चलाउन सहज हुन्छ । प्रदेश सरकारले पनि आफ्नो स्रोतबाट खोप खरिद गर्न बजेट बढाउनुपर्छ । 

अन्त्यमा, किसानहरूले आफ्नो पशुलाई यो रोगबाट बचाउन के–कस्ता सावधानी अपनाउन सक्छन् ?

सबैभन्दा महत्त्वपूर्ण जैविक सुरक्षा हो । किसानहरूले आफ्नो फार्म/गोठ सफा राख्ने, नियमित रूपमा निःसंक्रमण गर्ने (फिनाइल पानी छर्किने) । रोग देखिएको क्षेत्रमा आफ्नो पशुलाई चराउन नलाने र त्यहाँका पशुसँग सम्पर्क हुन नदिने । नयाँ पशु किनेर ल्याउँदा कम्तीमा २–३ हप्ता छुट्टै (क्वारेन्टाइनमा) राखेर मात्र गोठमा मिसाउने । 

गोठमा बाहिरी मान्छेलाई प्रवेश गर्न नदिने । कोही पसेमा हातखुट्टा र जुत्ता सफा गरेर मात्र पस्न दिने । झिँगा, लामखुट्टे, किर्ना जस्ता कीराहरूबाट पशुलाई बचाउने । समयमै, अर्थात् रोगको सिजन (बर्खा) सुरु हुनुअघि नै (फागुन–चैतमा) आफ्ना पशुलाई खोप लगाउने गरेमा यो जोखिमको अन्त्य गर्न सकिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप