बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

अज्ञात रोगबाट चरीगाउँका पशु चौपाया मरे

बिहीबार, २२ साउन २०८२, ०० : ४४
बिहीबार, २२ साउन २०८२

सारांश

  • हुम्लाको चङ्खेली गाउँपालिका-६ चरी गाउँमा अज्ञात रोगका कारण ६० भन्दा बढी पशु चौपाया मरेका छन्।
  • पशु चौपायामा पेट सुनिने, रगत देखिने जस्ता लक्षण देखिएको छ भने किसानहरूलाई ठूलो क्षति पुगेको छ।
  • रोग फैलिएपछि लेकतिरको जङ्गल दुर्गन्धित भएको छ र स्वास्थ्यकर्मीको अभावमा उपचार हुन सकेको छैन।

हुम्ला। जिल्लाको मध्यभेकमा रहेको चङ्खेली गाउँपालिका–६ स्थित चरी गाउँमा अज्ञात रोगका कारण पशु चौपाया मर्न थालेका छन् । दुई सातादेखि फैलिएको अज्ञात रोगले ६० भन्दा धेरै पशु चौपाया मरिसकेका छन् ।

अचानक पशुचौपायाको पेट सुनिने, छाती सुनिने, दिसा गर्न नसक्ने, घाँस नखाने, र्‍याल छाड्ने, दिसापिसावमा रगत देखिने लक्षणसहितको रोगले अहिलेसम्म चरीगाउँको लामालेखमा १०, जुम्खेलामा ११, क्षेल्दुममा १०, मुन्खेतीमा छ, धुन्देउमा आठ, रातामाटामा नौ र लाङ्गोरमा पाँच वटाभन्दा धेरै गाई, गोरु र बाच्छासमेत मरेका चङ्खेली गाउँपालिका–६ चरीगाउँका प्रमसिंह सिराले बताए।

अज्ञात रोग फैलिएकाले अहिलेसम्म चङ्खेली गाउँपालिकाको चरीगाउँका किसानका ६० भन्दाबढी पशु चौपाया मरेपछि यहाँका किसानलाई ठूलो क्षति पुगेको छ । खेतबारी जोत्नका लागि एक हल गोरु जोगाउन पनि धौधौ भएको किसानको भनाइ छ । यो समयमा अधिकांश किसानका पशु चौपाया अहिले लेकतिरको खर्क लिने समय भएकाले पनि लेखमा पशु चौपाया मरेका सिराले बताए ।

अज्ञात महामारीले पशु चौपाया मर्न थालेपछि लेकतिरको जङ्गलसमेत दुर्गन्धित भएको छ । खर्कहरूबाट गाउँघरमा पशु बिरामी भएको खबर आए लगत्तै चङ्खेली गाउँपालिकाको पशु शाखामा औषधिका लागि हप्ता दिन धाउँदा स्वास्थ्यकर्मी नभएको र पशु शाखाको ढोका चौबिसै घण्टा बन्द हुँदा रित्तो हात लिएर फर्किनुपरेको सिराले बताए । 

गाउँपालिकामा खबर गर्दासमेत औषधि छैन भन्दै कुनै पनि सुनुवाइ नभएको सिराले बताए । चालु आर्थिक वर्ष सुरु भएको समयदेखि गाउँपालिकाबाट बाहिरिएका पशु स्वास्थ्यकर्मी गाउँमा नभएपछि बिरामी परेका पशु चौपायालाई तत्काल उपचार गर्ने व्यवस्था नभएको स्थानीयको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप