नेपालका राजनीतिक दलमा चर्किँदै गरेको अन्तर्द्वन्द्व
सारांश
- नेपालका राजनीतिक दलहरूमा आन्तरिक कलह बढ्दै गएको छ, जसमा गुटबन्दी, पदका लागि प्रतिस्पर्धा, र आर्थिक पारदर्शिताको अभाव मुख्य कारणहरू छन्।
- नेकपा एसका नेताहरू माधवकुमार नेपाल र झलनाथ खनालबीच वैचारिक मतभेद देखा परेको छ, जसले पार्टीभित्रै अन्तर्द्वन्द्व निम्त्याएको छ।
- खनाल मार्क्सवाद-लेनिनवादमा आधारित कम्युनिस्ट एकताको पक्षमा छन् भने नेपाल गठबन्धन र सत्ता साझेदारीलाई प्राथमिकता दिँदै व्यावहारिक रणनीतिमा जोड दिन्छन्।
यति वेला नेपालका ठुला साना प्राय सबै राजनीतिक दलमा आपसी अन्तरकलह बढ्दै गएको छ । नेपाली कांग्रेसमा देउवाको सत्तामोह, गुटगत प्रवृत्ति, व्यक्तिवादी महत्त्वाकाङ्क्षा र परिवारवादी संस्कृतिका विरुद्ध शेखर कोइरालाले मुहिम चलाइ रहेका छन् । उनका कम्पनी कमान्डरलाई देउवाले आफ्नो बटालियनमा प्रमोसन गरे पछि उनको मुहिम विना सेनाको सेनापतिमा परिणत भएको छ ।
नेकपा एमालेमा पूर्वराष्ट्रपति विद्या देवी भण्डारीले अब म आफ्नै पार्टीमा फर्किए है मात्र भन्दा, बालुवाटारमा ८ रेक्टर स्केलको भुइँचालो आयो र च्यासलमा गएर प्रवेशद्वार अगाडिको पुल नै भत्काइ दिने निर्णय गरियो ।
नेकपा माओवादी केन्द्रमा जनार्दन शर्मा प्रभाकरले केही समय पहिले १४ पेजको ह्याण्ड ग्रिनेड फ्याँकेका थिए, त्यस वेला एक्सप्लोसिभ फ्युजको पिन नफुत्किएका कारण ठुलो क्षति हुन पाएन । तर केही समय पछि पुष्पलाल स्मृति दिवसका दिन उनले एचएमजीबाट एउटा फायर खोले । त्यसले पेरिसडाँडामा खैलाबैला मच्चाइ दियो ।
अर्को तिर राप्रपा नेपालका अध्यक्ष लिङ्देनले निहुँ खोज्ने जतिलाई पार्टीबाट भटाभट निष्कासन गरेपछि राजावादी कित्ताले लिङ्देनलाई नै अध्यक्षबाट हटाउने तानाबाना बुन्दै गरेका छन् । यसैगरी नागरिक उन्मुक्ति पार्टीले जीवन सङ्गिनीलाई हटाएर पिताश्रीलाई पार्टी अध्यक्ष बनाउनु र तराइको मसिहा जनमत पार्टीका अध्यक्ष सिके राउतले आफ्नै सहोदर दाजुलाई पार्टी अध्यक्ष बनाउँदा ती पार्टीहरूमा चर्किँदै गरेको अन्तरद्वन्द्वले सञ्चार माध्यममा स्थान बनाएका छन् ।
कुनै पनि राजनीतिक दलहरूको आर्थिक गतिविधि पारदर्शी हुँदैनन्। पार्टी चलाउन, चुनाव लड्न र कार्यकर्तालाई परिचालन गर्न ठुलो मात्रामा पैसा खर्च हुन्छ, तर यसको स्रोत खुलाइँदैन।
आज नेपालका सबैजसो राजनीतिक दलहरूमा आन्तरिक कलह देखिनु एउटा गम्भीर समस्या बनेको छ। यसको पछाडि धेरै कारणहरू जिम्मेवार छन्। यी कारणहरूलाई बुझ्न सके मात्रै यसको समाधान खोज्न सकिन्छ। सबभन्दा पहिलो कुरा हो, नेपाली राजनीतिमा नेताहरूबिच पद, प्रतिष्ठा र शक्तिका लागि तीव्र प्रतिस्पर्धा हुन्छ र त्यो अस्वस्थ पनि हुने गर्दछ। किनभने एउटै पार्टीभित्र पनि धेरै नेताहरू आफूलाई शीर्ष स्थानमा देख्न चाहन्छन् र एउटै पदमा धेरैको दाबी हुन्छ । त्यसका लागि गुट-उपगुटहरू सक्रिय हुने गर्छन् । सँगसँगै अर्को कुरा हो भने, पार्टी अध्यक्ष, प्रधानमन्त्री वा मन्त्री बन्नका लागि एक नेताले अर्को नेताको खुट्टा तान्ने, सार्वजनिक रूपमा आलोचना गर्ने र पार्टीभित्रै समानान्तर गतिविधि चलाउने पनि गर्छन्। यसले पार्टीलाई कमजोर बनाउँछ र कार्यकर्ताहरूलाई पनि विभाजित गर्छ।
अनि तेस्रो कुरा हो, कुनै पनि राजनीतिक दलहरूको आर्थिक गतिविधि पारदर्शी हुँदैनन्। पार्टी चलाउन, चुनाव लड्न र कार्यकर्तालाई परिचालन गर्न ठुलो मात्रामा पैसा खर्च हुन्छ, तर यसको स्रोत खुलाइँदैन। पार्टीका थर्ड लेयरका नेता देखि लिएर आम प्रतिनिधि समेतले पार्टीको आन्तरिक चुनाव वा महाधिवेशनमा हुने गरेको ठुलो रकमको स्रोतका बारेमा प्रश्न उठाउन खोज्यो भने चाहे त्यो नेता होस या कार्यकर्ता विवाद सुरु भैहाल्छ । साथै, लाभको पदमा रहेकाहरूले गर्ने अनियमितता वा भ्रष्टाचारको विषय पनि पार्टीभित्र मतभेद र झगडा जन्माउन कारक तत्त्व हुने गरेका छन् ।
- वैचारिक विचलन र सिद्धान्तहीनता
नेपालका प्राय सबै राजनीतिक दलहरूले आफ्नो मूल विचार वा सिद्धान्तलाई छोडेका छन्। नेपाली कांग्रेसले चुनावमा भोट माग्न जाँदा बीपीको समाजवाद भन्छ, तर सरकारमा गएपछि त्यसलाई बिर्सन्छ । नेपालको कम्युनिस्ट आन्दोलनमा मार्क्सवादलाई तीनवटा कोणबाट हेर्ने बुझ्ने र दृष्टिकोण बनाउने पार्टीहरू छन् । पहिलो कोण शास्त्रीय जडशुत्रवादी, दोस्रो कोण देशकाल परिस्थिति अनुकूलवादी र श्रोत कोण प्रजातान्त्रिक समाजवादी । यी सबैको सिद्धान्त मार्क्सवाद, लेनिनवाद र कसै कसैको थप माओवाद वा विचारधारा पनि छ ।
कार्यकर्ता र तल्लो तहका नेताहरूको आवाज सुनिँदैन। महाधिवेशन र निर्वाचन जताततै नेतृत्व छनोटमा निष्पक्षता र स्वतन्त्रता हुँदैन, शीर्ष नेताहरूको 'इशारा'मा वा गुटगत आधारमा मात्रै मनोनयनको निर्णय हुन्छ।
यी सबैको न्यूनतम कार्यक्रम समाजवाद र अधिकतम कार्यक्रम साम्यवाद छ । कसैले संसदीय व्यवस्थाबाट नै समाजवाद स्थापना गर्न सकिन्छ भन्छन्, कसैले संसदीय व्यवस्थालाई समाप्त गरेर मात्र समाजवाद स्थापना गर्न सकिन्छ, भन्छन् । तर प्राय सबैले वर्तमान बहुदलीय संसदीय राजनीतिक प्रणाली अन्तरगत हुने चुनावमा भाग लिन्छन् । बहुमत प्राप्त गरे एकल सरकार नभए गठबन्धन सरकारमा सहभागी हुन्छन् । सरकारमा जानका लागि वा सत्तामा टिकिरहनका लागि विचार सिद्धान्तलाइ तिलाञ्जली दिँदै जुनसुकै जस्तोसुकै दलसँग पनि गठबन्धन गर्न पछि पर्दैनन् । यसले गर्दा पार्टीका कार्यकर्ता र समर्थकहरूमा सैद्धान्तिक र वैचारिक अन्योल सिर्जना हुन्छ, जसले पार्टीभित्र ठुलो असन्तुष्टि र कलह निम्त्याइ रहेको छ।
- आन्तरिक लोकतन्त्रको अभाव
नेपाली राजनीतिक दलहरूमा आन्तरिक लोकतन्त्र कमजोर छ। पार्टीको महत्त्वपूर्ण निर्णयहरू केही सीमित नेताहरूको 'क्लब'ले गर्छन्। कार्यकर्ता र तल्लो तहका नेताहरूको आवाज सुनिँदैन। महाधिवेशन र निर्वाचन जताततै नेतृत्व छनोटमा निष्पक्षता र स्वतन्त्रता हुँदैन, शीर्ष नेताहरूको 'इशारा'मा वा गुटगत आधारमा मात्रै मनोनयनको निर्णय हुन्छ। यसले गर्दा योग्य र इमानदार कार्यकर्ताहरू निराश हुन्छन् र पार्टी नेतृत्वप्रति असन्तुष्टि बढ्छ। यी सबै कारणहरू एक अर्कासँग जोडिएर नेपाली राजनीतिक दलहरूलाई कमजोर र अस्थिर बनाइरहेका छन्। जबसम्म यी समस्याहरूको समाधान हुँदैन, तबसम्म राजनीतिक दलहरूमा आन्तरिक कलह रहिरहन्छ।
यी र यस्तै अन्तरकलह उत्पन्न भइरहेको अवस्थामा एउटा भद्र शालीन र स्वच्छ छवि सहित सदैव सबैका समस्या समाधानमा आफूलाई समर्पित गर्दै आएको नेकपा एकीकृत समाजवादी पार्टीभित्र पनि अन्य पार्टीको रोग सल्केर हो वा यो नै बिरामी भएर हो, यहाँभित्र पनि हवाई फायर सुरु भएको छ । हवाई फायर, आकाश तर्फ पड्कायो भने त कुनै हानि हुँदैन, तर कहिलेकाहीँ तीनकुने घटनामा जस्तै छाती तिर ठोकिदियो भने त नेता र बटुवा को हो भनेर गोलीले नचिन्ने रहेछ । आखिर यी अन्तरकलह केका लागि होलान् । काम लागे पनि नलागे पनि एक छिन दिमाग लगाएर सोचौँ है त ।
झलनाथ खनालले नेपालको कम्युनिस्ट आन्दोलनलाई मार्क्सवाद-लेनिनवादका सर्वमान्य वैचारिक आधारमा अघि बढाउनुपर्ने कुरामा जोड दिन्छन्।
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का दुई प्रमुख नेता, माधवकुमार नेपाल र झलनाथ खनाल, बिचको आज उत्पन्न अन्तर्द्वन्द्वको विषयलाई बुझ्नका लागि यो दलको गठन, यसको वैचारिक आधार, नेतृत्वको संरचना, र हालको राजनीतिक परिदृश्यलाई गहिरिएर हेर्नुपर्छ। यी दुई नेताहरूको बिचमा सतहमा देखिने अन्तर्द्वन्द्व विशेष गरी नेतृत्वको महत्त्वाकाङ्क्षा, वैचारिक मतभेद, र पार्टीको भविष्यको दिशाबारे फरक दृष्टिकोणमा केन्द्रित छ। यो वैचारिक द्वन्द्व नेकपा (एकीकृत समाजवादी) को आन्तरिक गतिशीलता र नेपालको कम्युनिस्ट आन्दोलनको व्यापक सन्दर्भसँग गहिरो रूपमा जोडिएको छ। यो द्वन्द्व केवल व्यक्तिगत महत्त्वाकाङ्क्षा वा नेतृत्वको प्रतिस्पर्धामा मात्र सीमित नभएर वैचारिक दृष्टिकोण, समाजवादको व्याख्या, र राजनीतिक रणनीतिका आधारभूत प्रश्नहरूमा केन्द्रित छ।
- विचार र दृष्टिकोणमा भिन्नता
झलनाथ खनालले नेपालको कम्युनिस्ट आन्दोलनलाई मार्क्सवाद-लेनिनवादका सर्वमान्य वैचारिक आधारमा अघि बढाउनुपर्ने कुरामा जोड दिन्छन्। उनले नेपाली समाज, समाजवादी क्रान्तिको युगमा प्रवेश गरिसकेको र यसका लागि तदनुरूपको वैचारिक स्पष्टता र क्रान्तिकारी दृष्टिकोण अपनाउँदै पार्टीलाई पुँजीवादी प्रभावबाट मुक्त राख्नुपर्ने र वर्गीय आधारमा संगठनलाई बलियो बनाउनुपर्ने तर्क गर्छन्। उनले मदन भण्डारीले प्रतिपादन गरेको बहुदलीय जनवादलाई त्यो पुँजीवादी जनवादी क्रान्तिको कार्यक्रम भएको र नेपालमा उक्त क्रान्ति सम्पन्न भइसकेकोले, यसलाई समाजवादी क्रान्तिको दीर्घकालीन लक्ष्यसँग मेल खाने गरी पुनर्व्याख्या गर्नुपर्ने मत राख्छन्। उनको विचारमा, बहुदलीय जनवादले पुँजीवादी लोकतन्त्रसँग सम्झौता गर्न सक्छ, जुन समाजवादी लक्ष्यका लागि हानिकारक हुन सक्छ भन्ने मान्यता राख्दछन्। खनालले नेपालका कम्युनिस्ट शक्तिहरू बिच एकताको वकालत गर्छन्, तर यो एकता वैचारिक रूपमा स्पष्ट र मार्क्सवादी सिद्धान्तमा आधारित हुनुपर्ने उनको अडान छ। उनले भावनात्मक वा अवसरवादी एकताले दीर्घकालीन प्रभाव नपार्ने बताउँदै आएका छन्।
यसमा माधवकुमार नेपालले गठबन्धनलाई सत्तामा जाने माध्यमका रूपमा र सत्तामा गएको अवस्थामा पार्टीको प्रभावलाई विस्तार गर्न सकिने प्रमुख उपायको रूपमा लिएका छन्। उनले नेपाली कांग्रेस र माओवादी केन्द्रसँगको सहकार्यलाई कम्युनिस्ट आन्दोलनको तत्कालीन आवश्यकताको रूपमा हेर्छन्।
माधवकुमार नेपालको दृष्टिकोणलाई हेर्दा उनले नेकपा (एकीकृत समाजवादी) लाई लोकतान्त्रिक समाजवाद र वैज्ञानिक समाजवादको संयोजनको रूपमा अघि बढाउन खोजेको जस्तो देखिन्छ । उनको दृष्टिकोणमा, वर्तमान नेपाली परिप्रेक्ष्यमा बहुदलीय लोकतन्त्र र समाजवादी सिद्धान्तलाई एकसाथ जोडेर लैजान सकिने र त्यसका लागि पुँजीवादी लोकतन्त्रसँग आवश्यक समन्वय र सहकार्य गरेर अगाडि बढ्नु पर्छ भन्ने रहेको पाइन्छ । माधव नेपालले कम्युनिस्ट आन्दोलनलाई सत्ताको साझेदारी र गठबन्धनमार्फत बलियो बनाउन सकिने विश्वास राख्छन्। नेपाली कांग्रेस र माओवादी केन्द्रसँगको गठबन्धनलाई उनले समाजवादी लक्ष्य प्राप्तिको एक उपायको रूपमा हेर्छन्। उनको विचारमा, वैचारिक शुद्धताभन्दा पनि सङ्गठनात्मक र राजनीतिक प्रभाव विस्तार गर्नु पहिलो प्राथमिकता रहेको देखिन्छ । उनले, समाजवादलाई नेपाली समाजको वर्तमान सामाजिक, आर्थिक, र सांस्कृतिक वास्तविकतासँग जोडेर व्याख्या गर्नुपर्छ र समाजवादलाई कठोर वैचारिक ढाँचामा मात्र सीमित नगरी, लोकतान्त्रिक मूल्य मान्यतामा समावेशी र प्रगतिशील ढङ्गले अघि बढाउनुपर्नेमा जोड दिन्छन्। उनको यो दृष्टिकोण पूर्णतया प्रजातान्त्रिक समाजवाद निर्माणमा केन्द्रित भन्दै खनालले यो दृष्टिकोण प्रति असहमति जनाउँछन् ।
- गठबन्धन र सत्ता रणनीतिमा मतभेद
झलनाथ खनालले सत्ताको साझेदारी र गठबन्धनलाई समाजवादी क्रान्तिको दीर्घकालीन लक्ष्यसँग जोड्नुपर्ने तर्क गर्छन्। उनको विचारमा, गठबन्धन केवल सत्तामा पुग्ने साधन मात्र होइन, बरु समाजवादी नीति र कार्यक्रम लागू गर्ने अवसर हो भन्ने छ । उनले नेपाली कांग्रेसजस्ता "पुँजीवादी" शक्तिहरूसँगको गठबन्धनलाई लोकतान्त्रिक गणतन्त्रको रक्षा र संवर्द्धन सम्मको सवालमा मात्र प्रयोग र सहकार्य गर्न सकिने मान्यता राख्दछन् । उनले बदलिएको परिस्थितिमा नेपाली कांग्रेस आजको हाम्रो प्रमुख प्रतिद्वन्द्वी शक्ति भएकोले वैज्ञानिक समाजवाद निर्माणमा यो बाधक हुन्छ, त्यसैले यससँग सहकार्य गर्दा सावधानीपूर्वक अघि बढ्नुपर्ने र कम्युनिस्ट सिद्धान्तमा कुनै सम्झौता गर्न नहुने बताउँदै आएका छन्। खनालले समाजवादी मोर्चालाई वैचारिक रूपमा बलियो बनाउन जोड दिन्छन्। उनको विचारमा, यो मोर्चाले कम्युनिस्ट एकताको आधार तयार गर्न सक्छ, तर त्यसका लागि वैचारिक स्पष्टता र क्रान्तिकारी नीति आवश्यक छ भन्ने मान्यता राख्दछन्।
यसमा माधवकुमार नेपालले गठबन्धनलाई सत्तामा जाने माध्यमका रूपमा र सत्तामा गएको अवस्थामा पार्टीको प्रभावलाई विस्तार गर्न सकिने प्रमुख उपायको रूपमा लिएका छन्। उनले नेपाली कांग्रेस र माओवादी केन्द्रसँगको सहकार्यलाई कम्युनिस्ट आन्दोलनको तत्कालीन आवश्यकताको रूपमा हेर्छन्। यो रणनीतिले नेकपा एकीकृत समाजवादीलाई गठबन्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने अवसर दिएको छ भन्ने उनको बुझाइ रहेको छ । उनको दृष्टिकोणमा, गठबन्धनले पार्टीको सङ्गठनात्मक आधार बलियो बनाउन र निर्वाचनमा सफलता हासिल गर्न सहयोग गर्छ भन्नेमा उनी विश्वस्त छन् । उनको मान्यतामा विगत निर्वाचनमा गठबन्धन गरेकै कारणले स्थानीय निर्वाचनमा पोखरा र हेटौँडा जस्ता क्षेत्रमा सफलता प्राप्त भएको र आम निर्वाचनमा १० सिट प्राप्त भएको हो भन्ने छ ।
नेपालले वैचारिक शुद्धताभन्दा पनि व्यावहारिक रणनीति र सत्ता साझेदारीलाई प्राथमिकता दिएका छन् । जुन लोकतान्त्रिक समाजवादको रणनीति अन्तरगत पर्दछ । खनालले जुन क्रान्तिकारी र वैचारिक दृष्टिकोण अघि सारेका छन्, त्यो वस्तुसंगत कम र परम्परागत शास्त्रीय बढी भएकोले यसको झुकाव जडसूत्र तर्फ देखिन्छ भन्ने मत माधव नेपालको रहेको छ । यी दुई दृष्टिकोण अन्तर्द्वन्द्वमा कारक तत्त्व बनेका छन् ।
- कम्युनिस्ट एकताको प्रश्न
झलनाथ खनालले नेपालका कम्युनिस्ट शक्तिहरू (नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, आदि) बिच एकताको आवश्यकता बारम्बार उठाउँदै आएका छन्। तर, उनको विचारमा, यो एकता केवल साङ्गठनिक वा अवसरवादी नभई वैचारिक र सैद्धान्तिक आधारमा हुनुपर्छ र मार्क्सवाद-लेनिनवाद तथा समाजवादी क्रान्तिको लक्ष्यलाई एकताको आधार बनाउनु पर्छ भन्ने छ। खनालले नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रबिच एकता गर्ने हो भने पनि वैचारिक एकता र स्पष्टताको आधारमा मात्र गर्न सकिने भन्छन्। उनको विचारमा, कम्युनिस्ट आन्दोलनको विखण्डनले समाजवादी लक्ष्यलाई कमजोर बनाएको छ, तर यसलाई जोगाउन टालटुले एकतामा होइन वैचारिक एकता र सैद्धान्तिक शुद्धता मात्र सम्भव छ भन्छन्।
माधवकुमार नेपाल कम्युनिस्ट एकताको पक्षमा छन्, तर उनको दृष्टिकोण खनालको भन्दा बढी व्यावहारिक र समन्वयकारी छ। उनले कम्युनिस्ट एकता जुन सुकै नामधारी कम्युनिस्ट पार्टी सँग पनि हुन सक्छ भन्ने मान्यता राख्दछन् । उनले समाजवादलाई लक्ष्य मान्ने र बहुदलीय राजनीतिक प्रणालीलाई स्वीकार गर्ने विषयलाई एकताको सिद्धान्त बनाएका छन् । समाजवादी मोर्चा र गठबन्धनमार्फत आफ्नो उपस्थिति कायम राख्न सकिने विश्वासमा उनले वामपन्थी शक्तिहरूलाई एकजुट बनाउने रणनीति अपनाएका छन्।
यही मान्यतामा उभिएर उनले तत्कालै नेकपा माओवादी सँग एकता गर्ने प्रयास गरिरहेका छन् । माधव नेपालको सोचमा सैद्धान्तिक शुद्धता भन्दा पनि मुलुकका तीनवटै तहमा कसरी बढी भन्दा बढी सिट जित्न सकिन्छ भन्ने विषयलाई जोड दिएको देखिन्छ । यिनै कारणले माधव नेपालको दृष्टिकोणसँग झलनाथ खनालको वैचारिक दृष्टिकोण बाझिन्छ, किनकि खनालले हरेक एकता प्रयासलाई समाजवादी लक्ष्यसँग जोड्नुपर्नेमा जोड दिन्छन्।
यही पृष्ठभूमिमा नेकपा एकीकृत समाजवादीका यिनै दुई शीर्ष नेताले ठिक यही वेलामा एकले अर्कोलाई आआफ्नो पदबाट राजीनामा दिनु पर्छ भनी सार्वजनिक अभिव्यक्ति दिनुले कार्यकर्ता पङ्क्तिमा अन्योल सिर्जना गरेको छ र पार्टी भित्रको अन्तर्द्वन्द्व छताछुल्ल हुन पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक सातापछि सगरमाथा आधार शिविर क्षेत्रबाट दावा शेर्पाको उद्धार, थप उपचारको लागि काठमाडौँ ल्याइयो (तस्बिरहरू)
-
अफगानिस्तानमा बारुदी सुरुङ विस्फोट : २ जना बालबालिकाको मृत्यु
-
प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो
-
अल्छीपन छोड्नुहोस्, आयु बढाउनुहोस्
-
फोहोर सम्झिएर नफाल्नुहोस् तरकारी तथा फलफूलका बोक्रा र चियापत्ती
-
२० मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण