९९ हजारदेखि १० लाखसम्मका यस्ता छन् विद्युतीय बाइक
सारांश
- नाइमा मोबिलिटी एक्स्पो २०२५ काठमाडौंमा सुरु भएको छ, जहाँ विभिन्न ब्रान्डका दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारी साधनहरू प्रदर्शन गरिएको छ।
- एक्स्पोमा विद्युतीय स्कुटर र बाइकमा विशेष छुट र नयाँ मोडलहरू सार्वजनिक गरिएको छ, जसमा याडिया, एथर, सेगवे जस्ता ब्रान्डहरू छन्।
- एक्स्पोमा ९९ हजारदेखि ९ लाख ९७ हजार ९०० सय रुपैयाँसम्मका सवारी साधनहरू उपलब्ध छन्, जसमा लाइसेन्स बिना चल्ने स्कुटर पनि समावेश छन्।
काठमाडौँ । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)को आयोजनामा बुधबारदेखि ‘नेपाल नाइमा मोबिलिटी एक्स्पो २०२५’ सुरु भएको छ ।
काठमाडौँको भृकुटीमण्डपमा एउटै छानामुनि सवारी साधन किन्ने र बेच्नेको जमघट गर्ने उद्देश्यका नाइमाले एक्स्पो आयोजना गरेको हो । एक्स्पोमा चारपाङ्ग्रे र दुईपाङ्ग्रे नयाँ मोडलका सवारी साधनहरूमा आकर्षक छुट दिइएको छ ।
नाइमा एक्स्पोमा ९९ हजारदेखि ९ लाख ९७ हजार ९०० सय रुपैयाँसम्म पर्ने विद्युतीय बाइक र स्कुटर बुकिङ गर्न सकिनेछ ।
एक्स्पोमा विद्युतीय दुईपाङ्ग्रे सवारी ब्रान्ड याडियाको नेपालका लागि आधिकारिक वितरक, गुजो नेपालले हरेक वर्गका ग्राहकको चाहना र बजेटलाई लक्षित गरी विभिन्न मोडलहरूको स्टल राखेको छ । कम्पनीका निर्देशक अमित श्रेष्ठका अनुसार कम्पनीले सस्तो मूल्यमा गुणस्तर र लामो रेन्ज भएको बाइक र स्कुटर ग्राहकहरूका लागि ल्याइएको बताए । भने, ‘ग्राहकहरू सस्तो मूल्यमा राम्रो गुणस्तर र लामो रेन्ज भएको सवारी चाहन्छन् । याडियाले त्यही मागलाई सम्बोधन गर्दै गुणस्तरीय उत्पादनलाई सबैको पहुँचमा पुर्याउने लक्ष्य राखेको छ ।’

कम्पनीले नाइमा एक्स्पोमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) आवश्यक नपर्ने स्कुटरसमेत प्रदर्शनीमा राखेको छ । कुलजोय नामको उक्त स्कुटरको मूल्य ९९ हजार रुपैयाँ छ । यसले एक पटकको चार्जमा ६० किलोमिटर रेन्ज दिने दाबी गरिएको छ । यो विशेषगरी विद्यार्थी तथा छोटो दूरीमा यात्रा गर्नेहरूलाई लक्षित छ ।
त्यस्तै याडियाले याडिया ई एट एस प्रो स्कुटरमा ऐतिहासिक छुटसहित स्टलमा राखको छ । उक्त स्कुटर १ लाख ८५ हजार रुपैयाँमा खरिद गर्न सकिनेछ । नाइमा एक्स्पोभन्दा अगाडि नै विशेष छुटसहित यो स्कुटर अघिल्लो मूल्यभन्दा ४५ हजार रुपैयाँ सस्तोमा दिइएको याडियाले बताएको छ । यसको मूल्य २ लाख ३० हजार रुपैयाँ कायम थियो । निर्देशक श्रेष्ठले भने, ‘हामीले उत्पादनको मूल्य पहिल्यै यति प्रतिस्पर्धी राखेका छौँ कि छुट्टै एक्स्पो अफर आवश्यक छैन । हाम्रो हरेक मूल्य नै अफर मूल्य हो ।’

त्यस्तै कम्पनीले यी दुई स्कुटरको बिचमा मूल्य पर्ने अर्को नयाँ उत्पादन ल्याउन लागेको पनि श्रेष्ठले जानकारी दिए । त्यस्तै भिल्याक्स (स्कुटर सिरिज) अन्तर्गत तीन वटा नयाँ भेरियन्ट लन्च गरिएको छ । यिनीहरू भिल्याक्स अल्ट्रा पर्फर्मेन्स, भिल्याक्स हाई र भिल्याक्स फास्ट चार्जिङ पर्फर्मेन्स ठुलो र पारिवारिक साइजमा छन् । लिथियम ब्याट्रीयुक्त यसको मूल्य २ लाख ८५ हजार रुपैयाँ कायम गरिएको छ ।
नेपालका लागि गोगोरो स्कुटरको आधिकारिक साझेदार नेबुला इनर्जीले इलेक्ट्रिक दुईपाङ्ग्रे सवारी साधनका लागि बाई ब्याक ग्यारेन्टी योजना ल्याएको छ । सवारी खरिदपछि पुनः बिक्रीको सुनिश्चित मूल्य दिने कम्पनीको दाबी छ ।
ग्राहकले गोगोरो स्कुटर प्रयोग गरेपछि पाँच वर्ष वा ४० हजार किलोमिटरभित्र स्कुटर फिर्ता गर्दा न्यूनतम एक लाख रुपैयाँको मूल्य पाउने सुनिश्चित गरिएको छ । उक्त कम्पनीको स्कुटर पनि २ लाखदेखि पाँच लाखसम्म पर्ने जनाइएको छ ।
त्यस्तै, इलेक्ट्रिक स्कुटर ब्रान्ड एथरको नयाँ मोडल नेपाली बजारमा सार्वजनिक भएको छ । नेपालका लागि एथरको आधिकारिक वितरक वैद्य इनर्जीले ल्याएको नयाँ ‘एथर रिज्टा’फ्यामिली स्कुटर हो । कम्पनीले नेपाल ल्याएको टप भेरियन्टको मूल्य ३ लाख ८३ हजार रुपैयाँ तोकेको छ ।
यसैगरी नेपालका लागि सेगवे–नाइनबोटको आधिकारिक बिक्रेता आइहब प्रालिले सेगवेकको चार नयाँ मोडेल सवारी सार्वजनिक गरेको छ । कम्पनीले दुई नयाँ मोडेलका स्कुटर ई १५० एमके २’ र ‘ई १२५ एमके २’ सार्वजनिक गरेको हो ।
स्कुटर ई १५० को मूल्य ५ लाख, ई १२५ एमके २ को मूल्य ३ लाख ५० हजार, ई–साइकल सफारीको मूल्य ३ लाख ५० हजार र ई–बाइक साइबरको मूल्य ५ लाख ५० हजार रुपैयाँ राखिएको छ । त्यस्तै मोरबिडिली ब्रान्डको एडभेन्चर बाइक मोडल टी–३५२ एक्स र टी–२५२ एक्स पनि नाइमा एक्स्पोमा लन्च भएको छ । टी–३५२ एक्सको ९ लाख ९७ हजार ९०० सय रुपैयाँ पर्ने बताइएको छ ।
एक्स्पो अवलोकन गर्न जाने ग्राहकले ९९ हजार पर्ने लाइसेन्सविना चलाउन मिल्ने बाइकदेखि करिब १० लाख पर्ने बाइकसम्म हेर्न र किन्न सक्छन् । एक्स्पोमा पेट्रोलबाट चल्ने र विद्युतीय बाइक र स्कुटर दुवैका स्टल रहेका छन् ।
एक्स्पोमा विद्युतीय र पेट्रोल दुवैबाट चल्ने बाइक र स्कुटर छन् । तर ईभीको बाहुल्य छ । एक्स्पोमा बजाजको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनीले विद्युतीय स्कुटर ‘चेतक’ ल्याएको छ । आइस इन्जिन भएको मोटरसाइकल बिक्री गरिँदै आए पनि नाइमा एक्स्पोमार्फत पहिलोपटक ‘चेतक’ बेच्न सुरु गरिएको बिक्रेताको भनाइ छ । त्यस्तै, टीभीएस, केटीएम, ट्रायम्फ एथर, सेगवे, सुजुकी, याडिया, बेनेली, सिएफमोटो, रोयल इन्फिल्ड, प्युजो मोटरसाइकल्स र हेन्री भोल्ट्सका बाइक तथा स्कुटरहरू (९९ हजार देखि ९ लाख) राखिएका छन् ।
एक्स्पोमा सबैभन्दा बढी एथर, सेगवे, याडिया र रोयल इन्फिल्डलगायत ब्रान्डहरूमा अवलोकनकर्ताको भिड देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण