मन्त्री देवकोटाले गरे सिमखोला बेलिब्रिज निर्माणको अवलोकन
मकवानपुर । विपद् प्रभावित हेटौँडा–काठमाडौँ जोड्ने छोटो दुरीको सडक कुलेखानी सिस्नेरी अन्तर्गतको सिमखोला बेलिब्रिज अन्तिम चरणमा पुगेको छ । केही दिनमा नै सञ्चालनमा ल्याउने गरी निर्माण व्यवसायीहरूले काम गरिरहेको उक्त पुलमा गत असोजको विपद्बाट क्षति पुगेको थियो ।
बिहीबार विपद् प्रभावित उक्त बेलिब्रिजको बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटाले स्थलगत अनुगमन गरेका हुन् । इन्द्रसरोवर गाउँपालिका–२, सिमखोलामा हेटौँडा–कुलेखानी–काठमाडौँ सडक खण्ड अन्तर्गत निर्माणाधीन बेलिब्रिजको काम अन्तिम चरणमा पुगेको उनले बताए । अबको केही दिनभित्र सवारी साधन आवतजावत यसै पुलमार्फत सञ्चालनमा ल्याइने उनले बताए ।
बिहीबार बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री डा.देवकोटासहित इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष देवकृष्ण पुडासैनी, यातायात पूर्वाधार निर्देशनालयका निर्देशक इन्जिनियर नविन कुमार सिंह सहितको टोलीले निर्माणस्थलमै पुगेर पुलको प्रगति स्थिति अवलोकन गरेका थिए । निरीक्षणपछि निर्माण पक्षसँग छलफल गर्दै बाँकी कार्य शीघ्र सम्पन्न गरी समयमै सञ्चालनमा ल्याउन मन्त्री डा. देवकोटाले निर्देशन दिएका छन् ।
‘पुलको सामान्य फिनिसिङको काम बाँकी रहेको छ । रङ्ग रोगन र नालाको व्यवस्थापनको काम सकेर चलाउने तयारी हो ।’ उनले भने, ‘हामीले डाइभर्सनबाट हिँड्नुपर्ने बाध्यता हटाइसकेका छौँ । थप सहजता दिलाउने विषयमा केही कामहरू गर्ने तयारी छ । भारवहन क्षमता समेत नाप जाँच गरेर यात्रा सहज बनाउने गरी काम गर्न निर्देशन गरेको छु ।’
हेटौँडा काठमाडौँ जोड्ने उक्त सडकलाई वर्षाको समयमा पनि निरन्तर चलाउन मिल्ने गरी बनाउने विषयमा निर्देशन दिएको मन्त्री डा. देवकोटाले बताए । छोटो समयमा उक्त सडकमा धेरै काम भएको र त्यसको दीर्घकालीन व्यवस्थापनको विषयमा काम गर्नुपर्ने अबको अवस्था रहेको उनले बताए । केही स्थानमा पहिरोका कारण समस्या रहेकाले त्यसको नयाँ प्रविधिबाट व्यवस्थापन गर्न छलफल गर्ने गरी तयारी गर्न निर्देशन दिएको उनले बताए ।
उनका अनुसार विषेशगरी वर्षायाम सुरु भएकाले विपद् व्यवस्थापनको पूर्व तयारी, सडक सञ्चालन, मेसिनरी औजारको व्यवस्थापनमा लाग्न निर्देशन गरिएको उनले बताए ।
गत असोजको वर्षाका कारण कुलेखानी जलाशय मुनी रहेको सिमखोला पुलको दायाँबायाँ (पहुँचमार्ग) नै बगाएको थियो । भारी वर्षासँगै कुलेखानी भरिएपछि ‘ओभर फलो’ रोक्न गेट खोल्दा इन्द्रसरोवर गाउँपालिका–२ स्थित कुलेखानी ड्यामको तल्लो भागमा रहेको सिमखोलाको पुलसँगै सडक क्षतिग्रस्त बनेको थियो । अहिले खोलाबाट डाइभर्सन गरेर सवारी सञ्चालन गरिएको छ ।
सिमखोलामा बेलिब्रिज हाल्नका लागि भैंसे–भीमफेदी सडकखण्डको घट्टेखोलामा रहेको १३ मिटर लामो र मान्डुखोलामा रहेको ५० मिटर लामो बेलिब्रिज झिकेर लगिएको थियो । सिमखोलामा ६४ मिटर लामो बेलिब्रिज हाल्नुे काम भएको निर्देशक सिंहले बताए ।
उनका अनुसार बेलिब्रिज राख्न, पक्की पहुँच मार्ग बनाउन र पुल वरिपरिको क्षतिग्रस्त सडक निर्माण गर्न गौरव इन्जिनियर्स प्रालिले एक करोड ८८ लाख रुपैयाँमा ठेक्का लगाइएको थियो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण