सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

भिरबाट लडेर मृत्यु भएका व्यक्तिको शव निकाल्न कठिनाइ

बाजुरा सदरमुकामबाट विपद् व्यवस्थापन टोली घटनास्थलतर्फ जाँदै
शुक्रबार, २३ साउन २०८२, १५ : ३२
शुक्रबार, २३ साउन २०८२

बाजुरा । बाजुराको त्रिवेणी नगरपालिका वडा नम्बर ९ बिस्नापानी भन्ने स्थानमा बिहीबार राती  भिरबाट लडेर मृत्यु भएका व्यक्तिको शव निकाल्न कठिनाइ भएको छ । 

भौगोलिक विकटता र स्रोतसाधनको अभावमा उनको शव निकाल्न कठिनाइ भइरहेको हो । काठमाडौँको गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५ नारायणटार बस्ने ५२ वर्षीय विप्लव ओझा बडिमालिका मन्दिर दर्शन पश्चात नाटेश्वरी धाम जाने क्रममा बाटोबाट चिप्लिएर करिब ७ सय मिटर तल बिस्नापानी खोल्सामा खसेका थिए । 

घटनाबारे जानकारी पाएपश्चात सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म बाजुराबाट बडिमालिका त्रिवेणी धाममा मेला सुरक्षार्थ खटिएको टोली घटनास्थलमा पुगेर शव निकाल्ने प्रयास गरेको थियो । 

सो टोलीबाट सम्भव नभएपछि थप मद्दतको लागि आश्रित गुल्म बाजुराबाट आज बिहान विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज त्यसतर्फ पठाइएको सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाले बताए ।  

आश्रित गुल्म बाजुराबाट घटनास्थल करिब ४० किलोमिटरको दुरीमा रहेको र उक्त स्थानमा पुग्न पैदलै जानुपर्ने भएकोले थप मद्दत टोली आज राती मात्र त्यस ठाउँमा पुग्नेछ उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप