म आणविक हमलाबाट बाँचेको मान्छे हुँ
सारांश
- सन् १९४५ मा नागासाकीमा भएको आणविक बम विष्फोटको अनुभव सुनाइयो, जसमा पीडितहरूले नोबेल पुरस्कार समारोहमा आफ्नो कथा व्यक्त गरे।
- आणविक हतियारको प्रयोग विरुद्धको अभियानमा जोड दिँदै, पीडितहरूले यसको त्रास र असरबारे जानकारी दिए।
- लेखमा आणविक हतियारको खतरालाई कम गर्न संयुक्त राष्ट्रसंघको सन्धिको महत्व र यसको कार्यान्वयनको आवश्यकतामा जोड दिइएको छ।
अमेरिकाले जापानको नागासाकीमा आणविक बम खसालेको दिन अर्थात् सन् १९४५ अगष्ट ९ मा म १३ वर्षको थिएँ । त्यसवेला हामी बम खसालिएको ठाउँ (ग्राउन्ड जिरो) भन्दा करिब दुई माइलको दुरीमा थियौँ, तर चमत्कार नै भन्नुपर्छ– म बाँच्न सफल भएँ । धमाकाको समय ममाथि खसेको सिसाको ढोका फुटेन । त्यसले मलाई जोगायो ।
तर हाम्रो परिवारका अन्य सदस्य भने अभागी रहेछन् । मेरी आमा र म जब भग्नावशेषबाट उठेर अन्य सदस्यलाई हेर्न गयौँ, तातोले डढेर हाम्रा ५ जना नातेदार एकैठाउँमा मृत अवस्थामा थिए । मेरो काका त अरूलाई उद्धार गर्न जाँदा विकिरणको प्रभावका कारण मरेका रहेछन् ।
सन् १९४५ को अन्त्यसम्ममा नागासाकी सहरमा मात्रै मृतकको सङ्ख्या ७० हजार पुगेको थियो । नागासाकीमा आक्रमण भएको केही दिनमै हिरोसिमामा खसाइएको बममा भने १ लाख ४० हजार मानिस मारिए । दुई वटै बमका कारण करिब ४ लाख मानिस मारिए, जसमा अधिकांश महिला, बालबालिका तथा वृद्ध थिए ।
आणविक तथा हाइड्रोजन बमका पीडितहरूको संगठन नोहोन हिडान्क्योका लागि नोबेल पुरस्कार ग्रहण गर्ने क्रममा यी भोगाइ मैले गत डिसेम्बरमा आयोजित पुरस्कार वितरण समारोहमा सुनाएको थिएँ । हामी विगत ७० वर्षदेखि आणविक हतियारको प्रयोगविरुद्ध अभियान चलाउँदै आएका छौँ । त्यसका लागि हामी आणविक हमलाबाट बाँच्न सफल व्यक्तिका अनुभवहरूलाई सबैसामु प्रस्तुत गर्दै आएका छौँ । त्यस्ता हमलाबाट बच्न सफल हामीलाई हिबाकुशा भनेर चिनिन्छ । नोहोन हिडायन्क्यो समूहमा रहेका हामी हिबाकुशाहरू बमले कसरी मानिसलाई असर गर्छ भनेर बताउँदै आएका छौँ । हामीले गर्दै आएको यही कामको सम्मानमा नोबेल समितिले हामीलाई पुरस्कृत गरेको थियो ।
उक्त हमलाको विस्फोट आज पनि हामी बाँच्न सफल मानिसका सम्झनामा गाढा भएर बसेका छन् ।
१४ वर्षकी योसी ओका हिरोसिमाको बंकरमा बाह्य गतिविधि निगरानीको जिम्मेवारीमा थिइन् । उनी अहिले सम्झिन्छिन् ‘मैले बंकरको अर्कोपट्टि रहेको व्यक्तिसँग कुरा गर्नका लागि हेर्दै गर्दा एकाएक सेतो प्रकाश झल्याँस्स देखापर्यो ।’
ओका एक्कासि आफूसँगै भएको साथीसँगै उछिट्टिन पुगिन् । उनीहरू दुवैजना बाँचे । त्यसवेलाको घटना सम्झिँदै उनी भन्छिन्, ‘विकिरणयुक्त ग्याँस कुहिरोजस्तै थियो । हामी १० मिटर परसमेत राम्रोसँग देख्न सक्दैन थियौँ ।’
हिरोसिमाको हमलामा बाँचेका अर्का व्यक्ति सेत्सुको थुर्लाेले बम झरेको ठाउँ वरपर के भएको थियो भन्ने वर्णन गरेकी छन् । उनका अनुसार त्यहाँ हजारौँ विद्यार्थी आगो फैलिन नदिने काममा लागेका थिए । ‘उनीहरूमध्ये अधिकांश कुनै चिनोसम्म बाँकी नरहने गरी धुवाँमा रूपान्तरित भए । बाँकी केही विद्यार्थी केही दिनभित्रै मरे,’ उनले भनिन्, ‘यसरी नै सहरमा रहेका मेरो उमेरका सबै बालबालिका मरे ।’
आणविक आक्रमण भएपछि ठुलो धमाका हजारौँ किलोमिटर प्रतिघण्टाको गतिमा आउने रहेछ । बम पड्केको ठाउँमा भन्दा धेरै टाढासम्म पनि विस्फोटले फोक्सोमा घाउ बनाउने, कानमा क्षति पुग्ने तथा शरीरमा आन्तरिक रूपमा रक्तस्राव हुनेजस्ता समस्या हुने रहेछन् । बम धमाकाले सिर्जना गर्ने तातो लहरले ठुलो क्षेत्रमा आगो लगाएर अत्यधिक ताप सिर्जना गर्छ । केही ठाउँमा त आगोको लहर नै चल्ने रहेछ ।
सुमितेरु तानीगाची त्यसवेला १६ वर्षका थिए । हमलाको वेला उनी साइकल चलाउँदै थिए । उनी सम्झिन्छन्, ‘विस्फोटको धमाका आउँदा म साइकलसँगै उछिट्टिएर जमिनमा पछारिएँ ।’
उनले आफ्नो वरपर खेलिरहेका सबै बालबालिका त्यहीँ मरेको देखे । उनीहरू बम खसालिएको क्षेत्रभन्दा करिब १ माइलभन्दा टाढा थिए । त्यहाँ पनि अत्यधिक तातो आएका कारण धेरै जना मारिए । तानीगाचीको पनि ढाड, देब्रे हात तथा दाहिने खुट्टा डढे । करिब चार वर्ष जति अस्पताल बसेपछि मात्रै उनी ठिक भएका थिए ।
विष्फोटपछि दुई वटै सहरमा विकिरणको विषाक्त असर पर्न थाल्यो । हिरोसिमामा सात वर्षका तोरु इकेमोतो आफ्नी नौ वर्षे दिदी ऐकोसँगै घरभित्र बसिरहेका थिए । केही दिनमै उनीहरूको कपाल झर्न थाल्यो । ज्वरो बढ्न थाल्यो । खाना रुच्न छोड्यो । गिँजाबाट रगत बग्न थाल्यो । असाध्यै असहज अवस्थाबाट उनीहरूको स्वास्थ्यमा सुधार देखिन थाल्यो । ११ वर्षको उमेरमा तोरुमा देखिएका असरहरूले उनको ज्यान गयो । ऐको भने २९ वर्षमा बितिन् । उनको मृत्युमा पनि आणविक हमलाका असरहरू नै प्रमुख जिम्मेवार थिए ।
आणविक हमलाको समयमा आमाको गर्भमै रहेका धेरै बालबालिका जन्मिँदा चोट वा खराबीसहित जन्मिएका थिए । जन्मन बाँकी रहेका बालबालिकाहरू बमको असरले दुःख पाउने भयका कारण हामीजस्ता धेरै पीडितहरूले पारिवारिक जीवन सुरु गर्नै सकेनौँ ।
अहिले आणविक हतियारको त्रासलाई फेरि सामान्य रूपमा लिन थालिएको छ । युरोपको अहिलेको युद्ध तथा मध्यपूर्वमा आणविक शक्तिसम्पन्न मुलुकहरू संलग्न द्वन्द्वले बारम्बार अन्तर्राष्ट्रिय नियम उल्लङ्घन गरिरहेको छ । साथै आणविक हतियार प्रयोगको जोखिम निरन्तर बढाइरहेको छ । पछिल्लो द्वन्द्वमा धन्न भारत पाकिस्तान आणविक हतियार प्रयोग गर्ने स्तरसम्म पुगेनन्, तर उनीहरू बिचको द्वन्द्वले हामीलाई आणविक शक्तिहरूबिच हुने युद्धको सम्भावना बाँकी नै रहेको भने स्पष्ट देखाएको छ ।

हामीलाई यो साल नोबेल शान्ति पुरस्कार दिइयो । यसले नयाँ पुस्तालाई आसन्न खतराबारे सचेत हुन आवश्यक रहेको सन्देश पक्कै दिएको छ । साथै आणविक खतरा कम गर्ने कदम चाल्न युवा अभियन्ताहरूले चलाइरहेको व्यापक आन्दोलनप्रति समेत ध्यानाकृष्ट गराएको छ । अहिले जापानमा समेत धेरै मानिस आणविक खतराबारे बेवास्ता गर्न थालेको समयमा यो पुरस्कारले पक्कै झकझक्याएको छ ।
यो समस्याको समाधान धेरै अप्ठ्यारो छैन । संयुक्त राष्ट्रसंघको आणविक हतियार निषेध सन्धिलाई काम गर्न दिँदा नै काफी हुन्छ । उक्त सन्धिले आणविक हतियारमा प्रतिबन्धमात्रै लगाउँदैन, उत्पादन, प्रयोगजस्ता सम्बन्धित गतिविधिमा समेत निषेध गर्छ । साथै सन्धिमा सामेल भएका देशहरूले विगतमा आणविक हतियारबाट क्षति भोगेका मानिसहरूलाई क्षतिपूर्ति दिन तथा आणविक परीक्षणको लागि प्रयोग गरिएका क्षेत्रहरूको सफाइ गर्नसमेत बाध्य बनाउँछ ।
सन्धि लागु भएको करिब चार वर्ष विश्वमै विश्वका करिब आधाको सङ्ख्यामा राष्ट्रहरूले यसमा हस्ताक्षर वा अनुमोदन गरेका छन् । प्रत्यक्ष रूपमा यसमा संलग्न भएका छन्, तर अझ धेरै मुलुक यसमा सामेल हुनै बाँकी छ । चिन्ताको कुरा के छ भने हामी केही देशहरू, खासगरी आणविक हतियार सम्पन्न मुलुकहरू र तिनका सहयोगीहरूले प्रभावकारी रूपमा यसको प्रयोगलाई समर्थन गरेका छैनन् । दुर्भाग्यवश त्यस्तो सूचीमा जापान पनि समावेश छ । हामी अहिले जापान लगायत धेरै मुलुक सैन्य रणनीतिको रूपमा आणविक हतियारको विकल्पमा छलफल गर्न थालेको देखिरहेका छौँ ।

हामीले भोगेका छौँ– आणविक हतियारबाट सुरक्षा भन्ने कहिल्यै हुँदैन । आणविक हतियारको आडमा सुरक्षाको कुरा गर्नेहरूले आजभन्दा ८० वर्ष पहिले हाम्रो सहरमा के भएको थियो भन्ने बुझ्न आवश्यक छ । त्यहाँ उनीहरूले आफ्नो चिन्तनको अव्यवहारिकता प्रस्ट रूपमा भेट्नेछन् । आणविक हतियारबाट सुरक्षा वा ‘डिटरेन्स’ भनेको एक अर्काेलाई आफ्नो शक्ति देखाएर तर्साउने काममात्रै हो भन्ने बुझ्नेछन् ।
यदि मानव जातिले संयुक्त राष्ट्र संघ र यसका सन्धिहरूमा आधारित रहेको अन्तर्राष्ट्रिय कानुनमार्फत शान्तिको खोजी गर्नेतर्फ नलाग्ने हो भने निश्चय पनि अब आउने पुस्ताले तेस्रो विश्वयुद्ध हेर्नुपर्ने बाध्यता हुनसक्छ । त्यस्तो परिस्थिति सबैको लागि पक्कै पनि विनाशकारी हुनेछ । पूर्वअमेरिकी राष्ट्रपति जोन एफ केनेडीले कुनै सन्दर्भमा आणविक खतराको प्रकृतिकोबारे भनेका थिए– हामीलाई समाप्त पार्नु अघि नै हामीले युद्धका हतियारहरू समाप्त गरिसक्नु पर्छ ।
पक्कै पनि हामीले यसबारे सोच्न र कदम चाल्न ढिलो गर्नु हुँदैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण