लेखक ! तँ दास नबन्
‘म सत्ताको दास होइन । साहित्यले सत्य बोल्नुपर्छ । चाहे त्यो अप्रिय सत्य नै किन नहोस् ।’ सन् २०१२ को नोबेल साहित्य पुरस्कार विजेता चिनियाँ लेखक मो यान यसै भन्छन् । लेखक सत्ताको दास बनेको रुचाउँदैनन् उनी ।
दासलाई नेपालीमा ‘कमारो’ पनि भनिन्छ । दास त्यो हो, जसले आफ्नो जीवन खास व्यक्ति वा शक्तिको चाकरी वा ताबेदारीमा समर्पित गर्छ । कमारा–कमारी समाजमा हुन्छन् । कमारा–कमारी, दास–दासी सत्ताको गुलियो चास्नीको वरपर विश्राम गर्छन् । पुरानो जमानामा राजा–महाराजाहरूको दरबार र मालिकका हवेलीमा सयौँ कमाराकमारी रहन्थे । अनगिन्ती यौनदासीहरू हुन्थे । लेखक–साहित्यकार भनिनेहरू गद्दीनसिन महाराजहरूको तिलस्मी प्रेमकथा लेख्न तँछाडमछाड गर्थे । वीरगाथा कत्थे । अनि ख्वामित्का हातबाट बक्सिस थाप्थे । नेपालमा १९८२ साल अघिसम्म दासप्रथा घोषित रूपमै थियो ।
दासप्रथा कहिलेबाट सुरु भयो, किटेर भन्न गाह्रो छ । कतिपयले ११००० वर्ष अघि दासप्रथाको प्रथम अवशेष भेटिएको बताएका छन् । ई.पू. १७६० को हम्बुराबी संहितामा गुलाम ‐दास) हरूको बारेमा उल्लेख छ । प्राचीन रोममा युद्धमा पराजितहरूलाई गुलाम बनाएर राखिन्थ्यो । गुलामहरूले पाहुनाहरूको पाउ धोइदिनुपर्थ्यो । मालिकले आदेश दिएमा गुप्ताङ्ग कन्याइदिने, सुमसुम्याइदिने, सफा गरिदिने, मल–मूत्र थाप्ने, बाहिर लगेर फालिदिने आदि गर्नुपर्थ्यो । ‘देवहरूले पराजित दानव’हरूलाई दास बनाएको हाम्रो पौराणिक सन्दर्भ छँदै छ । दासप्रथा मानव सभ्यताको निकृष्ट अवशेष हो । समाज या राष्ट्रिय राजनीतिमा आज पनि यो वा त्यो रूपमा दासप्रथाको अवशेष देख्न सकिन्छ ।
सदियौँदेखि राजतन्त्रीय पद्धतिको साक्षी रहँदै आएकाले होला, नेपाली राजनीतिक नेतृत्वमा मालिकीय स्वभावहरू स्थानान्तरित भएका छन् । उसको आचारव्यवहार राजा–महाराजाको कार्बनकपी जस्तै छ । ऊ बेलामौकामा राजामहाराजाले जस्तै गरी ‘महावाणी’ दिने गर्छ । उर्दी जारी गर्ने गर्छ । ऊ आदर्श जति नै किन छाँटोस्, उसको व्यवहारमा मालिकीयपन प्रतिविम्बन हुन्छ । नेपाली राजनैतिक नेतृत्व बोल्छ धेरै, गर्छ कम । भ्रमको खेति गर्न जो कोहीले सक्दैन ऊसंग ।
क्रान्ति र जनआन्दोलनको नेतृत्व गर्न सक्नु तर त्यसको मर्मलाई राजपाठमा उतार्न नसक्नु नेपाली राजनीतिक नेतृत्वको मुख्य समस्या रह्यो । प्रतिबन्धित अवस्थामा नेपाली राजनीतिक नेतृत्व बोल्थ्यो कम, काम गर्थ्यो बढी । नेताहरूको आचरण शुद्ध थियो । वेशभूषा साधारण हुन्थ्यो । तिनीहरू साधारणभन्दा साधारण झोला बोकी गरिब किसानको गाउँ–बस्ती, झुपडीहरूमा पुग्थे । जनताको सुखदुःखमा सहभागी हुन्थे । जनतासँगै खोले, सिस्नु, गुन्द्रुक, मकै या पाकेको खान्थे । उनीहरूका निम्ति नेता–जनता समान थिए । नेता र जनताबिच विभेदको पर्खाल कहीँ कतै थिएन ।
नेताहरूको पिठ्युँमा त्याग, तपस्या र बलिदानको झोला हुन्थ्यो । उनीहरूले बोक्ने त्याग–तपस्या, सादगी र इमानदारीको झोला देखेर मानिस क्रान्तिको बलिवेदीमा होमिन तँछाडमछाड गर्थे र त उनीहरूले पार्टीलाई वर्तमान आकारमा उठाउन सके । कांग्रेस–कम्युनिस्टले हासिल गरेको वर्तमान वैभव, संघर्ष, त्याग, तपस्या र बलिदानको पारितोषिक हो भन्दा अन्यथा हुनेछैन । परन्तु २०४६ र २०६२÷२०६३ को राजनीतिक परिवर्तन आर्थिक–सामाजिक रूपान्तरणको सेतु बन्न पाएन । अथवा बन्न दिइएन । जनआन्दोलनको केही वर्षमै राजनीतिक आकाशमा विकृति–विसंगतिको कालो बादल मडारिन सुरु ग¥यो । आम नागरिक र सिंहदरबारबिच अभेद्य पर्खाल खडा भयो । नेता मालिकजस्ता र आम जनता दासजस्ता देखिन थाले ! सत्तामा पुग्न जस्तोसुकै सम्झौता गर्न पछि नपर्ने र राज्य स्रोतमाथि ब्रह्मलुट मच्चाउने प्रवृत्ति हाबी हुन लाग्यो । भ्रष्टाचार र बेथिति चरमचुलीमा पुग्यो । अड्डा–अदालत अवैध लेनदेनका अखडामा परिणत भए । घुसबेगर काम नहुने भयो । गहकिलो ब्रिफकेस योग्यता निर्धारणको कसौटी बन्न पुग्यो । जसले बढी आर्थिक लगानी ग¥यो, राजनीतिक नियुक्ति उसैको हुने भयो ! निषेधको राजनीतिले उत्कर्ष बिन्दु छोयो । संविधान र संसद्माथि अवाञ्छित प्रहार हुन थाल्यो ।
हाम्रा माऊ राजनीतिकर्मीमा म सर्वज्ञ हुँ, म जे बोल्छु ठिक बोल्छु, मेरो बोलीमा सबैले ताली पड्काउँछन् भन्ने भ्रम छ । हाम्रो नेतृत्व बोल्न पायो भने सुरुवालको इँजार फुस्केको चाल पाउँदैन । उनीहरू आफ्नो अभिव्यक्तिबाट जनतामा परेको नकारात्मक प्रभावको सिंहावलोकन गर्ने आवश्यकताबोध नै गर्दैनन् । तिनीहरूमा दलभित्र क्रियाशील गुलाम दस्ताको स्यालुट पाएपछि अरुले धारेहात लाएर के फरक पर्छ भन्ने दम्भ छ । परन्तु याद गर्नुपर्ने के छ भने, तपाईंको साथमा केही लाख गुलाम दस्ता होलान् । यस देशमा झन्डै दुई करोड मतदाता छन् । तपाईं दास सेनाको मद्दतले मानिसलाई केही समय दिग्भ्रमित पार्न सक्नुहोला तर चुनाव जित्न सक्नुहुन्न । निर्वाचन जित्नका लागि गुलाम दस्ताभन्दा बाहिर रहेका विशाल जनसमुदायको दिल जित्न सक्नुपर्छ । आम जनसमुदाय तटस्थ हुन्छन्, चलायमान हुन्छन् । उनीहरूको चलायमान स्वाभावकै कारण निर्वाचनमा ‘नसोचेको’ परिणाम निस्कने गर्छन् । उदाहरणका लागि २०६४ को संविधानसभा निर्वाचनलाई हेरौँ ।
२०६४ को संविधानसभा निर्वाचनमा कांग्रेस र एमाले दोस्रो र तेस्रो दल बनेका थिए । कारण एउटै थियो, उनीहरूले मूलतः दलका सदस्य वा कार्यकर्ताको मत मात्र पाए । उता आम नागरिकको समेत मत पाएकाले बृहत् शान्ति सम्झौतासँगै निर्वाचनमा होमिएको माओवादी प्रथम हुन पुग्यो । किन्तु सत्तामा पुगेपछि उसले जनताको विश्वास जित्ने ढंगले काम गर्न सकेन । उसका कतिपय हर्कत ‘भुइँमा न भाँडामा’ भनेजस्ता हुन पुगे । माओवादीको ओरालो यात्रा त्यही विन्दुबाट सुरु भयो, जुन आजका दिनसम्म कायमै छ ।
लेखक ! तँ शासनसत्ताका जुकाहरूलाई कलमको धारले रेट्नेछस् । तँ दलको भन्दा बढी देशको बन्नेछस् । तँ शासकको भन्दा बढी जनताको हुनेछस् ।
नेपाल यस्तो देश भएको छ, जहाँ तस्करलाई हतकडी लगाउँदा मन्त्रीको निदहराम हुन्छ । भ्रष्टाचारीको भूमिगत साँध–सिमाना प्रधानमन्त्री निवाससम्म पुग्छ । यहाँ स्वच्छ, निष्पक्ष वा तटस्थ निकाय शिला खोजेझैँ खोज्नुपर्ने अवस्था छ । जुन अंगमा निष्पक्षता, स्वच्छता र स्वतन्त्रताको अपेक्षा बढी नै गरिन्छ, त्यो समेत दासत्वको रोगले थलिएको छ ।
त्यसैले कतिपय विश्लेषक ‘नेपाल आँधी आउनुअघिको सन्नाटाको अवस्थामा पुगेको’ अनुमान लगाउने गर्छन् । उनीहरू भन्छन्— मुलुक कुन दिशामा अघि बढ्छ भन्न गाह्रो छ । जंगलको आगो र क्रान्तिमा एउटा समानता छ । एक काँटी सलाई ज्वालाको बिउ रोप्छ । तानाशाहलाई सत्ताबाट घोँक्रेठ्याक लगाएर सडकमा पछार्ने जनविद्रोह सूक्ष्म चेतनाबाट आरम्भ हुन्छ । यस विषम परिस्थितिमा जनतालाई सुसूचित गर्ने जिम्मेवारी लेखकहरूको हो । लेखक तथा साहित्यकार जनचेतनाका संवाहक हुन्, विचारका निर्माता हुन् ।
जंगलका जुकाहरूले प्राणीको रगत चुस्छन् । शासनसत्ताका जुकाहरूले देशलाई कंगाल पार्छन् । कलमको धार तरबारको धारभन्दा धारिलो हुन्छ । लेखक ! तँ शासनसत्ताका जुकाहरूलाई कलमको धारले रेट्नेछस् । तँ दलको भन्दा बढी देशको बन्नेछस् । तँ शासकको भन्दा बढी जनताको हुनेछस् ।
लेखक तँ सामाजिक, मनौवैज्ञानिक रूपान्तरणको बिज होस् । टोल्सटोय, गोर्की, भोल्तेयर, रुसो, कार्लमार्क्स, गान्धी, भूपि शेरचन, गोपालप्रसाद रिमाल आदि सामाजिक, मनोवैज्ञानिक रूपान्तरणको बहुआयामिक बीज थिए । तिनीहरू कहिल्यै कसैको दास बन्न चाहेनन् । तिनीहरू दास हुँदा हुन् त विश्व क्रान्ति अनि मुक्ति युद्धको सूक्ष्म चेतना रचिने थिएन । त्यसैले ए लेखक ! ए विचार निर्माता ! उठ्, जाग् । ‘यथाभूत’ पिक्चर देखा । कलममा सान लगा । सचेतनाको चिराग बाल् । तँ दलको भन्दा बढी देशको बन् । लेखक ! तँ दास नबन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्प–नेतन्याहुबिचको ‘कडा’ फोन वार्ताले इरानसँगको वार्ता जटिल बनायो
-
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
-
एसियन गेम्स छनोट : मलेसियालाई हराउँदै समूह ‘ए’ को शीर्ष स्थानमा उक्लने नेपालको दाउ
-
हिजबुल्लाहले आक्रमण रोकेमा युद्धविराम लागू गर्न इजरायल र लेबनान सहमत
-
लेबनानमा युद्ध नरोकेसम्म इरानसँगको युद्ध अन्त्य हुँदैन: इरानी विदेशमन्त्री अराघची
-
इरान युद्ध रोक्न अमेरिकी प्रतिनिधिसभाको प्रस्ताव पारित, ट्रम्पलाई झट्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण