बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
कला

अमाल्गम २५ : अब्बल कलाहरूको प्रदर्शनी

शनिबार, २४ साउन २०८२, २० : ००
शनिबार, २४ साउन २०८२

सिद्धार्थ कला दीर्घाले हरेक वर्ष ‘अमाल्गम’ सामूूहिक कला प्रदर्शनी गर्ने गर्छ । यसैको निरन्तरतामा यसपल्ट ‘अमाल्गम २५’ भनी एउटा अर्को घतलाग्दो सामूहिक कला प्रदर्शनी भर्खरै (८ जुनदेखि ८ जुलाईसम्म) सम्पन्न भयो । 

६१ जना समसामयिक कलाकार समावेश भएको यो कला प्रदर्शनीमा युवा कलाकारको राम्रो जमघट देखियो । कला क्षेत्रमा राम्रा काम गरिरहेका अधिकांश युवा कलाकार यो कला प्रदर्शनीमा समावेश भए । अहिले नेपालमा कस्ता कला प्रवृत्ति उदाइरहेका छन्, आजका युुवा कलाकार कस्ता विषयवस्तुमा कसरी प्रस्तुत हुन खोजिरहेका छन् भन्ने यो प्रदर्शनीमा देख्न सकिन्थ्यो । 

यसपालिको प्रदर्शनमा समसामयिक कलाका सबैजसो विधा र उपविधा समेटिएका थिए । विशेषतः यस प्रदर्शनीमा मौलिकताको आभास गराउन देवीदेवता क्यानभासमा ओर्लिरहेका छन् । यसका आधुनिक एवं परम्परागत रूपलाई पनि यहाँ अवलोकन गर्न सकिन्छ ।  

हिजोआज परम्परागत कला वा लोककला पनि समसामयिकताको लक्षण स्पष्ट देखिन थालेको छ । नेपाली समसामयिक कलाको विशेषता नै यही हो । फोटो पनि कलात्मक फोटोग्राफी बनी प्रदर्शनीमा भित्रिन पाएको देखिन्छ । 

यस प्रदर्शनीमा मूर्त–अमूर्त दुवै किसिमका कामले ठाउँ पाएको देखिन्थ्यो । तथापि अमूर्त कला भने एउटै मात्र (सागर मानन्धरको) थियो । यसबाहेक सबै कलाकार फिगरेटिभ छन् । शैली र प्रवृत्तिगत रूपमा धेरैजसोले उत्तरआधुनिक प्रवृत्तिलाई समात्न पुगेको देखिन्छ । 

sagar

यस प्रदर्शनीमा सहभागी कलाकारका कलाबारे यस आलेखमा चर्चा गरिनेछ । सबैभन्दा जेठा कलाकारका रूपमा शशिविक्रम शाह देखिए । पाका परम्परागत कलाकार मुक्ति थापा, अनि लोक कलाकार एससी सुमन समेत समसामयिक कला लिएर देखिनु यो कला प्रदर्शनीको विशेषता मान्नुपर्छ । 

सागर मानन्धरको ‘हार्मोनी अफ सिजन’ नामक दुईवटा अमूर्त चित्र छन् । थोरै वार्म कलर स्किममा बगेको यो चित्र चारपाटे खण्डहरूमा देखिन्छ । क्युबिक फर्मले ओगटेको चित्रपटमा कलाकारले अँध्यारोमाथि प्रकाशको दबाबलाई स्पष्ट उजागर गरेका छन् । चित्रपटमा दृढ, स्थिर खण्डहरू स्थापित भएका देखिन्छन् । रङमा बलियो पकड भएका सागरका स्ट्रोक जता बगे पनि सन्तुलित भई हार्मोनीमा बसेका देखिन्छन् । अहिलेको अवस्थामा अमूर्ततामा उनलाई नाघ्ने अर्को कलाकार देखिँदैन । 

shashi shah

सबैभन्दा जेठा कलाकारका रूपमा शशिविक्रम शाह देखिए । पाका परम्परागत कलाकार मुक्ति थापा, अनि लोक कलाकार एससी सुमन समेत समसामयिक कला लिएर देखिनु यो कला प्रदर्शनीको विशेषता मान्नुपर्छ ।

इसान परियार महिनौँ लगाएर स–साना रेखालाई आकृतिमा उन्छन् र आफ्ना चित्रमार्फत एउटा गहकिलो सन्देश लिएर देखापर्ने गर्छन् । ताल, डुंगा, देवीदेवताका मोटिफ नै उनलाई मनपर्ने पात्र हुन् । एकताका तितेकरेला उनको मनपर्ने विषय हुने गर्थ्यो । करेलाको भित्री गुण अनि बाहिरको आवरणलाई टेक्चरका रूपमा उनी प्रयोग गर्ने गर्थे । उनी राम्रा पर्फर्मेन्स कलाकार पनि हुन् । हाम्रा कला सम्पदाहरू बाहिरिने, हराउने वा चोरिने प्रवृत्तिप्रति उनको ठुलो चिन्ता छ । यसर्थ उनका कलाले परोक्ष रूपमा यसबारे चिन्ता र चासो देखाइरहेका हुन्छन् । यसैलाई विभिन्न रूपमा संयोजन गरी उनी विभिन्न चित्र बनाउने गर्छन् ।

isan

पोखराका इसानका चित्रमा फेवातालको झझल्को दिने खालका सलबलाएका डुंगा सदैव देखिने गर्छन् । उनको ‘सेरेनिटी– २’ नामक चित्रमा सम्पदामाथिको चासो देखिन्छ । यस्तै उनको ‘को–एक्जिसटेन्स’ नामक अर्को चित्रमा सबै मिलेर बस्ने, बस्नुपर्ने वातावरणको मर्म देखिन्छ । इसान अहिलेका जल्दाबल्दा कन्सेप्चुअल कलाकार पनि हुन् । 

‘द फ्लो अफ लाइफ’ शीर्षकको कलामा सविता डंगोलले महिला, प्रकृति र प्राकृतिक वातावरणलाई उठाउने चेष्टा गरेकी छन् । उनी मूलतः कुनै न कुनै हिसाबमा महिलाको मुद्दालाई उठाउने गर्छिन् । अहिले उनले आफ्नो काममा प्रकृति र महिलालाई तुलनात्मक रूपमा प्रस्तुत गर्न थालेको देखिन्छ । 

sabita

यसपल्ट रवीन्द्र श्रेष्ठको पुरानो काम डिजिटल प्रिन्टका रूपमा देखापरेको छ । वास्तुकला, चित्रकला अनि काष्ठकलालाई संयुक्ततामा देखाउने यो उनको निजी शैली पनि हो । वास्तुकलामा अगाडिको खम्बामा काष्ठकलाको नमुना अनि भित्तेचित्रको रूपमा चित्रकला बनेको परिदृश्य उनको कलामा देखिन्छ । उनका यस्ता चित्रले देवी–देवता, संस्कृति एवं परम्पराको महत्त्व दर्शाएका छन् । सुरुका दिनमा उनले अति डिटेलमा मिहिनेतका साथ एउटा अवधारणा लिएर यस्तायस्तै काम गर्थे । यसपालि उनी उत्तरआधुनिक कलाको चरम उत्कर्षको रूप ‘पार्टिसिपेटोरी आर्ट’मा बढी संलग्न हुन थालेका छन् । तापनि यो उनको कलागत अप्रोचलाई अहिले पनि छाडेको भने देखिँदैन । 

निखिलबहादुर शाक्यको ‘श्री प्रचण्ड महारोशना’ नामक चित्र परम्परागत तर आधुनिक फर्ममा प्रस्तुत हुन पुगेको छ । उनको चित्रमा श्यामश्वैत रङको गजबको समन्वय छ । परम्परागत अनि थोरै आधुनिक पात्रले चलखेल गर्दै गरेको उनको चित्र हिजो र आजको संगम पनि हो । रमाइलो कुरा त स्वाभाविक आसन, मुद्रामा उभिएका देवले (परम्परागत मोटिफ) आजको मान्छेहरूलाई कुल्चँदै गरेको परिदृश्य रमाइलोसँग प्रस्फुटन भएको देखिन्छ । यो आजको अवस्थाको परम्परागत मिथकसँगको समागमन पनि हो । 

nikhil

हिजोआज नेपाली समसामयिक कलामा मिथकले निकै ठाउँ पाउन थालेको देखिन्छ । यी माथिका अधिकांश कलाकारका कलामा मिथकले प्रवेश पाएको देखिन्छ । यीबाहेक राजन महर्जनको ‘गुरु गणेश’ नामक चित्र परम्परागत हुँदै हो, यद्यपि यसमा गणेश र शिवको सम्बन्धलाई अनौठो संयोजन गरिएको देखिन्छ । प्रद्युम्न श्रेष्ठले ‘साङ्ग्रिला’ नामक चित्रमा अनौठो ढंगबाट मन्दिरको प्राङ्गणमा देव–शिवलाई उभ्याउन पुगेका छन् । अचानक बिच चौबाटोमा उत्पन्न भएजस्तो पारामा देखापरेका शिव वर्तमान अवस्थालाई खबरदारी गर्न आएजस्तो देखिन्छ । स्वैरकाल्पनिक बुट्टाहरू र मन्दिरको छाना आकाशभरि छताछुल्ल भएर पोखिएको देखिन्छ । यसले सपना देखेको हो कि जस्तो बनाउँछ, जुन उनको खास विशेषता हो । यसले भावकलाई अचम्मको प्रभाव दिएको महसुस हुन्छ । आकाशमा बादलरूपी शेषनागलाई समात्दै उडिरहेका गरुडको परिकल्पना उनले जसरी गरेका छन्, त्यसले कल्पनामाथिको सपनालाई ओराल्ने काम गर्छ । सामान्य यो दृश्यचित्र हो । यसमा समसामयिकताभित्र परम्परागत कलाको समेत झल्को पाइन्छ । यो पनि मिथकको अर्को खाले प्रयोग हो । 

कृष्णा थिङले ‘ब्रेथ’ नामक चित्रमार्फत गोलाकारमा घुमेका बुट्टेदार रेखाहरूलाई गजबले प्रयोग गरेकी छन् । यसले पनि मिथकको अंशलाई समातेको देखिन्छ । यस मानेमा तेन्जिङ ओइसरको ‘भैरव–अक्षरको यात्रा’ नामक चित्र अझ आकर्षक छ । शौरगंगा दर्शनधारीको चित्र (इचिङ एक्वान्टिट) ले पनि मिथकलाई नै समातेको देखिन्छ । 

जेनी डंगोलको चित्रमा मन्दिर छ । यसमा कलात्मक बुट्टाहरू विस्तारमा बसेका देखिन्छन् । अनि यसैको प्राङ्गणमा व्यापार गर्दै गर्दा पनि देवी–देवताको अंशलाई छोएकै देखिन्छ । मनिष धोजुको ‘रोयल गार्जियन’ नामक कृति तेन्जिङ नोर्बुको ‘द मोनास्ट्री‘, आक्रोश थापा मगरको ‘रेजोनेन्स अफ द डिभाइन’ आदि पनि मिथककै वरिपरि घुमेका देखिन्छन् । यी चित्रमा ठुलाठुला महलका खाँबा प्रतीकात्मक विम्बका रूपमा बिचमा बसेको देखिन्छ । सिंह देवीको वाहन पनि हो । यसर्थ यही सिंह पनि मिथकको अर्को रूप नै बनेको देखिन्छ ।  

पृथ्वी श्रेष्ठको कपल सिरिजमा चराहरूको जोडी लोभलाग्दो देखिन्छ । शान्तनु दासको अर्धनारीश्वर चित्र पनि ज्यादै मार्मिक देखिन्छ । शिवलिङ्ग (वा लिङ्ग)मा महिलाको स्तनलाई चरमोत्कर्षमा प्रस्तुत भएको छ । अनि चराको आकृति बन्दै गर्दा अलौकिक फेन्टासीमा यो चित्र देखिन्छ । सम्भवतः योभन्दा पहिला अर्धनारीश्वरको यो स्वरूप कसैले देखेका थिएनन् । 

रोशन भण्डारीको ‘कन्टेमप्लेसन’ युनिक ड्रइङहरूको रूपमा एउटा छुट्टै आकर्षण लिएर देखापरेको छ । चारकोलले क्यानसोन पेपरमा खेलिबस्दा यसले गजबको प्रभाव सिर्जना गरेको छ । 

चिराग वाङ्देल यसपल्ट पनि आफ्नै निजी शैलीमा देखापरेका छन् । उनको यो चित्रमा  युवतीसँग खेल्दै गरेको सेतो हाँसले मौन–संवादमा कुरा बोलेको छ । 

chirag

नवीन नाल्बोको ‘नेपाली आर्टिस्ट’ नामक चित्र क्यारिकेचर आर्टको अर्को राम्रो नमुना हो । अहिले क्यारिकेचर कलाको एक अलग्गै रूपमा बहाव आएको छ । यसै विधामा मात्र अलग्ग प्रदर्शनी हुन थालेका छन् । नवीनका कलाका पात्र अधिकांश नेपाली कलाकार नै हुने गर्छन् । आजका कलाकार स्वयं पनि कलाको विषय हुन सक्छन् भन्ने नयाँ ढंगको सोच उनीमा पलाएको देखिन्छ । 

आशा डंगोलको ‘सेल्फ पोट्रेट’ पनि आजको कलाको विम्ब भएर देखापरेको छ । तेन्जिङ रिगडोलका दुईवटा चित्र छन् । एउटा ‘म्याचस्टिक’ नामक चित्र छ । सलाईको काँटीको सानोे आगोको झिल्काले वज्र प्रकाशमय भएको देखिन्छ । साह्रै घतलाग्दो र मार्मिक अनि सन्देशमूलक कलात्मक फोटोग्राफी हो यो । अर्को चाहिँ ‘ज्योम्याट्री अफ इमोसन’ छ । जहाँ परम्परागत लयात्मक बुट्टाहरू एउटा अर्थका साथ बसेका देखिन्छन् । नरेन्द्र मल्लले एउटा पिपलको पातमाथि ध्यानमग्न बुद्धलाई ल्याएका छन् । 

शशि शाहको चित्रमा यसपल्ट पनि चिरपरिचित घोडाहरू नै आएका छन् । ‘कल्की अवतार’ सिरिजकै यो एउटा चित्र हो । नेपाली कलामा मिथकको प्रयोग कसरी भयो भन्ने कुराको इतिहासलाई यसले सम्झना दिलाउँछ । शशिविक्रम शाह सन् ६० कै दशकमा (आधुनिक कलाको सुरुको दशक) उदाएका कलाकार हुन् । यसर्थ उनको कलाको उपस्थिति मात्रैले यो प्रदर्शनीको गरिमा बढाइदिन्छ । किरण मानन्धरको ब्रस स्ट्रोकभित्र महिलाको आकृति अर्ध–अमूर्तताका रूपमा बसेको देखिन्छ । यो उनको वर्षौंदेखिको आफ्नै निजी शैली हो । वीरेन्द्र प्रतापका दुईवटा इचिङका काम छन् । यसमा पनि एउटाको नाम ‘गणेश’ र अर्कोको ‘वर्डस् एन्ड एनिमल’ रहेको छ । 

kiran

गणेश नामको चित्रमा मुसाको रोब (घमण्डको सन्दर्भमा) मात्र देखिँदैन, गणेश स्वयं पनि डराएर बसेका देखिन्छन् । अर्को हावामा उठिरहेका जनावर छन् । फेन्टासीको पराकाष्ठामा बनेका यी चित्र मूलतः व्यङ्ग्यले भरिएका देखिन्छन् । 

विशाल महर्जनको ‘ठमेल डायरी’ नामक तीनवटा चित्र छन् । सामान्य मान्छेहरूको जीवन बचाउने व्यापार कसरी बढिरहेको छ, यसबारे अवलोकन गर्न सकिन्छ । 

कैलाश श्रेष्ठले आफ्नो चर्चित सिरिज ‘अक्युरेन्स आफ्टर डेमोक्रेसी’लाई पस्केका छन् । शरीरविना मात्र लुगाफाटाले समसामयिक विचार बोकेको यो उनको शक्तिशाली काम थियो । यस वेलाको राजनीतिक मुद्दामा बनेको यो उनको काम सशक्त मात्र छैन यसले समाजमा एउटा तरङ्ग नै पैदा गरिदिएको थियो । यही चित्र पुनः प्रदर्शनमा यहाँ आएको छ । 

ksilash

हिजोआज परम्परागत कला वा लोककला पनि समसामयिकताको लक्षण स्पष्ट देखिन थालेको छ । नेपाली समसामयिक कलाको विशेषता नै यही हो । फोटो पनि कलात्मक फोटोग्राफी बनी प्रदर्शनीमा भित्रिन पाएको देखिन्छ ।

यसपल्ट मनिषलाल श्रेष्ठको अलग्ग प्रकारको काम प्रदर्शन भएको छ । उनले तासका पत्तालाई कलाका रुपमा प्रस्तुत गरेका छन् । यसको अवधारणागत प्रस्तुति नितान्त नौलो प्रकारको छ । भुइँमा सानो टेबलमाथि स–साना तासका कार्ड कलाको रूपमा देखिन्छन् । चारवटा चित्रात्मक कार्डहरूले सगोलमा थुप्रै कुरा भनिरहेका देखिन्छन् । चित्रका अलग–अलग नाम छ । जस्तै ः एस अफ डाइमन्ड, किङ अफ डाइमन्ड, क्विन अफ डाइमन्ड, ज्याक अफ डाइमन्ड आदि । सबैजसो कलामा गाथा र कथाहरूको विम्ब प्रस्तुत भएको छ, यसले गर्दा यस कलाले एक अलग्ग अर्थ बोकेको देखिन्छ । 

manish

उद्धवराज रिमाल भने दुईवटा चित्र लिएर प्रस्तुत भएका छन् । एउटामा महिलाको अर्कोमा पुरुषको शिरविनाको धडलाई चित्रण गरी यी दुवैको शिरलाई अलग्ग झन्ड्याएको अवस्थामा प्रस्तुत गरिएको छ । 

यस्तै लियो झङ्कारका कामहरू ‘स्टोरी अफ माई प्लेस’ नामबाट प्रस्तुत भएका छन् । कल्पनामा बुनेका घरहरूलाई डिजाइनको पारामा प्रस्तुत हुनुले पनि यसको अलग्ग पहिचान देखिन्छ । 

कविर कायस्थका दुई चित्र छन्— ‘नाग पूजा’ र ‘चक्र एन्ड गाग्री’ । पोखरीमाथि पुरानो शैलीमा बनेको ‘नागपूजा’मा पानीभित्र पसेर बडेमानको नागमा पूजा गर्दै गरेको संयोजन छ । अर्को चित्रमा च्यातिएको कागजमा चित्र अनि अक्षरहरू पंक्तिबद्ध भई बसेका देखिन्छन् । यसले पुरानो ग्रन्थचित्रको याद दिलाउँछ ।

नारायण भोजुको सिफाइन मुभमेन्ट नामक चित्रमा अनगिन्ती पारदर्शी झ्यालहरूले एक तमासको मजा दिन्छ । दोर्जी कर्मरोङले ‘बिहाइन्ड द आई अ माइन्ड फूल अफ एस्टर्डे एन्ड टुमारो’ बनाए । जहाँ चहकिला विपरीत रङहरूबाट परम्परागत मोटिफहरूलाई समायोजन गरी आजको कथालाई प्रस्तुत गरे । 

विनोद लिम्बुले ‘पाइनउड फोरेस्ट’ अनि ‘इस्टर्न हिल’ बनाए । मात्र दृश्यचित्र देखिने उनका चित्रमा कलरफुल रेखाहरू यसरी घुमाउरोमा बसेका देखिन्छ । घुमाउरो भई लयात्मक रूपमा बगेका स–साना रङका रेखाले समग्रमा कल्पना वा सपनामा बनेको पहाडजस्तो दृश्यावलोकन हुन्छ । जुन खाइलाग्दो प्रकारले देखिन गएको देखिन्छ । 

binod limbu

विद्यामान तामाङले प्रिन्ट मेकिङका काम गरेका छन् । उनका काममा आँखा जाँची हेर्न बनेका उल्टा–सुल्टा अक्षरहरू फेन्टासीका रूपमा देखिन्छन् । कुखुराको भालेले आफ्नो आँखा जचाउँदै गर्दा प्रविधिगत रूपमा इम्बोज (एक प्रकारको प्रिन्ट मेकिङ काम) अझ गहकिलो भएर देखापरेको छ । 

दिनेश राईले वालपेन प्रयोग गरेर हल्का पारदर्शी रूपमा भावनात्मक आकारमा बाँदरसँग दुखेसो बाँडेको देखिन्छ । हल्का खैरो रङसँग पातलो सुन्तला रङ समायोजन हुँदा थोरै अचम्मको कलागत संयोजन देखिन्छ । कृशा ताम्राकारको पुरानै काम ‘साइलेन्ट बाउन्डरिज’लाई प्रदर्शनमा ल्याएकी थिइन् । कृष्ण लामाले ‘मान्छे र मान्छेहरूको भीड’ अनि नजाने के के हो वातावरण सिर्जना गरेका छन् । 

ज्यास्मिन राजभण्डारीले पिङ खेल्दै लटाइ र चङ्गा आदिमा रमाएका बालबालिकालाई चित्रित गरेकी छन् । विनोद गिरीले ‘उइन्डो अफ होप’ बनाए । जहाँ कलात्मक बुट्टाहरूले भरिएका पहाड, कलात्मक झ्यालबाहिरको साँझको वातावरण आदि आएका छन्; जहाँ आशा, सपना वा कल्पना संसार प्रतीत हुन्छ । सुशीला सिंहले सिरामिक काममार्फत जनावरको काल्पनिक संसार उजागर गरेकी छन् । साहिल भोपालले परम्परागत मोटिफलाई खेलाउँदै अनेक कलागत संरचनालाई प्रस्तुत गरे । 

यस्तै उमेश श्रेष्ठको गणेश, सुरज शिल्पकारको बाजा–गाजा, एससी सुमनको पशुपतिनाथ आदि पनि आकर्षक रूपमा देखिन पुगेका छन् । विनोद प्रधानले हिटीलाई कलात्मक रूप दिँदै प्रकृतिसँग जोड्ने काम गरे । प्रदीप शाक्यले ऐनामाथि काम गरे । अनिल शाहीले बाणहरूको संयोजनले परम्परालाई जोड्ने काम गरे । हितेश वैद्यको ‘कंक्रिट’, मुक्तिसिंह थापाको ‘नशा’, मनोरमा खत्रीको ‘बाबा’, ओनेसिमस थुलुङ राईको ‘प्लम्ब भेस’, समुन्द्रमान श्रेष्ठको ‘नेचर’, पूजा दुवालको ‘खाजा’, राजन पन्त ‘तराई भिलेज’, रजनी सिङ्खवालको ‘पद्मा आसना’ तिशा श्रेष्ठको ‘लिपि’, सुजन ढंगोलको ‘टेल अफ द सिटी’, रुकमणिको ‘आमा’, श्रयम शाक्यको ‘नेचर अफ स्प्रिट’ आदिलाई पनि अवलोकन गर्न पाइयो । 

(मल्ल कलाकार र कला समीक्षक हुन् ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मुकेश मल्ल
मुकेश मल्ल
लेखकबाट थप