शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
राजनीति

लुम्बिनीमा गीता गुरुङको ठाउँमा निलमलाई प्रदेशसभा सदस्य बनाउँदै जनमत

आइतबार, २५ साउन २०८२, १४ : १७
आइतबार, २५ साउन २०८२

सारांश

  • जनमत पार्टीकी प्रदेशसभा सदस्य गीता गुरुङले राजीनामा दिएपछि निलम पासवानलाई समानुपातिक सदस्य बनाइने भएको छ।
  • राजनकुमार श्रेष्ठ सम्पर्कमा नआएपछि दलित कोटाकी निलम पासवानको नाम सिफारिस गर्न लागिएको छ।
  • निलम पासवान मधेश प्रदेशकी भए पनि लुम्बिनीमा बसाइँ सरेकी छन् र उनलाई सिफारिस गरिने भएको छ।

रुपन्देही । जनमत पार्टी लुम्बिनी प्रदेशसभा सदस्य गीता गुरुङले आफ्नो पदबाट राजीनामा दिएपछि सो ठाउँमा अर्को समानुपातिक सदस्य चयन गर्न लागिएको छ । गुरुङको ठाउँमा निलम पासवानको नाम निर्वाचन आयोगमा सिफारिस गर्न लागेको जनमत पार्टी स्रोतले जनाएको छ । 

गुरुङ आदिवासी जनजाति (महिला) कोटाबाट समानुपातिक सदस्य भएकी थिइन् । उनको नाम बन्द सूचीको दोस्रो नम्बरमा थियो । उनले राजीनामा दिइसकेपछि आदिवासी जनजाति कोटामा पुरुषतर्फ राजनकुमार श्रेष्ठ प्रदेशसभा सदस्यमा समानुपातिक उम्मेदवार छन् । सूची अनुसार उनको नाम पठाउनुपर्ने हुन्छ । 

तर जनमत पार्टी लुम्बिनी प्रदेश समितिका सदस्य समेत रहेका श्रेष्ठ पार्टीको सम्पर्कमा नआएका कारण निलम पासवानको नाम पठाउन लागिएको सो पार्टीका एक पदाधिकारीले बताए । निलम पासवानको दलित कोटाको बन्दसूची क्रमसंख्या ४ नम्बरमा नाम छ । जनमत पार्टीले आदिवासी जनजातिको कोटामा दलित कोटाको नाम पठाउन लागेको हो । 

सो प्रदेशमा समानुपातिक सूचीको आदिवासी जनजाति कोटामा दुई जनाको नाम रहेको छ । त्यसमध्ये गुरुङले राजीनामा दिइसकेकी छन् भने श्रेष्ठ सम्पर्कमा नै छैन । दलित कोटा पनि एक पुरुष र एक महिला गरी दुई जनाको नाममा छ । त्यसमध्ये निलमको नाम पठाउन लागेको स्रोतले दाबी गरेको छ । 

निलम मधेस प्रदेश सिरहाकी हुन् तर उनी लुम्बिनी प्रदेशमा बसाइ सराइ गरिसकेको पार्टीले दाबी गरेको छ । पार्टीका अध्यक्ष डा.सिके राउत मुलुक बाहिर छन् । उनी स्वदेश फर्केपछि अर्को हप्तातिर निर्वाचन आयोगमा निलमको नाम सिफारिस गर्ने बताइएको छ । 

गीता गुरुङले आफ्नो व्यस्तताको कारण देखाउँदै प्रदेश सभा सदस्यबाट वैशाख ३० गते राजीनामा दिएकी थिइन् । जनमत पार्टीले उनले राजीनामा दिएपछि सो ठाउँमा राजनकुमारको नाम पठाउने तयारी थालेका थियो । तर पार्टीले पटक पटक सम्पर्क गर्न खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् । 

त्यसपछि उनलाई स्पष्टीकरण सोधिएको थियो । स्पष्टीकरणको जवाफ राजनकुमारले दिएनन् । प्रक्रिया पुरा गरेर राजनकुमारको नाम बन्द सूचीबाट हटाउन लागिएको जनमत पार्टी स्रोतले जनाएको छ । 

पहिला राजनकुमारको नाम हटाउने, त्यसपछि निलम पासवानको नाम पठाउने तयारी सो पार्टीले गरेको छ । पार्टीले जेठ २० गते उनलाई पहिलो स्पष्टीकरण सोधेको थियो । राजनकुमार विगत दुई वर्षदेखि पार्टीको सम्पर्कमा छैनन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप