शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
विचार

इँटा उद्योगका श्रमिकको सुरक्षामा कसले दिने ध्यान ?

आइतबार, २५ साउन २०८२, १४ : ४३
आइतबार, २५ साउन २०८२

सारांश

  • जोखिमपूर्ण क्षेत्रमा काम गर्ने श्रमिकको स्वास्थ्य सुरक्षा निर्देशिका कार्यान्वयन नहुँदा श्रमिकहरू जोखिममा छन्।
  • इँटा उद्योगमा काम गर्ने कामदारको स्वास्थ्य बिमा, सुरक्षा सामग्रीको अभाव, र बाल अधिकारको समस्या रहेको छ।
  • इँटा उद्योगमा कामदार व्यवस्थापनमा नाइकेको भूमिका महत्वपूर्ण भए पनि नीति र कानुनले यसलाई मान्यता दिएको छैन।

जोखिमयुक्त क्षेत्रमा काम गर्ने श्रमिकको व्यवसायजन्य सुरक्षाका लागि स्वास्थ्यसम्बन्धी निर्देशिका छ । तर कार्यान्वयन नहुँदा श्रमिकहरु जोखिममा छन् । 

निर्देशिकामा कामदारको प्रमाणित अभिलेख राख्नुपर्ने, स्वास्थ्य उपचारको सुविधा, कामदारका साना सन्तानका लागि दिवा शिशु स्याहार केन्द्रको व्यवस्था, शौचालय, स्नानगृहको व्यवस्था, बाबुआमासँग आएका बालबालिकालाई नजिकको विद्यालयमा भर्ना गरी अध्ययनमा जोड्नुपर्ने कुरा निर्देशिकामा उल्लेख छ ।  

यस्तै कामदारलाई डस्ट फिल्टर मास्क, पञ्जा, चस्मा टोपी, जुत्ता, हेल्मेट, सेप्टी बेल्ट लगायत सुरक्षा सामग्री उद्योगले व्यवस्थापन गर्नुपर्ने प्रष्ट व्यवस्था छ । तर उद्योगमा यस्ता सामग्रीको व्यवस्थापन शून्यप्राय: छ । सम्बन्धित उद्योगीले यी र यस्ता विषयमा अनदेखा गरिरहेका छन् । 

कामदारलाई स्वास्थ्य बिमामा जोड्न सकेको अवस्थामा उनीहरुलाई स्वास्थ्य समस्या हुँदा निकै राहत हुन्छ, तर यसमा नाइके उद्योगी गम्भीर भएको देखिन्न । असुरक्षित काम गर्ने भएको हुँदा नै इँटा उद्योगमा काम गर्ने कामदारको श्वासप्रश्वासम्बन्धी समस्या धेरै देखिने गरेको पाइन्छ तर यसमा सम्बन्धित निकाय गम्भीर देखिँदैन । 

इँटा उद्योगको नजिक पानीको पोखरी राख्न नहुने निर्देशिकामा छ तर पोखरीमा परेर दुघर्टना हुने गरेका समाचार बाहिरिरहेका छन् । उद्योगको कार्यस्थलमा ३५ डिग्री भन्दा कम तापक्रम हुनुपर्ने भए पनि यस्तो देखिँदैन । व्यवसायजन्य स्वास्थ्य सुरक्षा समिति उद्योगमा हुनुपर्छ तर उद्योगमा रोजगारदाताले त्यसता समितिहरु कमै गठन गर्छन् ।  

कामदारको हकहितका लागि सामाजिक संघ-संस्थाहरुले उद्योगमा कार्यक्रमहरु सञ्चालन गरिरहेका हुन्छन् । तर सामाजिक संस्थाहरुसँग उद्योगकफ प्रभावकारी समन्वय भइरहेको देखिँदैन । 

उद्योगमा जसले सबै कामदारको व्यवस्थापन गर्छ, उसैलाई श्रम सम्बन्धी बनेका नीति र कानुनले चिन्दैन । सबै उद्योगमा नाइके हुन्छन् । तर ती उद्योग सञ्चालन गर्ने रोजगारदाताले बनाएका कार्यादेश निर्देशिकाले पनि नाइकेको भूमिका नचिन्ने गरेको पाइएको छ । 

श्रम ऐन २०७४ ले नै उद्योगमा काम गर्ने श्रमिकको एक लाख रुपैयाँसम्मको स्वास्थ्य बिमा गर्नुपर्ने व्यवस्था गरेको छ । तर यस विषयमा उद्योगीहरुले सरोकार राखेको पाइँदैन । 

मुलुकभर करिब १२ सय इँटा उद्योग सञ्चालनमा छन् । सरकारले इँटा उद्योगलाई जोखिमयुक्त काम क्षेत्रको सूचीमा राखेको छ । सिजनेबल कामको रुपमा सञ्चालित इँट्टा उद्योगमा धेरैजसो कामदार रोल्पा, रुकुम, सल्यान, सिन्धुली, रामेछाप, काभ्रे र दाङ जिल्लाका हुने गरेका छन् । 

गाउँमा जीविकोपार्जनको समस्या, आफ्नो जमिनबाट उत्पादन भएको अन्नले ६ महिना पनि खान धौधौ हुने परिवार इँट्टा उद्योगमा इँटा पार्ने र बोक्ने काम गर्न आउँछन् । अहिले इँटा उद्योगमा आएका कामदार धमाधम आफ्नो हिसाब बुझेर गाउँ फर्किने समय हो । वर्षा लागेपछि उद्योगमा काम बन्द हुने भएकाले पानी पर्न थालेपछि कामदारहरुलाई गाँउ फर्काइन्छ । मंसिरदेखि जेठसम्म कामदारहरुले इँट्टा उद्योगमा काम गर्छन् । 

इँटा उद्योगको सिजन सुरु हुनुअघि कामदार ल्याउन खर्चसहित इँटा उद्योगका कर्मचारी गाउँगाउँ पुग्छन् । तिनीहरुले गाउँमा गएर समस्यामा परेका परिवारलाई आर्थिक व्यवस्थापन गरिदिन्छन् । इँटा उद्योगमा गएर काम गर्ने सर्तमा उद्योगका प्रतिनिधिबाट समस्या भएका परिवारले ऋण स्वरुप आफूलाई चाहिएको पैसा लिन्छन् । जसलाई पेश्की रकम भनिन्छ । त्यसरी गाउँमा गएर पेश्की दिने र कामदार ल्याउने प्रतिनिधिलाई उद्योगमा नाइके भन्ने गरिन्छ । 

उद्योगमा कामदारको सबै व्यवस्थापन गर्ने गाउँमा गएर कामदार ल्याउने सिजन सकिएपछि कामदार गाउँ पठाउने सबै काम नाइकेबाट गरिन्छ । सबै इँटा उद्योगमा इँटा बोक्ने र इँटा बनाउनेको छ्ट्टाछुट्टै नाइके हुन्छन् । इँटा उद्योगमा रहेका कामदारसँग सिधा सम्पर्क हुँदैन । नाइकेमार्फत नै कामदारसँग सम्पर्क गर्नुपर्छ ।

इँटा उद्योगमा कति बालबालिका छन् ? कुन-कुन जिल्लाका कामदार कति छन् ? कति गाउँबाट सिङ्गै परिवार उद्योगमा आएका छन् ? कुन पालिकाबाट कामदार आएका छन् ? लगायतका विषयमा इँटा उद्योगको अभिलेखीकरणमा भन्दा पनि मौखिक रुपमा नाइकेसँग भर पर्ने गरिन्छ । 

कतिपय परिवारले आफ्नो गर्जो टार्न नाइकेबाट धेरै पैसा पेश्की लिएका हुन्छन् । त्यस्ता परिवारहरु गाउँमा आफ्नो घरमा ताला नै लगाएर घर रित्तै बनाएर उद्योगमा काम गर्न आएका हुन्छन् । जतिधेरै काम गर्न सक्यो, त्यति नै छिटो ऋण तिरेर घर फर्किंदा अलिकति पैसा बचाएर दसैं खर्च जोहो गरौं भन्ने आश परिवारको हुने भएकाले बाबुआमा, छोराछोरी सबैजना सिङ्गो परिवार नै उद्योगमा बिहान ४ बजेबाट बेलुका ६ बजेसम्म पनि काम गरिरहेका हुन्छन् । 

गाउँगाउँबाट आउनेको जिम्मेवारी नेपाली नाइकेको हुन्छ । इँटा पोल्ने टाँगा, खच्चड चलाउने कामदार भारतबाट ल्याइन्छ । 

उद्योगमा जसले सबै कामदारको व्यवस्थापन गर्छ, उसैलाई श्रम सम्बन्धी बनेका नीति र कानुनले चिन्दैन । सबै उद्योगमा नाइके हुन्छन् । तर ती उद्योग सञ्चालन गर्ने रोजगारदाताले बनाएका कार्यादेश निर्देशिकाले पनि नाइकेको भूमिका नचिन्ने गरेको पाइएको छ । 

इँटा उद्योगमा धेरै कामदारको व्यवस्थापन गर्नुपर्ने भए पनि उनीहरुको लिखित अभिलेखीकरण गर्ने अभ्यास उद्योगमा देखिँदैन । कामदारको विवरण हेर्नुपर्‍यो भने उद्योगीहरुले नाइकेलाई देखाउने हो । नाइकेसँग कुरा गर्दा लिखित रेकर्ड हुँदैन, मौखिक रुपमा मात्रै यति छन् भन्ने गरिन्छ । यसले गर्दा कामदारहरुको बालबालिकाको विवरण व्यवस्थित हुँदैन । उद्योगमा आउने कामदारहरुको ६ महिना उद्योग र ६ महिना गाउँको बसाइ हुने भएकाले सन्तानको पढाइ पनि चौपट भइरहेको हुन्छ । केही अभिभावकले उद्योगको सिजन सकिएपछि कोठामा बसेर भएपनि छोराछोरीको पढाइलाई निरन्तरता दिन्छन् भने धेरै अभिभावक गाउँ नै फर्किन्छन् । 

पढ्दापढ्दै गाउँबाट इँटा उद्योगमा बाबुआमासँगै आएका बालबालिकाले नजिकको विद्यालयमा पढ्न त पाउँछन् तर परीक्षा कहाँ दिने अन्योल हुन्छ । जसकारण धेरै बालबालिकाले विद्यालय छाड्छन् । अभिभावकले पनि कामको चापले बालबालिकाको ध्यान दिन पाएका हुँदैनन् ।

अनि उद्योगमा कामदारको रुपमा आउने अभिभावकहरुको परिवार पनि एउँटै हुँदैनन् । बाल विवाह, बहुविवाह त त्यहाँ सामान्य जस्तै हुने गरेको देखिन्छ । उद्योगमा काम गर्ने कामदारको सवालमा विवाह दर्ता जन्म दार्ता नागरिकता,  राष्ट्रिय परिचयपत्र लगायत नभई हुने कागजात अधिकांशको बनेकै हुँदैन । सबै हिसाबबाट हेर्दा उद्योगमा काम गर्ने कामदारहरुको अवस्था जोखिमयुक्त छ । 

उनीहरु सामान्य अवस्थामा सरकारी सेवाबाट पर नै हुन्छन् । शिक्षा, स्वास्थ्य जस्ता सेवाबाट त कैयौं कामदार छायामा नै परेका पारिएका हुन्छन् । कामदारको जोखिमलाई ध्यानमा राखेर उद्योगले कामदारका लागि पूरा गर्नुपर्ने मापदण्डहरु नीतिमा छन् तर अभ्यासमा छैन । 

कतिपय उद्योगमा काम गर्दागर्दै कामदारको मृत्यु हुने, बालबालिका पोखरीमा डुब्ने घटना हुने गरेका छन् । उद्योगमा काम गर्ने कामदारहरुको उचित व्यवस्थापनका लागि सम्बन्धित निकायले गम्भीर ध्यान दिन जरुरी छ । कानुनमा व्यवस्था नभएको नाइके पदलाई कि अभ्यासबाट हटाउनुपर्छ कि कानुनले चिन्ने अवस्था बनाउनुपर्छ । 

उद्योगमा आएका कामदारहरुको विवरण कामदारको स्थायी ठेगाना भएका पालिकाले पनि राख्ने अभ्यास गर्नुपर्छ । त्यसले बालबालिकाको अवस्था थाहा पाउन पनि सहज हुन्छ । सबैभन्दा धेरै समस्या भएको र कामदारको अवस्था विवरण भद्रगोल भएको उद्योगको रुपमा इँटा उद्योगलाई लिइन्छ । त्यसैले इँटा उद्योगमा रहेका कामदारहरुको व्यवस्थापनमा सम्बन्धित मन्त्रालय, इँटा उद्योग व्यवसायी महासंघ, सामाजिक संस्था लगायत निकायहरु निकै गम्भीर बन्नुपर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गोविन्द विक
गोविन्द विक
लेखकबाट थप