बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

दक्षिण एसिया आतङ्कवादको उदगमस्थल  : आचार्य

आइतबार, २५ साउन २०८२, २३ : ०४
आइतबार, २५ साउन २०८२

सारांश

  • पूर्वसचिव आचार्यले दक्षिण एसिया आतङ्कवादको उद्गमस्थल रहेको बताएका छन्, जसले आन्तरिक कारणहरूलाई औंल्याए।
  • द्वन्द्वविज्ञ अधिकारीले दक्षिण एसियामा आतंकवादी संगठन र आक्रमणको संख्या प्रस्तुत गरे, जनकेन्द्रित सुरक्षा नीतिको आवश्यकतामा जोड दिए।
  • वक्ताहरूले आतङ्कवादको समाधानका लागि क्षेत्रीय सहकार्य, राजनीतिक प्रतिबद्धता र नेतृत्वदायी पहल आवश्यक रहेको निष्कर्ष निकाले।

काठमाडौँ  । पूर्वसचिव तथा कूटनीतिक मामिला विज्ञ मधुरमण आचार्यले दक्षिण एसिया आतङ्कवादको उद्गमस्थल रहेको बताएका छन् । नेपाल भारत विकास मञ्चद्वारा आइतबार आयोजित ‘दक्षिण एसियामा आतङ्कवादको अवस्था र दीर्घकालीन समाधान’ विषयक विचार गोष्ठीमा उनले यहाँका आन्तरिक राजनीतिक, सामाजिक र भौगोलिक कारणहरूले आतङ्कवाद जन्माएको बताए ।

पाकिस्तानले घुमाउरो तरिकाले आतङ्कवादलाई समर्थन गरेको जिकिर गर्दै उनले तालिवानको उदाहरण दिए । जहाँ अमेरिकी सैन्य दबाबले समस्या समाधान गर्न नसकेको उनले बताए । दक्षिण एसिया आतङ्कवादको उदगमस्थल रहेको उल्लेख गर्दै उनले भने, ‘हालसम्म सार्क सम्मेलन आतङ्कवाद का कारण रोकिएको  हो ।’

‘आतंकवादीहरुले कुनै कुरामाथि ध्यानाकर्षण गराउनका लागि अचानक हमला गर्छन् र चर्चामा आउँछन् । भारत काश्मीरको पहलगममा त्यही भएको हो’ आचार्यले भने । 

काश्मीरमा चुनाव भएर राजनीतिक गतिविधिहरू ठिक ढङ्गले अगाडि बढिरहेको र पर्यटकको चहलपहल बढ्न थालेको देखेर  आतङ्कवादीहरुले आक्रमण गरेको धारणा उनले राखे ।

आतंकवादका कारण युद्ध नहोस् भनेर नेपालले भूमिका खेल्नुपर्ने उल्लेख गर्दै उनले आतङ्कवादबाट भारत सबैभन्दा बढी प्रभावित भएको बताए ।  यसको समाधानका लागि भारतले अगुवाइ गर्नुपर्ने उनले  बताए ।

द्वन्द्वविज्ञ इन्द्र अधिकारीले दक्षिण एसियामा १२४ आतंकवादी सङ्गठन सक्रिय रहेका र सन् २०२० सम्म १ लाख ९० हजार आतङ्ककारी आक्रमण भएको बताए । राज्यले असन्तुष्ट पक्षलाई दमन गर्दा पनि आतङ्कवाद जन्मिने तथ्याङ्क रहेको उनले बताए  । जनकेन्द्रित सुरक्षा नीति नबनाएसम्म आतङ्कवाद अन्त्य नहुने चेतावनी दिंदै अधिकारीले केवल सुरक्षा बलले मात्र यो समस्या समाधान नगर्ने धारणा राखे ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दक्षिण एसियामा जनताले नै आतङ्कवादको सबैभन्दा बढी पीडा भोगिरहेको बताए । आतङ्कवाद मानवताविरुद्धको अपराध भएको उल्लेख गर्दै उनले राज्यलाई यससँग लड्न शक्तिशाली बनाउनुपर्ने सुझाव दिए । तर सेना र गोली–बारुद प्रयोग नगरी गरिबी र अशिक्षा अन्त्य गर्ने दीर्घकालीन समाधानतर्फ ध्यान दिनुपर्ने उनले जोड दिए । कार्यक्रम मञ्चका अध्यक्ष रामकिशोर सिंहको अध्यक्षतामा सम्पन्न भएको हो । 

सहभागी वक्ताहरूले आतङ्कवादलाई मानव सभ्यताको साझा चुनौती र मानवताविरुद्धको अपराधका रूपमा परिभाषित गर्दै यसको समाधानका लागि क्षेत्रीय सहकार्य, राजनीतिक प्रतिबद्धता र नेतृत्वकारी पहल अपरिहार्य रहेको निष्कर्ष निकालेका छन् ।

कार्यक्रममा अधिकांश वक्ताहरूले आतङ्कवादको जड गरिबी, बेरोजगारी, राजनीतिक असमानता र अन्यायपूर्ण शक्ति बाँडफाँड रहेको उल्लेख गर्दै केवल सैन्य शक्ति प्रयोगबाट यसको अन्त्य सम्भव नहुने धारणा राखे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप