३ वर्षमा सम्पन्न हुनुपर्ने कमला नदीको पुल १४ वर्ष पनि अधुरै, काठे संरचनामा मनपरी शुल्क
सारांश
- सिरहा र धनुषा जोड्ने कमला नदीको पुल १४ वर्षदेखि अधुरै छ, जसले गर्दा स्थानीयवासीले सास्ती भोग्दै आएका छन्।
- पुल निर्माणको जिम्मा पाएको कम्पनीले काम रोकेको र सरकारले ठेक्का तोड्ने प्रक्रिया अघि बढाएको छ।
- अधुरो पुलका कारण स्थानीय बासिन्दा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्, र उनीहरूले यात्राका लागि मनपरी शुल्क तिर्नुपरेको छ।
सिरहा । सिरहा र धनुषा जिल्लालाई जोड्ने कमला नदीको पक्की पुल १४ वर्षदेखि अधुरै छ । विसं २०६८ मा तीन वर्षमै सम्पन्न गर्ने लक्ष्यसहित सुरु गरिएको चार सय ६९ मिटर लामो पुल अहिलेसम्म निर्माण सम्पन्न नहुँदा स्थानीयवासी बर्सेनि सास्ती भोग्न बाध्य छन् ।
पुल नबन्दा स्थानीयले अस्थायी रूपमा बनाइएको बाँस वा काठको पुलमार्फत जोखिमपूर्ण यात्रा गर्नुपर्ने अवस्था छ । यही साउनको तेस्रो हप्तामा आएको बाढीले बाँसको अस्थायी पुल बगाएपछि आवतजावत ठप्प भएको थियो । हाल पुनः काठको संरचना बनाएर आवतजावत केही सहज बनाइएको भए पनि जोखिम यथावत् छ ।
सिरहा – ६ का प्रवीण यादव भन्छन्, ‘पुल नबन्दा हामी वर्षौँदेखि सास्ती भोग्दै आएका छौँ । अहिले बनाइएको काठे संरचना जोखिमपूर्ण छ, तर त्यही बाटो भएर हामी हिँड्न बाध्य छौँ । मोटरसाइकलसहित यात्रा गर्दा झन् डर लाग्छ, तर विकल्प छैन । त्यसमा पनि यात्रुहरूमाथि मनपरी शुल्क असुली भइरहेको छ ।’
नगरपालिकाले निःशुल्क सञ्चालनको दाबी गरे पनि रु ५० सम्म तिर्नुपरेको उनको भनाइ छ । उनले भने, ‘पहिले ठेक्का सम्झौताअनुसार रु २० लिइन्थ्यो, अहिले त्यो पनि हटेको भनिए तापनि व्यवहारमा शुल्क झनै बढेको छ । जनतामाथि दोहोरो भार परेको छ एकातिर जोखिमपूर्ण यात्रा, अर्कातिर अनियमित शुल्क असुली ।’
पुल निर्माणको जिम्मा पहिले पप्पु–लुम्बिनी जेभीलाई दिइएको थियो । पप्पु कन्स्ट्रक्सन कालोसूचीमा परेपछि बाँकी काम लुम्बिनी बिल्डर्सले गर्दै आएको हो । तर बाढीले दुई पाया भासिएपछि आवश्यक मर्मतका लागि आठ करोडको बिमा रकम नपाएको कारण देखाउँदै कम्पनीले पछिल्लो एक महिनादेखि काम रोकिदिएको छ ।
हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरका सूचना अधिकारी इञ्जीनीयर रञ्जितकुमार रायका अनुसार निर्माण कम्पनीले तोकिएको म्यादमै काम रोकेकाले ठेक्का तोडेर लुम्बिनी बिल्डर्सलाई पनि कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाइएको छ । सिरहा—६ का वडाध्यक्ष इन्द्रजित यादवका अनुसार, पुल नहुँदा बाढीपछिको समयमा पैदलयात्रुले बाँसको भर्याङ चढेर वा डुङ्गाबाट नदी पार गर्नुपर्ने अवस्था रहेको छ । कमला नदीमाथिको पुल अधुरो रहँदा हरेक वर्षको वर्षायाम स्थानीयवासीका लागि चुनौती बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोरला नाकाबाट भित्रिएका थप २४ विद्युतीय गाडी नियन्त्रणमा
-
उत्तर कोरियाको आणविक दौड तीव्र
-
एसीसी महिला प्रिमियर कप : भुटानलाई सजिलै हरायो नेपालले
-
निन्दा नदी किनारमा बाढी नियन्त्रण गर्न चार हजार बाँसका बिरुवा रोपियो
-
ताइवान भ्रमणको कारण चार न्यूजिल्यान्ड सांसदमाथि चीनको यात्रा प्रतिबन्ध
-
बजेटको मुखमा आयोगकी सदस्य लामिछानेले दिइन् राजीनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण