बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
राजनीति

जसपा र राष्ट्रिय मुक्ति पार्टी नेपालबिच कार्यगत एकता घोषणा हुँदै

बुधबार, २८ साउन २०८२, १३ : १८
बुधबार, २८ साउन २०८२

सारांश

  • अशोक राईको जसपा र राजेन्द्र महतोको राष्ट्रिय मुक्ति पार्टी नेपालबीच कार्यगत एकता हुने भएको छ।
  • दुई दलले पहिचानको मुद्दामा मिलेर काम गर्ने र भोलि औपचारिक घोषणा गर्ने तयारी गरेका छन्।
  • जसपा उपेन्द्र यादवबाट अलग भएर बनेको हो भने, राष्ट्रिय मुक्ति पार्टी लोसपाबाट अलग भएका राजेन्द्र महतोले बनाएका हुन्।

काठमाडौँ । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) र राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल बिच कार्यगत एकता हुने भएको छ । दुई दलबिचको कार्यगत एकताको बिहीबार घोषणा हुने जसपाका एक नेताले रातोपाटीलाई जानकारी दिएका हुन् । 

ती नेता अनुसार कार्यगत एकताको सम्पूर्ण तयारी पूरा भइसकेको छ । भोलि एउटा कार्यक्रम गरेर औपचारिक रूपमा घोषणा गरिने छ । 

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालबाट अलग भएर जसपा २०८१ साल वैशाखमा बनेको पार्टी हो । जसपा अहिले सरकारमा पनि सहभागी छ । त्यस्तै, लोसपाबाट अलग भएर राजेन्द्र महतोले २०८० फागुनमा राष्ट्रिय मुक्ति क्रान्ति अभियान सञ्चालन गरेका थिए । केही समय अभियान सञ्चालन गरेका महतोले २०८१ असोजमा राष्ट्रिय मुक्ति पार्टी नेपाल गठन गरेका हुन् । पहिचानको मुद्दामा सङ्घर्ष गर्नका लागि यी दुवै पार्टीको बिचमा कार्यगत एकता हुन लागेको बताइएको छ । 

उता, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी सङ्घीय लोकतान्त्रिक मोर्चा पनि आबद्ध छ । तर, जसपा भने सो मोर्चामा सहभागी छैन । सुरुमा मोर्चा बनाउनका लागि जसपा नेपालले पनि गृहकार्य गरे पनि मोर्चा घोषणा हुने बेलामा पार्टी त्यहाँबाट अलग भएको थियो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप