बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

मधेस प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै

बिहीबार, २९ साउन २०८२, २० : ११
बिहीबार, २९ साउन २०८२

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार जनकपुरमा नवनिर्मित मधेस प्रदेश प्रहरी कार्यालयको भवन उद्घाटन गर्न आउने भएका छन्।
  • भवन उद्घाटन कार्यक्रममा सहभागी हुन प्रदेशका ८ वटै जिल्लाका प्रहरी कमान्डरहरूलाई जनकपुर आउन निर्देशन दिइएको छ।
  • जनकपुर उपमहानगरपालिका वडा नम्बर ४ मा बनेको नयाँ प्रशासनिक भवन प्रदेश सरकारको सहयोगमा निर्माण भएको हो।

जनकपुर । प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार मधेस प्रदेश आउने भएका छन् । साढे २३ करोडभन्दा बढीको लागतमा नवनिर्मित मधेस प्रदेश प्रहरी कार्यालयको नयाँ प्रशासनिक भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउन लागेका हुन्।

मधेस प्रदेश प्रहरी कार्यालयका अनुसार प्रधानमन्त्री ओली शुक्रबार बिहान साढे ११ बजे आफ्नै हेलिकप्टरमार्फत जनकपुर आइपुग्ने कार्यतालिका छ। प्रहरीको नयाँ भवन उद्घाटनपछि उनी अन्य कार्यक्रमहरूमा पनि सहभागी हुने प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

जनकपुर उपमहानगरपालिका वडा नम्बर ४ मा ४ बिघा १९ कट्ठा क्षेत्रफलमा बनेको यो नयाँ प्रशासनिक भवन प्रदेश सरकारको सहयोगमा निर्माण भएको हो। प्रधानमन्त्रीको आगमनलाई मध्यनजर गर्दै जनकपुरमा सुरक्षा व्यवस्था कडा पारिएको छ। व्यापक संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको जनकपुर प्रहरीले जानकारी दिएको छ।

उद्घाटन कार्यक्रममा सहभागी हुनका लागि प्रदेशका ८ वटै जिल्लाका प्रहरी कमान्डरहरूलाई बिहान साढे ८ बजेसम्म जनकपुर आइपुग्न प्रदेश प्रहरीले निर्देशन दिइएको छ। प्रधानमन्त्री ओली साउन महिनामा मात्रै दोस्रोपटक मधेस प्रदेश भ्रमणमा आउन लागेका हुन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप