ला लिगाको नयाँ सिजन आजबाट, बार्सिलोना र रियल उपाधिका दाबेदार ?
काठमाडौँ । स्पेनिस ला लिगाको नयाँ सिजन शुक्रबार सुरु हुँदैछ । प्रतियोगिताको सुरुवातमा दुई खेल हुँदैछन् । नयाँ सिजन सुरु हुन लाग्दा पहिलो साताको खेलमा दर्शकहरूको ठूला क्लबहरूमा नजर हुनेछ ।
गत सिजनको च्याम्पियन बार्सिलोनाले आइतबार राति मायोर्काविरुद्ध खेल्दै ला लिगा यात्रा सुरु गर्नेछ । बार्सिलोना र मायोर्काबिचको खेल शुक्रबार राति पौने १२ मा सुरु हुनेछ ।
यता बार्सिलोनाको चिरप्रतिद्वन्द्वी रियल मड्रिडले मंगलबार ओसासुनाको सामना गर्दै प्रतियोगिताको सुरुवात गर्नेछ । यो सिजन स्पेनका तीन ठूला क्लबहरू बार्सिलोना, रियल मड्रिड र एट्लेटिको मड्रिडले आफ्ना टिममा धेरै कुरा परिवर्तन गरेका छन् । जसले खेलमा रोचकता ल्याउने अनुमान गरिएको छ ।
बार्सिलोनाको कस्तो छ तयारी ?
साविक विजेता बार्सिलोनाले यो ट्रान्सफर विन्डोमा केही महत्वपूर्ण निर्णय गरेको छ । क्लबले युवा स्टार लामिन यमाललाई सन् २०३० सम्म बार्सिलोनामा नै राख्ने भएको छ । जुलाईमा १८ वर्ष पुगेका यमाल हान्सी फ्लिकको टोलीका मुख्य खेलाडी हुन् ।
बार्सिलोनाले आफ्नो रक्षापंक्तिमा पनि ठूलो फेरबदल गरेको छ । उसले २५ मिलियन युरोमा एस्पान्योलबाट जोन गार्सियालाई अनुबन्ध गरेको छ । त्यस्तै टिममा वोज्सिएक सेचेन्जीको प्रवेश भएको छ । नियमित गोलकिपर मार्क–आन्द्रे टेर स्टेगनले शल्यक्रियापछि क्लब छाड्ने सम्भावना छ ।
बार्सिलोनाले आफ्नो आक्रमण शैली फर्काउन म्यानचेस्टर युनाइटेडबाट मार्कस रासफोर्डलाई लोनमा भित्र्याएको छ । तर सिजन सुरु हुनुअघि क्लबले डिफेन्डर इनिगो मार्टिनेजलाई बिक्री गरेको छ । विश्लेषकहरूका अनुसार उपाधि रक्षा गर्न बार्सिलोनाले गत सिजनको आक्रामक खेललाई जारी राख्दै रक्षा पंक्तिमा पनि सुधार गर्नुपर्ने देखिन्छ ।
नयाँ प्रशिक्षकसहित रियल मड्रिडको पुनरागमन लक्ष्य
रियल मड्रिडले यो सिजन क्लबका लिजेन्ड कार्लो एन्सेलोटीको ठाउँमा पूर्वखेलाडी जाबी अलोन्सोलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ । गत सिजन उपाधिबाट वञ्चित भएको मड्रिड यसपटक बलियो पुनरागमन गर्ने दाउमा छ ।
क्लबले आफ्नो कमजोर डिफेन्स लाइन सुधार्न डीन हुसेन, ट्रेन्ट अलेक्जेन्डर–आर्नोल्ड र अल्भारो कारेरास जस्ता खेलाडीलाई टिममा अनुबन्ध गरेको छ । यद्यपि, टोनी क्रुसको स्थानमा मिडफिल्डमा कुनै नयाँ खेलाडी नल्याउँदा टिमलाई केही असहज भने हुनेछ ।
यो सिजन मड्रिडको मुख्य चुनौती केलियन एम्बाप्पे र भिनिसियस जुनियरलाई सन्तुलन मिलाउँदै टिममा राख्नु हो । साथै, जुड बेलिङ्घम र एडुआर्डो कामाभिङ्गा जस्ता खेलाडीहरूको चोटले सिजनको सुरुवातमै टोलीलाई ठूलो असर पर्न सक्छ ।
एट्लेटिकोको एडभान्स योजना
यसपटकको ट्रान्सफर विन्डोमा सबैभन्दा व्यस्त एट्लेटिको मड्रिड रह्यो । टिमले करिब १७५ मिलियन युरो खर्च गर्दै जियाकोमो रास्पादोरी, एलेक्स बेना र डेभिड हान्कोसहित सात नयाँ खेलाडी भित्र्याएको छ ।
डिएगो सिमोनीको टोलीले नौ पुराना खेलाडीलाई गर्दै टिममा व्यापक परिवर्तन गरेको छ । गत सिजन उपाधि होडमा कमजोर देखिएको एट्लेटिको यसपटक बार्सिलोना र रियल मड्रिडलाई कडा टक्कर दिने योजनामा छ ।
यमाल र एमबाप्पे एल क्लासिकोका बन्न सक्छन् मुख्य नाम
यो सिजन ला लिगामा दुई सुपरस्टारहरू बार्सिलोनाका लामिन यमाल र रियल मड्रिडका एम्बाप्पे दुवैले आ–आफ्नो क्लबको प्रतिष्ठित १० नम्बर जर्सी लगाउनेछन् । यसलाई धेरैले लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोपछिको नयाँ पुस्ताको सबैभन्दा ठूलो प्रतिद्वन्द्वीको सुरुवातको रूपमा हेरेका छन् ।
यमाल आफ्नो ‘युनिक’ खेलका लागि चिनिन्छन् भने एमबाप्पेले गत सिजन ४४ गोल गर्दै रियल मड्रिडमा बलियो पकट रहेको देखाइसकेका छन् । उनीहरूबिचको प्रतिस्पर्धाले ’एल क्लासिको’लाई थप रोमाञ्चक बनाउनेछ ।
कसले जित्ला उपाधि ?
फुटबल पण्डितहरूले यसपटक उपाधि होड निकै प्रतिस्पर्धात्मक हुने अनुमान गरेका छन् । त्यसमा पनि बार्सिलोनालाई उपाधि जित्ने बलियो दाबेदार मानिएको छ । तर बार्सिलोनालाई जाबी अलोन्सोको नेतृत्वमा रहेको रियल मड्रिडले कडा चुनौती दिनेछ ।
विश्लेषक ग्राहम हन्टरले बार्सिलोनाले उपाधि जित्ने बताएका छन् । उनले टिमको पछिल्लो लय र यमालको पछिल्लो प्रदर्शनलाई त्यसको मुख्य आधार मानेका छन् । त्यस्तै अर्का फुटबल विश्लेषक एलेक्स किर्कल्यान्डले पनि बार्सिलोना मुख्य दाबेदार भएको बताएका छन् । रियल मड्रिड पनि बलियो भएर आउने हुँदा लिगको उपाधि निकै प्रतिस्पर्धात्मक हुने उनको अनुमान छ ।
समग्रमा, बार्सिलोनालाई थोरैले अगाडि आँकलन गरिए पनि नयाँ सिजनको उपाधि होड अन्तिम समयसम्मै रोमाञ्चक हुने देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्रपाका केही पदाधिकारीसहित १८३ नेता कार्यकर्ताद्वारा पार्टी परित्यागको घोषणा (सूचीसहित)
-
कुशलको कीर्तिमानी ब्याटिङमा नेपालको विशाल स्कोर
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
-
सर्वोच्चको फैसला कार्यान्वयन गर्न केले रोक्यो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण