१० बजे १० समाचार : कुवेतमा ९ नेपालीको मृत्युदेखि नवप्रवेशीमाथि कांग्रेसको ‘एक्सन’सम्म
काठमाडौँ । आज मिति २०८२ साल साउन महिनाको ३० गते शुक्रबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा १० बजे १० समाचार लिएर हाजिर भएका छौँ–
१. कुवेतमा ९ नेपालीको मृत्यु
खाडी मुलुक कुवेतमा तीन दिनको अवधिमा ९ जना नेपालीको मृत्यु भएको छ । विषाक्त मदिरा सेवनका कारण तीन दिनको अवधिमा ९ जनाको मृत्यु भएको नेपाली दूतावास कुवेतका श्रम सहकारी गिरीप्रसाद आचार्यले शुक्रबार रातोपाटीलाई जानकारी दिए ।
२. कुलिङ प्रकरण
सभामुख देवराज घिमिरेले ‘संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा त्रुटि भएको भन्ने सम्बन्धमा अध्ययन तथा छानबिन गर्न गठित विशेष समिति’को प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित निकायमा लेखी पठाउन निर्देशन देखिएका छन् ।
सभामुख घिमिरेले शुक्रबार संघीय संसद् सचिवालयका सचिवलाई कार्यान्वयनका लागि सम्बन्धित निकायमा लेखी पठाउन निर्देशन दिएको सभामुखका प्रेस विज्ञ शेखर अधिकारीले जानकारी दिए ।
३. वामदेवलाई जिम्मेवारी
नेकपा एकीकृत समाजवादीले नेता वामदेव गौतमलाई पार्टीका केन्द्रीय विभागको संयोजन गर्ने जिम्मा दिएको छ । शुक्रबार बसेको सो पार्टीको सचिवालय बैठकले गौतमलाई विभागको संयोजन गर्ने जिम्मेवारी दिएको उपाध्यक्ष प्रकाश ज्वालाले जानकारी दिए ।
४. अपराध समाचार
भक्तपुर जिल्ला अदालतले गुण्डा नाइके चक्रे मिलनलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। शुक्रबार अदालतले ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दामा उनलाई १ लाख १० हजार धरौटीमा रिहा गर्ने आदेश दिएको हो। धरौटी बुझाए लगत्तै उनी रिहा हुनेछन् ।
राजस्व अनुसन्धान विभागले भन्सारबाट जाँच पास नभएको ८६ हजार ४ सय थान भेपको राजस्व चुहावट गर्ने शिल्क ट्रान्सपोर्टका अध्यक्ष रमेश शेर्पा र विजय शेर्पालाई मुख्य प्रतिवादी बनाउँदै राजस्व न्यायाधीकरणमा मुद्दा दर्ता गरेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा विदेश जान खोज्नेहरूको कागजात शङ्कास्पद भेटिएमा त्यसबारे अनुसन्धान गर्न प्रहरीलाई जिम्मा दिने निर्णय गरिएको छ । विदेश जान खोज्ने व्यक्ति र कागजातबारे अनुसन्धान गर्न प्रहरीलाई जिम्मा लगाइने अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले रातोपाटीलाई बताए ।
सानुभाइ भनिने युवराज गुरुङसहितका चार जना धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिवप्रसाद खनालको इजलासले शुक्रबार उनीहरूलाई धरौटीमा छाड्न आदेश जारी गरेको हो ।
५. नाउपा विवाद
नागरिक उन्मुक्ति पार्टीको विवाद थप बढ्न पुगेको छ । अध्यक्ष रञ्जिता श्रेष्ठले संसदीय दलका नेता गंगाराम चौधरीमाथि कारबाही गरेसँगै विवाद बढ्न पुगेको हो ।
६. नवप्रवेशीमाथि कांग्रेसको एक्सन
नेपाली कांग्रेसले पार्टी प्रवेश गरेका मधेसी नेता देवेन्द्र यादवको पार्टी सदस्यता खारेज गरेको छ । उनलाई बिहीबारमात्रै कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीमा स्वागत गरेका थिए ।
तर उनीमाथि फौजदारी कानुनी कारबाही प्रक्रिया रहेको पाइएपछि पार्टी सदस्यता खारेज गरिएको हो ।
७. बागमती प्रदेश
बागमती प्रदेशका नवनियुक्त ५ मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले शुक्रबार नेपाली कांग्रेसबाट पाँच जनालाई मन्त्री नियुक्त गर्दै आफ्नो नेतृत्वको मन्त्रिपरिषदलाई पूर्णता दिएका हुन् ।
८. उपनिर्वाचन
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता दीपक बोहोराको निधनपछि रिक्त रहेको रुपन्देही क्षेत्र नम्बर ३ को उप–निर्वाचनको मिति नजिकिँदै गर्दा राजनीतिक सरगर्मी ह्वात्तै बढेको छ ।
प्रमुख दलहरूले प्रतिष्ठाको विषय बनाएको यस निर्वाचनमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको नाम जोडिएपछि चुनावी माहौल थप तरङ्गित बनेको हो । मेयर शाहका सल्लाहकारहरूले उम्मेदवारीमा चासो देखाएपछि बालेनको समर्थन कसलाई भन्ने विषयले रुपन्देहीको राजनीतिमा नयाँ बहस सिर्जना गरेको छ ।
९. बैंकहरुको नाफा
आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासको अन्त्यसम्ममा नेपालका वाणिज्य बैंकहरूले आफ्नो खुद नाफामा उल्लेख्य वृद्धि गरेका छन्। प्रकाशित तथ्याङ्क अनुसार, बैंकहरूको समग्र खुद नाफा गत वर्षको तुलनामा ४३.६८ प्रतिशतले बढेर ७१ अर्ब १८ करोड ४४ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा बैंकहरूले ४९ अर्ब ५४ करोड ५४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका थिए।
१०. डेंगुबाट मृत्यु
डेंगु सङ्क्रमणका कारण काठमाडौँमा २४ वर्षीय युवतीको मृत्यु भएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा डेंगु सङ्क्रमित ती युवतीकोको बुधबार मृत्यु भएको अस्पतालले जनाएको छ ।
यो पनि...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
-
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण