२९२ कृति लेख्ने भद्रकुमारी घलेको संसार
सारांश
- ९४ वर्षीया भद्रकुमारी घलेको जीवनी र साहित्यिक यात्राबारे रातोपाटीमा कुराकानी गरिएको छ।
- घलेले विभिन्न विधामा २९२ कृति लेखेकी छन्, जसमा वृद्धाबोध कवितासंग्रह, भजनसंग्रह, र आत्मपरक निबन्ध संग्रहहरू समावेश छन्।
- घलेको राजनीतिक, सामाजिक, साहित्यिक र चित्रकारी यात्रा तथा जीवनका विविध पक्षहरूलाई उजागर गरिएको छ।
‘हत्तेरिका किन लाग्नु नि पछुतो ! बिहे गरेको भए मैले यसरी लेख्न पाउँथे र ? बिहे गरेको भए छोराछोरी, नातिनातिना, पनातिपनातिनी हुन्थे; कामै काम हुन्थ्यो ।’
कुराकानी हुँदै जाँदा नितान्त निजी मामिलामा प्रश्न सोध्न पुगेकामा मलाई कताकता अप्ठेरो पनि लागेको थियो । उनको जवाफमा आएको एउटा पदावलीमाथि म यतिखेर चिन्तन गर्दै छु— ...कामै काम हुन्थ्यो... ।
हो त, बिहे गर्नु, बच्चा जम्माउनु र हुर्काउनु, पारिवारिक जिम्मेवारी उठाउनु आदि कारण महिलालाई अन्य सिर्जनशील कर्म वा घरबाहिरका काममा लाग्न सहज छैन ।
‘स्त्रीको स्थिति र चरित्र’ शीर्षकको निबन्धमा उनले लेखेकी छन्, ‘नारीलाई चरम शोषण गर्ने पुरुषको म स्वास्नी बनिनँ’, (निबन्ध संग्रह ‘आइमाई : हिजो, आज र भोलि’बाट) ।
_RfJbVj5Aj5.jpg)
यस्तै ‘हामी नारीले पनि आफूलाई परिवर्तन गराउन सक्नुपर्यो’ शीर्षकको निबन्धमा लेखेकी छन्, ‘हामी सदा चुस्त–दुरुस्त सतर्क रहेर आफ्नो कर्तव्य निभाउन सक्नुपर्छ । यस प्रकारले समयको मागलाई बुझ्न सकेनौँ भने हामी महिला फेरि जस्ताको त्यस्तै पुरुषको मनोरञ्जनको साधन र छोराछोरी जन्माउने यन्त्र भएर बस्नुपर्नेछ ।’
भद्रकुमारी घलेले लेखेका विभिन्न विधाका पुस्तक–पुस्तिकाको संख्या २९२ पुगेको छ । ‘भद्रकुमारी घले सेवा सदन’ले पछिल्लो समय (२०७९ वैशाख) मा भद्रकुमारीका केही कृति प्रकाशन गरेको छ— वृद्धाबोध कवितासंग्रह, भजनसंग्रह, आत्मपरक निबन्ध संग्रह आदि । ती कृतिको अन्तिम पृष्ठतिर घलेका २९२ कृतिका सूची दिएर विज्ञापन गरिएको छ— यी सम्पूर्ण पुस्तकका लागि सम्पर्क : भीमार्जनु घले स्मृति पुस्तकालय, भद्रकुमारी घले सेवा सदन, देवीनगर काठमाडौँ ।
पाँचपटक राष्ट्रिय पञ्चायत सदस्य, एकपटक सहायकमन्त्री (श्रम तथा समाज कल्याण मन्त्रालय) र राजपरिषद् स्थायी समिति सदस्यको भूमिका निभाएकी घलेको परिचय फराकिलो छ— राजनीतिज्ञ, समाजसेवी, महिला अधिकार अभियन्ता, साहित्यकार, चित्रकार ।
अनुहारको चाउरीलाई उनको हक्की स्वभाव, स्पष्ट बोली, त्यस्तै तेजिला आँखाले छायामा पारेको आभास हुन्थ्यो । उनको अनुहारमा बेग्लै तेज देखिन्छ— उमेर, अनुभव र दृढताको । चाउरीले गुजुक्क परेको अनुहारभरि बेग्लै तेज थियो— उमेर, अनुभव र दृढताको ।
रातोपाटीको पहिलो प्रस्रव स्तम्भका लागि कुराकानी गर्न म मैतीदेवीस्थित भद्रकुमारीको निवासमा पुगेकी थिएँ, जुन निवासको नाम दिइएको छ— ‘भद्रकुमारी घले ऐतिहासिक अवशेष’ ।
फुलेर सेतै भएको कपालमाथि ऊनीको सेतो टोपी; फलाटिनको चौबन्दी चोलो अनि धोतीमाथि रातो घलेक बेरेर टकटक लठ्ठीको आवाजसहित अतिथि कक्षमा छिरेकी थिइन्, ९४ वर्षीया भद्रकुमारी घले (जन्म : १९८८ फागुन १९) ।
उनीअघि नै मेरा लागि सिसाको कपमा चिया आइसकेको थियो । म भने उनको अतिथि कक्षको दराजभरि सजिएका उनकै कृतिहरूमाथि नजर डुलाउँदै थिएँ ।
_Ze0AHNenqb.jpg)
अनुहारको चाउरीलाई उनको हक्की स्वभाव, स्पष्ट बोली, त्यस्तै तेजिला आँखाले छायामा पारेको आभास हुन्थ्यो । उनको अनुहारमा बेग्लै तेज देखिन्छ— उमेर, अनुभव र दृढताको । चाउरीले गुजुक्क परेको अनुहारभरि बेग्लै तेज थियो— उमेर, अनुभव र दृढताको ।
उनको बिहान प्रायः टीभी हेर्नमा बित्छ । भजन सुन्छिन्, आध्यात्मिक चिन्तनका केही कार्यक्रम पनि हेर्छिन् । दिनभरि आफूलाई भेट्न आउनेसँग समय बिताउँछिन् । हरेक राति भने उनी केही न केही लेख्छिन्— कविता, भजन वा निबन्ध । यस हिसाबले वर्षभरिमा कविता, भजन र निबन्धका केही संग्रह तयार हुन्छन् । अघिल्लोपटक उनले एकैपटक १५१ वटा कृति छपाएकी थिइन् ।
५७ वर्षको उमेर (२०४५ सालसम्म) उनलाई पुस्तक प्रकाशनतिर त्यति रुचि थिएन । २०४५ सालमा एकैचोटि उनका सातवटा किताब छापिए । तीनवटा कृति बनारस गएर छापेर ल्याएकी थिइन्, आफ्नै खर्चमा । अरु चारवटा भने ‘बडामुमा महारानी’ (रत्नराज्य लक्ष्मी) को शुभ जन्मोत्सवको उपलक्ष्यमा सरकारी खर्चमा निकालिएको थियो ।
‘अब त कविता, भजन र निबन्धको ग्रन्थै निकाल्ने सोचिरहेकी छु । यस्ता सानातिना किताब निकाल्दिनँ,’ दराजभरि राखिएका आफ्ना मसिना कृतिप्रति औंल्याउँदै उनले भनिन् ।
०००
भद्रकुमारीको जन्म काठमाडौँको मैतीदेवीमा भएको हो । उनका पिता कृष्णबहादुर घले नेपाली सेनामा जागिरे थिए । सानैमा उनलाई हजुरबुबा–हजुरआमासँग बस्न ओखलढुंगा पुर्याइयो । त्यहाँ बस्दाबस्दै उनले पात गाँस्न, ऊन कात्न र मान्द्रो बुन्न जानेकी थिइन् । सात वर्षको उमेरमा उनी मामाघर दोलखा पुगिन् । पहिलो विश्वयुद्ध लडेर आएका उनका बाजे (मावली हजुरबा)ले प्रायः भनिरहन्थे, ‘अंग्रेजका छोरी यस्ता हुन्छन्, उस्ता हुन्छन्’ । त्यहाँ बाजेले मामाहरूलाई पढाउने गर्थे । भद्र कुमारीले पनि मामाहरूसँग बसेर अक्षर चिनिन् ।
पछि बाका माइला भाइसँग उनी गोरखपुर गइन् । त्यहाँ उनले स्कुल भर्ना भएर पढिन् । यसरी उनको औपचारिक शिक्षा सुरु भयो । त्यहाँ उनले ‘विनिता’ भन्ने परीक्षा (म्याट्रिक सरह) उत्तीर्ण गरिन् । यस्तै उनले भारतमै २००९ सालतिर नौ महिनाको जनरल नर्स र १६ महिनाको ‘मिडवाइफ नर्स तालिम’ लिइन् ।
_aOl5XszLx5.jpg)
पछि (२०१७ सालमा) उनले हिन्दी विषयमा काशी विद्यापीठबाट शास्त्री पूरा गरिन् ।
बनारसमा शास्त्री पढ्न जाँदा आमाले उनलाई २० रुपैयाँ खर्च दिएर पठाएकी थिइन् । त्यति पैसाले पढ्न पुग्ने कुरा थिएन । उनले त्यहीँ एक जनाको घरमा लुगा धुने काम गरिन् । यसबापत २१ रुपैयाँ पाउँथिन्, त्यो पैसाले उनको सबै खर्च पूरा हुन्थ्यो ।
आफूले जीवनमा फरर अंग्रेजी बोल्न नसकेमा उनलाई पछुतो रहेछ । राज्यमन्त्री भएर स्विट्जरल्यान्ड जाँदा उनले अंग्रेजी नजान्ने भएकाले दोभासे राखिएको थियो । त्यतिबेला उनलाई निकै ग्लानि महसुस भएको थियो । अंग्रेजी राम्रो नभएकैले शास्त्रीभन्दा माथि नपढेको उनको भनाइ थियो ।
०००
उनी बस्ने चारतले भवनको तेस्रो तलामा पुस्तकालय र संग्रहालय छ । यस पुस्तकालयमा आठ हजार जति किताब भएको उनको अनुमान छ । संग्रहालयमा उनले प्रयोग गरेका भाँडाकुँडा, टीभी समेत राखिएका छन्, जसले घले (गुरुङ) संस्कृति समेत झल्काउँछन् ।
चौथो तलामा उनी आफैँले बनाएका चित्र र उनले पाएका सम्मानपत्र छन् । जसको र्याकभरि उनले अहिलेसम्म पाएका प्रमाणपत्र र सम्मानपत्र लाइन लगाएर सजाइएको छ । त्यहीँ प्राकृतिक रङहरूबाट उनैले कोरेका चित्रकल प्रशस्तै टाँगिएका छन् । यसमा केही भारतीय नेताहरूको पनि चित्र थिए ।
‘नेपाली नेताको चित्र त एउटै रहेनछ नि दिदी ?’ मैले सोधेकी थिएँ ।
‘हात काटिदिन्छन् भनेर नबनाएको नि नानी,’ उनले हाँस्दै सुनाइन् । पञ्चायतकालमा नेपाली नेताको चित्र कोर्न सहज रहेनछ ।
_t90336GEsF.jpg)
यस भवनको चौथो तला भद्रकुमारीलाई सबैभन्दा मन पर्ने स्थान रहेछ । हामीलाई घुमाउनकै लागि भनेर वैशाखीको सहारामा भर्याङका खुड्किला बल्लतल्ल टेक्दै उनी त्यस तलामा पुगेकी थिइन् । त्यहाँबाट बाहिरिन मानिरहेकी थिइनन् ।
त्यो तला अलि गुम्सिएको जस्तो भएकाले अन्य तलामा बसेर कुराकानी गर्न हामीले चाहेका थियौँ ।
‘यहीँ बसेर कुरा गरौँ न हुन्न,’ उनले आग्रह गरिन् ।
केही वर्षअघिसम्म उनी हरेक नारी दिवसका दिन एकल चित्रकला प्रदर्शनी गर्थिन् तर अहिले उमेरले गर्दा हत्तपत्त घरबाट बाहिर निस्किदिनन् । पछिल्लोपटक उनी दुई साताअघि घरबाट बाहिर निस्किएकी रहिछन्, त्यो पनि जेठी दिदीको निधनको खबर सुनेर ।
मैले उनलाई सोधेकी थिएँ, ‘आखिर जीवन के रहेछ दिदी ?’
उनको जवाफ थियो, ‘अहिले सोच्दा जीवन त आफूले जे सोच्यो त्यही हो जस्तो लाग्छ । राम मान्छे नै जन्मेका हुन् तर भगवान् बनेर देखाइदिए । सिद्धार्थ गौतम शान्तिका अग्रदूत भए । मान्छेको जीवन साह्रै अमूल्य छ । आफूले जस्तो चाह्यो, जीवन त्यस्तै हुन्छ । बस् कोसिस गर्न छाड्नु भएन ।’
विशेषतः महिलाले बढी कोसिस गर्नुपर्ने उनको जोड छ । २०६२ सालमा प्रकाशित आफ्नो निबन्ध संग्रह ‘आइमाई हिजो आज भोलि’को कभरमा उनैले कोरेका तीन महिलाका चित्र छापिएका छन् । ‘पहिले आइमाई यस्ता थिए । त्यसपछि यस्ता बनाए हामीलाई । तर म भन्छु, यस्तो हुनुपर्छ,’ उनले किताबको कभरमा भएको तेस्रो तस्बिरलाई औँल्याउँदै भनिन् । उनले औँल्याएको तस्बिरमा महिलाले आफैँमाथि आगो झोँसेर आफूलाई बलवान् बनाएको जस्तो देखिन्छ ।
_OImClVIUdP.jpg)
यो उमेरमा पनि उनले दैनिक ५ घन्टा लेख्नमै बिताउँछिन् । दिउँसो ३–४ बजे सुतिसक्छिन् । अनि हरेक रात १० बजे ब्युँझेर सिरानी छेउमै झोलामा समेटिएर राखिएका कापीहरूबाट एकेक निकाल्दै कविता, भजन, कथा र समसामयिक विषयमा केही पन्ना लेख्छिन् । उनको सिरानको झ्यालमा पुस्तकका चाङ छन् । यी सबै पुस्तक उनकै हुन् । अनि भुँइभरि औषधिका बट्टा अनि खानेकुरा । सहयोगीले थर्मसमा दाल राखिदिएका हुन्छन् । राति भोक लागेपछि दुई गिलास दाल खान्छिन् । यस बिचमा उनी कहिलेकाहीँ सुनेका समाचारका आधारमा समसामयिक विषयमा विश्व परिवेशका घटनाबारे निबन्ध पनि लेख्छिन् ।
२०४५ सालमा ‘नारीको व्यथा कथा’ नामक कथा संग्रहको साथमा उनी नेपाली साहित्य क्षेत्रमा उदाएकी हुन् । त्यसयता न उनी थाकिन् न त उनको कलम नै । यतिका कृति निकालेकी उनले अरु साहित्कारका पुस्तक भने कमै पढेकी छिन् । पारिजातको शिरिषको फूल र झमक कुमारीको ‘जीवन फूल कि काँडा ?’ उनले अहिलेसम्म पढेका दुई मात्र कृति हुन् । ‘मैले न राष्ट्रकविको गौरी पढेकी छु न त लक्ष्मीप्रसाद देवकोटाको मुना मदन,’ यसो भनिरहँदा उनको आँखामा नपढेको पछुतो देखिन्थ्यो ।
उनको बोध र आत्मसमीक्षा भन्छ, ‘अरु साहित्यकारको पनि किताब पढ्ने मान्छेले पो राम्रा वाक्य, राम्रा शब्द, राम्रो ढंग, राम्रो तरिकाले लेख्न सिक्न सक्छ । मैले त लेखी मात्रै रहेँ । अहिलेका मेरा कविताहरू पढ्यौ भने छक्क पछ्र्यौ, खाली बुढेसकालका कुरा मात्रै छन् ।’
उनको लेखन हेर्ने हो भने अध्ययन र अनुभव हाराहारी आएजस्तो जस्तो लाग्छ । विशेषतः उनका निबन्धमा धर्मशास्त्र, इतिहास, दर्शन र महिला अधिकारका चर्चा बढी पाइन्छन् । ‘नारी के हो ? अरुले के भन्छन् ?’ शीर्षकको निबन्धमा उनले लेखेकी छन्, ‘श्री अगस्त फ्रिडरिक बेबेलद्वारा लिखित ‘अतीत वर्तमान र भविष्यमा महिला’ भन्ने किताब पढेपछि मलाई अवगत भयो कि महिलालाई दलित बनाउने, महिलाको शोषण गर्ने, आमाबाट महिलालाई पोचारो पारी झुत्र्याउने पुरुषहरू मध्य कलियुमा आएर अब महिला वर्गको सक्षमता सम्बन्धमा सोचिरहेका छन् ।’
- साहित्य कर्ममा
पद्मकन्या डिल्लीबजारमा कक्षा ३ मा पढ्दै गर्दा भद्रकुमारीले छात्रवृत्तिमा ‘विनिता’ पढ्ने मौका पाएकी थिइन् । उनीसहित करिब डेढ दर्जनजति नेपाली विद्यार्थीलाई तुलसी मेहरले भारत लिएर गए । गान्धी आश्रममा पहिलोपटक छिर्दा किताबको थुप्रो देखेरै भद्रकुमारी अक्क न बक्क भएकी थिइन् । ती किताब देख्दा ‘यति धेरै किताब पो पढ्नुपर्ने !’ भन्ने सोचेर उनी विस्मित भएकी थिइन् ।
चाडपर्वका बेला भारतका अन्य राज्यबाट आएकाहरूले आफ्नो गाउँठाउँको प्रस्तुति दिन्थे । नेपाली समूहले पनि यस्तै प्रस्तुति दिनुपर्ने भयो । १६/१७ वर्षकी भद्रकुमारी नेपाली समूहमा सबैभन्दा ठुली देखिन्थिन् ।
प्रस्तुति दिनका लागि अरु साथीहरूले केही लेखिरहेका थिए । उनले भने के गर्ने कसो गर्ने भन्ने भेउ पाएकी थिइनन् ।
_scqFPRtnh5.jpg)
अन्ततः उनले पनि गीत लेखिन्—
कान्छी नानी भन लौ मादल बज्यो कहाँ ?
कान्छा दाइ त्यही आफ्नै देशमा... ।
यही नै भद्रकुमारीको पहिलो रचना थियो । यसलाई गीतको रूपमा गाएर समूहमा नाच प्रदर्शन गरिन् । पछि त्यो गीत अभिनयसहित नाटकमै प्रस्तुत भयो । सबैले मन पराए ।
भारत बस्दै गर्दा उनले अन्य कैयौँ गीत पनि लेखिन् । ‘त्यसरी लेखेका गीतलाई संग्रह गरेर राखिएन नानी । किताब बनाउनुपर्छ भन्ने हेक्कै भएन,’ उनी भन्छिन्, ‘थुप्रै लेखेकी थिएँ नि !’
उनी अर्को गीत सुनाउँछिन्—
नेपाली नारी हामी हौँ वीर वीर वीर,
वीराङ्गना बन्नेछौँ धीर धीर धीर ।
होइन कुनै थाङ्गनाको पुतली हामी,
रङ्गविरङ्गी फुलेको फूल होइनौँ हामी ।।
अन्यायलाई सही सही बन्यौँ फलाम,
अब हातमा लिनुपर्छ समाजको लगाम ।
लड्न परे लड्नेछौँ
मर्न परे मर्नेछौँ
बलिदान यो दिनेछौँ... ।
गान्धी आश्रममा बस्दै गर्दा भद्रकुमारीले लुगा बुन्ने, धागो काट्ने लगायत कैयौँ काम सिकिन् तर नेपालमा आएपछि जागिर पाउन मुस्किल भयो । त्यसपछि उनले तीन वर्षे नर्सको तालिम लिइन् र जनकपुर गइन् । ‘त्यहाँ मैले नर्सको जागिर मात्रै गरिनँ । बडाहाकिम रङ्गनाथजीलाई भन्न लगाएर त्यहाँ स्कुल खुलाएँ,’ उनी भन्छिन् ।
स्कुल खोले पनि विद्यार्थी र शिक्षक पाउनै मुस्किल भयो । पहिला त शिक्षक खोज्न उनी आफैँ बनारससम्म पुगिन् । शिक्षकको व्यवस्था गरेपछि विद्यार्थी भएनन् । अनि उनी विद्यार्थी खोज्न बस्तीबस्ती डुलिन् र विद्यालयको कक्षा कोठा विद्यार्थीले भरिदिइन् ।
_PJ3PX6aLCk.jpg)
यो समाजसेवाको लत उनलाई जवानीदेखि नै लागेको हो । जनकपुरमा नर्स हुँदा नै तत्कालीन अञ्चलाधीश दिलबहादुर श्रेष्ठले उनलाई महिला संगठन जनकपुरको अञ्चल सभापति बनाइदिएका थिए ।
८६ वर्षको उमेरमा पनि उनले समाज सेवा गर्न छाडेकी छैनन् । उनले विभिन्न प्रकारका पुरस्कार कोष स्थापना गरेकी छिन् । अरु केही संघ–संस्थामा पुरस्कारका लागि अक्षयकोष स्थापना गर्न सहयोग गरेकी छन् । उनी दान दिइरहन्छिन् । चावहिलमा पशुपति क्याम्पस रहेको जग्गा समेत आफूले दान दिएको उनले बताइन् ।
पहिले अनामनगर धोबीखोला किनारमा ‘भद्रकुमारी घले सेवा सदन’ थियो । त्यहाँबाट उनले मासिक चार लाख भाडा उठाउँथिन् र समाजसेवामा खर्चन्थिन् । सार्वजनिक जग्गा मिचेको भन्दै २०८० मा महानगर प्रहरीले त्यहाँको संरचना भत्कायो ।
‘जाँदा मैले लाने थिइन्, राज्यलाई नै दिने सोच थियो सारा सम्पत्ति तर के गर्नु ! त्यसरी दिनुपर्यो । यस्तै रहेछ दुनियाँ !’ उनी दुखेसो व्यक्त गर्छिन् ।
भद्रकुमारीलाई सबैभन्दा दुःख आफ्नो भाइ गुमाएकामा छ । लक्ष्मी पूजाको दिन उनको एक मात्र भाइको निधन भएको थियो, १८ वर्षको उमेरमा । ‘उसको बिहे भएको नौ महिनामा मात्रै भएको थियो । २२ वटा खसी काटेर मेरो आमाले यही काठमाडौँमा बिहे गरिदिएकी थिइन् ।’ यसो भनिरहँदा उनका गहँभरि आँसु थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयोजना निर्माणमा प्रक्रियागत झन्झट अन्त्य गर्ने नयाँ रणनीतिः १० वर्षका लागि ‘सनसेट कानुन’ ल्याइँदै
-
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण